२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं १७ मंसिर ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र क्यानका पूर्व निर्देशक मुरारी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा आज (बुधबार) पक्राउ गरेको छ ।

अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, केही कम्पनीका प्रतिनिधिलाई मुद्दा लगाइएको छ । उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।

भक्तपुरको नलिञ्चोक हेलिप्याड विस्तारमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूलाई अख्तियारले आज नै पक्राउ गरेको हो । पक्राउपछि उनीहरूलाई म्याद थपका लागि विशेष अदालत काठमाडौंमा लगिएको थियाे ।

१२ करोड खर्चेर बनाइएको भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा उडान जोखिम कारण देखाउँदै पाइटहरूले केही दिनमै हेलिकप्टर उडाउन मानेका थिएनन् । ३३ रोपनी क्षेत्रफलमा बनाइएको हेलिपोर्टमा विद्युत तार, रुख र वरिपरिका घरले अवतरण र उडान दुवैमा जोखिम रहेको भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका थिए ।

नेपालमा केही नहुने हैन हुन्छ ः महासंघ अध्यक्ष ढकाल
पोखरा, १७ मंसिर ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताए । नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै उनले त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब पूँजीको लगानी कम्पनी बनाएको बताए ।

‘हाम्रै पूँजीबाट ठूलो लगानी गर्न सकिन्छ । महासंघले बनाएको कोषबाट कुनै व्यवसायीले सुरु गरेको व्यवसायमा थप लगानी गर्न पनि मिल्छ, नयाँ उद्यमीहरुलाई लगानी जुटाइदिने काम पनि हुन्छ,’उनले भने,‘ नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडिपी) बनाइएको जानकारी दिए । एनडिपीकै माध्यमबाट धेरै व्यवसायी समेटेर नेपालकै पूँजी परिचालन गरी ५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ ।’

उनले स्थानीय कच्चा पदार्थको प्रयोग, स्थानीय उत्पादनलाई बढावा दिँदामात्र अर्थतन्त्र उकासिने पनि बताए । जेन–जी आन्दोलनको क्रममा व्यवसायीमाथि भएको आक्रमणको निन्दा गर्दै उनले त्यसमा संलग्नहरुलाई कारवाहीको लागि महासंघले प्रधान र गृहमन्त्रीसँग विशेष पहल गरेको दाबी पनि गरे । महासंघले निजी क्षेत्रलाई सुरक्षा प्रबन्ध गर्नका निम्ति जिल्ला–जिल्लामा रहेको सुरक्षा समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भागबण्डाको संस्कारले देश नबन्ने जिकिर गर्दै आगामी निर्वाचनमार्फत् एउटा दलले बहुमत ल्याइदिए हुने आशय व्यक्त गरे । चुनावका निम्ति सम्पूर्ण दलहरु तयार हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्रले पनि दबाब दिनुपर्ने उनको भनाइ थियो ।

देशमा चुनाव नहुँदा अस्थिरता अझै बढ्ने तर्क गर्दै उनले भने,‘चुनाव भएन भने फेरि देश कसले सम्हाल्ने, फेरि सेना गुहार्नुपर्ने हो, त्यसैले जनताको मत लिइ सरकार बनाउने दिशातर्फ दलहरुले तयारी थाल्नुपर्छ ।’ उनले चुनावपछिमात्र कर्मचारी संयन्त्र, संविधान बदल्नेबारे छलफल चलाउन पनि दलहरुसँग आग्रह गरे ।

‘यही संरचना र आर्थिक प्रणालीले देश बन्दैन, धनी झन धनी र गरीब झन गरीब हुने अवस्था आउँछ । यसमा सुधार हुनैपर्छ । कर्मचारी प्रशासनमा पनि सुधार जरुरी छ,’उनले भने,‘हामी कतिञ्जेलसम्म अनियमितता र अव्यवस्थाको भूमरीमा पर्ने हो भन्नेबारे सोचौँ र यसबाट बाहिर निस्कने माध्यम चुनाव भएको बुझौँ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलबारे प्राविधिक छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुसार काम गर्नुपर्ने पनि बताए । विमानस्थलको धावनमार्ग कम भएको भए बढाउन, होँचो ठाउँमा बनेको भए त्यसलाई सुधार गर्नका निम्ति पोखरेलीहरुले दवाब दिनुपर्ने उनको धारणा थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग स्थापना र रोजगारी सिर्जनाका निम्ति निजी क्षेत्रले पहल गरिरहेको तर निजी क्षेत्रसँग कुममा कुम मिलाएर राजनीतिक दलहरु हिँड्न नसक्दा देशमा जेन–जी आन्दोलन भएको बताए । उनले निजी क्षेत्रमाथि आक्रमण भए पनि निजी क्षेत्रले हिम्मत नहारेको बताए ।

