
पोखरा, २६ मंसिर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।
पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।
पुरस्कृत व्यक्तित्व कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्युज डटकमका सम्पादक छन् । स्याङ्जा पुतलीबजारका कोइरालाले विसं २०५९ देखि काठमाडौंमा रहेर अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गरेका थिए । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले विसं २०६५ देखि पोखरालाई कर्मथलो बनाएर सक्रिय छन् । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा अध्यापन समेत गराउँछन् ।
उनी संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् भने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भएर पनि काम गरेका थिए । यसअघि उनले पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।
पुरस्कार ग्रहणपछि पत्रकार कोइरालाले निजी क्षेत्र सबल भए मात्र यस क्षेत्रले लोकतन्त्रको पहरेदार मानिने पत्रकारिताको महत्व बुझ्ने बताए । त्यसपछि पत्रकारिता क्षेत्रको सबलीकरण हुने उनको भनाइ थियो । ‘एक सबल र नैतिकवान् निजी क्षेत्रविना व्यावसायिक पत्रकारिताको आर्थिक मेरुदण्ड बलियो हुन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रको लगानीकै कारण रोजगारी सिर्जना भएको र सरकारको आम्दानी बढेको सकारात्मक पक्षलाई नजर अन्दाज गरिएको छ । जतिसुकै आदर्शका कुरा गरे पनि यो समय पुँजीवादी अर्थ व्यवस्थाकै समय हो ।’ निट डेण्टलले फोनिज गण्डकीसँग सहकार्य गरेर यो पुरस्कार स्थापना गर्नुलाई मैले निजी क्षेत्रको विवेकपूर्ण र सकारात्मक कदमका रूपमा लिएको उनले सुनाए ।
कार्यक्रममा उनले पत्रकारिता अहिले संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा बताए । ‘विज्ञापन बजार खुम्चिएको छ। धेरै मिडिया हाउसहरू बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा छन्’ उनले भने, ‘गण्डकीमा पनि अनलाइनहरूको संख्या बढेको छ, तर गुणस्तरीय र दिगो सामग्री पस्किने चुनौती यथावत छ ।’ यस्तो अवस्थामा पोखरामा रहेर पत्रकारिता गर्दा काठमाडौंका राष्ट्रिय मुद्दाको नक्कल गर्नुभन्दा पोखराका स्थानीय ’इश्यु’ लाई प्रधानता दिनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रमका मेयर आचार्यले आदिवासी जनजाति पत्रकार (फोनिज) ले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरी फोनिजले समावेशीताको सन्देश दिएको बताए । जताततै खत्तम देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारलाई सम्मान गरिएको उनले खुसी व्यक्त गरे । पत्रकारलाई हौसला प्रदान गर्न पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने निट डेण्टलले पनि उल्लेखनीय काम गरेका उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले फोनिजले स्थापना गरेको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारमा प्राप्त गर्नुले सकारात्मक सन्देश दिएको बताए । पौडेलले भने, ‘पोखरामा वेलनेस टुरिजम विकास हुँदै गएको छ, विश्वमै महँगो मानिने दाँत उपचारमा निटले गण्डकीकै आफूलाई स्थापित गर्न सकोस् ।’
निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले आफू खास धनाढ्य भएर नभई केही नयाँ गरौं भन्ने सोचले पुरस्कार स्थापना गरेको प्रस्ट पारे । रानाले पत्रकारको हितमा अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘यसबापत पत्रकारिता क्षेत्रबाट आफूले त्यस्तो लाभ लिने सोच छैन ।’
प्रतिभा छनोटका लागि फोनिजका संघीय सचिव एमबि आस्थामगरको संयोजकत्वमा समिति गठन गरिएको थियो । समिति सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर थिए । संयोजक आस्थामगरले पुरस्कार वितरणको मापदण्ड र छनोट प्रक्रिया र पुरस्कृत पत्रकारबा बारेमा प्रकाश पारेका थिए ।
फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष धनबहादुर गुरुङ र सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए । पोखरामा महेन्द्रपुल सञ्चालित नट डेन्टलले वार्षिकोत्सवका अवसरमा कम्पनीमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान पनि गरेको थियो ।
पोखरा, २६ मंसिर ।
युनाईटेड क्लब पोखराले भदौ २४ गतेको जेन्जी आन्दोलनमा आगलागीबाट क्षती भएको राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखरालाई कम्प्युटर हस्तान्तरण गरेको छ । क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत आगलागीबाट पूर्ण रुपमा क्षती भएका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने क्रममा राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी प्रदेश पोखराको दैनिक कामकाजलाई सहज होस भन्ने उद्देश्यले एक थान कम्प्युटर प्रदान गरेको हो ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्य बुद्ध कार्की लगायतको टोलीले राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका प्रमुख अनुसन्धान निर्देशक प्रजेश सिंह हमाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन । सो अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका प्रमुख मोहन बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा वोल्दै राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखराका अनुसन्धान निर्देशक प्रजेश सिंह हमालले जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगलागी र तोडफोडबाट आफ्नो कार्यालय पूर्ण रुपमा क्षती भइ कामकारबाहीमा अफ्ठ्यारो परिरहेको बेला युनाईटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कार्यालयलाई अतिनै आवश्यक रहेको कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । साथै आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको पूर्ण सफलताको कामना गर्दै आफ्नो कार्यालयको तर्फबाट समेत महोत्सवलाई सभ्य बनाउनका लागि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै पोखरामा खुल्ला चिडियाखना निर्माणमा पहलदकमी, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र तिहारको बेलामा देउसी भैलो कार्यक्रमको आयोजना गरि संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकीलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेको बताए ।
विपद ब्यवस्थापन कोष अन्तर्गत यसपटक जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं १२, १० र १५ लाई समेत कम्प्युटर हस्तान्तरण गरिएको उनले बताए । युनाईटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
पोखरा, २६ मंसिर ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् । साथै उनले शुक्रबार भएको गल्र्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी छन् ।
जारी प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलंका) लाई ६–३ ६–० ले सहज जित हात पार्दै टिङ हो याङसँग फाइनल भिडन्त पक्का गरेका छन् ।
त्यस्तै नेपालकी शिभाली गुरुङले भारतकी कर्थिका पद्मकुमारलाई संघर्षपूर्ण खेलमा ६–३