‘हामीले बैंकबाट ऋण लिएका छौँ, लगानी गरिसकेका छौँ र हामी हतोत्साही हुन मिल्दैन,’उनले भने । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भयरहीत वातावरणमा स्वच्छ तवरले तोकिएकै समयमा संघीय संसदको निर्वाचन निजी क्षेत्रको चाहना भएको बताए । निर्वाचन होस् भन्ने निजी क्षेत्रको चाहना हो । चुनावी वातावरण निर्माणको लागि निजी क्षेत्र सरकारको साथमै छ ।

‘हामी जनताको मतमार्फत् आफूलाई प्रमाणित गर्ने सुनौलो अवसरको उपयोग गर्न राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछौँ । तर, चुनावकै नाममा देशको अर्थतन्त्र खल्बल्याउने, निजी क्षेत्रलाई यो वा त्यो बहानामा दुःख दिने काम नहोस् भन्नेमा पनि सरकारको ध्यान पुगोस् भन्ने हाम्रो माग रहेको छ,’उनले भने,‘ खुलेर भन्दा–चुनाव वा आन्दोलनको नाममा निजी क्षेत्रमाथि चन्दा आतंक नथोपरियोस् ।

उनले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणको निन्दा गर्दै आपराधिक गतिविधिलाई यो वा त्यो बहानामा छुट दिन नमिल्ने र त्यस्ता व्यक्तिमाथि कानूनी कारवाही हुनुपर्ने बताए ।

‘जेन–जी कै भावनासँग नजिक रहेको नेपालको निजी क्षेत्रमाथि भदौ २४ गते एकाएक हमला भयो । छानी–छानी, ताकी–ताकी सयौँलाई रोजगारी दिने, देशको अर्थतन्त्रलाई राजश्वमार्फत् योगदान दिने र देशमै बसेर केही गरौँ भन्नेहरुको सम्पत्ति जलाइयो, लुटपाट गरियो । त्यो दिन उद्योगी÷व्यवसायीहरुले ज्यान जोगाउनै मुस्किल प¥यो । जेन–जीको नाममा भएको भदौ २४ को त्यो आपराधिक घटनाले हामी त पीडित भयौँ–भयौँ ।व्यापार÷व्यवसायमै होमिन आँटेका हाम्रा छोरा पुस्ताहरुले पनि अब यहाँ बस्दैनौँ, विदेश जान्छु भन्न थालिसके,’उनले भने,‘

हामी त्यो घटनालाई बिर्सन चाहन्छौँ । हाम्रा छोरा–नातिलाई यही देशमा केही गर्नुपर्छ भनेर थम्थम्याउँछौँ । तर, एउटा सर्त छ– त्यस आपराधिक घटनामा संलग्नमाथि कारवाही हुनैपर्छ । शान्ति–सुव्यवस्था कायम हुनैपर्छ र यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माण हुनुपर्छ । मुख्य कुरा–व्यापार व्यवसाय गर्र्नु,रोजगारी सिर्जना गर्नु र थोरबहुत पैसा कमाउनु भनेको अपराध हो भन्ने भाष्यलाई निस्तेज पार्नुपर्छ ।’

 

उनले उत्पादनमा लाग्नसक्ने युवा जनशक्ति धेरै हुनु भनेको राष्ट्रको लागि ठूलो अवसर भएको र नेपाल जनसांख्यिक दृष्टिले अहिले त्यही अवसर प्राप्त मुलुकमा परे पनि त्यसको उपयोगबारे नसोच्दा नै जेन–जी विद्रोह भएको जिकिर पनि गरे ।

‘वर्षेनी श्रम बजारमा निस्कने ५ लाख युवालाई कसरी यहीँ टिकाउने भन्नेतर्फ राज्यको ध्यान जानै सकेन । विदेशमा गएर पठाइदिएको रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने अभियान असाध्यै सुस्त देखियो । सुशासनको मामिलामा राज्य चुक्यो,’उनले भने,‘ झन्झटिलो प्रशासनिक संरचना र प्रोत्साहनको अभावमा देशमै केही गर्छु भन्नेहरुको पनि मन भाँच्चियो । विद्रोह स्वभाविक थियो । गएको भदौ २३ गते नवयुवाहरु सडकमा उत्रिए ।’

उनले उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्नका निम्ति थप लगानी गर्न निजी क्षेत्र तयार भएको तर त्यसका निम्ति सुशासन र स्थायित्व आवश्यक रहेको औंल्याए ।

सरकारले उद्योग÷व्यवसाय दर्तादेखि खारेजीसम्ममा सरलीकरण,लगानीका क्षेत्र पहिचान, यसअघि नै भनिएको विशेष आर्थिक क्षेत्र निर्माण र त्यहाँ उद्योग खोल्दा छुट सुविधा प्रदान,उच्च मूल्य प्राप्त हुने तथा निकासीका सम्भावना रहेका कृषि उत्पादनमा अनुदान, अनुसन्धानसँगै स्टार्टअपका कार्यक्रममा ध्यान दिए कर्जा लिएर चुनौती मोल्न नयाँ पुस्ता तयार हुने पनि बताए ।

कोरोला नाकाको संचालन, कोरोला–त्रिवेणी र सिद्धार्थ राजमार्गको स्तरोन्नति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि पनि उनले आवाज उठाए । गण्डकी सरकारको घरेलु रक्सी र गाँजा खेतीलाई वैधानिकता दिने निर्णयको उनले स्वागत गरे ।

‘गाँजा खेती नियमन गर्न बनेको ऐनलाई केही खुकुलो बनाउँदै औषधिजन्य व्यावासायिक उत्पादनमा निजी क्षेत्रलाई आकर्षित गर्न सके यसले गण्डकीको आर्थिक समृद्धिमा ठूलो योगदान दिन्छ भन्ने हाम्रो विश्वास रहेको छ,’उनले भने ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले राजनीतिक दलहरुको आर्थिक समृद्धि र रोजगारी सिर्जनालाई मूलमन्त्र बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजी क्षेत्रलाई सुरक्षा दिन कास्की प्रशासन तयार रहेको बताइन् । नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविलले पोखराले स्वास्थ्य पर्यटनबाट ठूलो लाभ लिनसक्ने बताउँदै पूर्वाधार र सेवामा मणिपालले ठूलो लगानी गरेको बताए । पोखरालई गुणस्तरीय स्वास्थ्यको सहर बनाउने अभियानस्वरुप नै मणिपाल अगाडि बढेको उनको भनाइ छ ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद तथा महासचिव शोभा गौतमको स्वागत रहेको कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका राजन शाक्यले उद्यमशीलताले नै मान्छेलाई सफल बनाउने भएकाले कामलाई सानो–ठूलो नभन्न आग्रह गरे ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले नयाँ युगमा नयाँ प्रविधिको प्रयोगबाट व्यावसायिक सफलता मिल्ने भएकाले नयाँ प्रविधिलाई उपयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले मेला र महोत्सवहरु अर्थतन्त्र चलायमान बनाउन फलदायी भएको धारणा राख्दै निजी क्षेत्रले सामाजिक उत्तरदायित्ववोध पनि गर्नुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेशको संरक्षकत्व, गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विभिन्न व्यावसायिक प्रतिष्ठानको सहयोगमा मेला आयोजना गरेको हो । मेलामा सूचना प्रविधिदेखि घरायसी सरसामान, लत्ताकपडालगायतका १६० वटाभन्दा बढी स्टल रहेका छन् । मेलाका प्रचार–प्रसार उपसमिति संयोजक मनोहरि पौडेलका अनुसार बिहीबारबाट मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि राखिएको छ भने प्रवेश निशुल्क गरिएको छ ।

 

‘निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन
पोखरा, १७ मंसिर ।

पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने पुरस्कारका लागि बुधबार प्रतिभा छनोट समिति गठन गरिएको हो ।

फोनिज गण्डकीको बैठकले फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीसमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् ।

निट डेण्टलको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उक्त पुरस्कार मंगलबार घोषणासँगै पुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरिएको थियो ।

निट डेण्टलको तेस्रो वार्षिकोत्सव मंसिर २६ गते भएकाले पुरस्कार स्थापनासँगै प्रतिभा छनोट समिति गठन गरिएको फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए ।

यो पुरस्कार फोनिजमा मात्र सिमित नभएर अन्य समुदायका पत्रकारले पनि प्राप्त गर्न सक्ने उपाध्यक्ष गुरुङले बताए । ‘नेपालभित्र जुनसुकै जिल्लामा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले यो पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भने, ‘डेण्टलको वार्षिकोत्सवको दिन हरेक वर्षको मंसिर २६ गते एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिनेछ ।’

 

 

पोखरा, १७ मंसिर ।

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–१ राउण्ड अफ–१६ अन्तर्गतका खेलहरु उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्स÷डबल्स तथा गर्ल्स सिंगल्स÷डबल्सतर्फ राउण्ड अफ १६ का खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगिताको ब्वाइज सिंगल्सतर्फ भारतका फÞजÞल अली मीर र नेपालका आयुष्मान हजुर घलेको खेल रोचक रह्यो । तेस्रो सेटमा रिटायर्ड हुदा खेल छोड्न बाध्य भए । पहिलो र दोस्रो सेट १–१ ले आफ्नो पक्षमा परोका थिए । भारतीय खेलाडी फजल ६–७(१), ६–०, १–० खेल जित्दै क्वार्टरफाइनल स्थान सुरक्षित गरे ।

त्यस्तै दक्षिण कोरियाका युल हो जुंगले भारतका निकुंज खुरानालाई ६–१, ६–० ले सहज रूपमा हराउँदै अन्तिम आठमा प्रवेश गर्दा भारतका हर्ष मारवाहाले चीनका यांशुओ पानलाई १–६, ६–४, ६–२ ले हराउँदै उत्क्रमण पूरा गर्दै क्वार्टरफाइनल ठाउँ बनाएका छन् । नेपालका प्रणव मानन्धरले भारतका शशांक साई प्रसाद कर्नाटीलाई ६–०, २–६, ६–० ले पराजित गर्दै अन्तिम आठमा पुगे भने श्रीलंकाका गनुका फर्नान्डोले नेपालका दर्शिल श्रेष्ठलाई ६–०, ६–२ ले हराउँदै क्वार्टरफाइनल यात्रा जारी राखेका छन् । भारतका प्रतीक श्योरनले सिंगापुरका रोबर्ट दोल्यालाई ७–६(३), ५–७, ७–६(७) को कडा खेलमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका छन् ।

गल्र्स यू–१८ सिङ्गल्सको राउण्ड अफ–१६मा भारतकी शताक्षिका सहायक शीर्ष सिडेड प्राप्त नेपालकी सुनिरा थापालाई ७–६(५), ६–४ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा अघि बढाएकी छन् । ताइपेकी के–चिएह ह्सुले भारतकी जान्हवी तम्मिनीडीलाई ६–४, ६–१ ले हराइन् भने भारतकी अनन्या जैनले सहदेशी ईशा शर्मालाई ६–१, ६–० ले सहजै पराजित गरिन् । क्यानाडाकी नोरा चौधरीले भारतकी ध्रुती गुन्डूलाई ६–३, ६–० ले हराउँदै अन्तिम आठमा स्थान बनाइन् ।

त्यसैगरी भारतकी रञ्जना संग्रामले पाँचौँ वरीयता प्राप्त सहदेशी सौम्या चटर्जीलाई ६–०, ६–१ ले पराजित गरिन् भने नेपालकी शिवाली गुरुङले भारतकी मेहा पाटिललाई ६–०, ६–० ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरिन् । भारतकी तेजस्वी मानेनीले आठौँ वरीयता प्राप्त अमेरिकाकी नाला जोसेफिन मास्कीलाई ६–२, ६–३ ले हराइन्, जबकि भारतकी कार्तिका पद्माकुमारले चिनियाँ खेलाडी युनर चीलाई ६–०, ६–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्न सफल भए ।

यसै गरी ब्वाइज डबल्स यू–१८ को क्वार्टरफाइनलमा दक्षिण कोरियाका ह्योजिन हा र युल हो जुंगको जोडीले बंगलादेशका खब्बो गाएन र दोस्रो वरीयता प्राप्त चिनियाँ खेलाडी जियालियाङ गुोको जोडीलाई ७–६(५), ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् भने गल्र्स डबल्स यू–१८ को क्वार्टरफाइनलमा भारतकी शताक्षिका सहायक र न्यूजिल्यान्डकी बोइदेही उकिलको जोडीले चिनियाँ युनर ची र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–०, ६–३ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।

पोखरा, १७ मंसिर ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय बुधबार पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा अभियान संचालन गरिएको छ ।

२४ वटा विद्यालय तथा कलेजसम्म संचालन गर्ने गरी अभियानलाई तिव्र पारिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको सभापति सिग्देलको भनाइ छ ।

कार्यक्रममा बोल्दै कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरले क्याम्पसमा अभियान ल्याइएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।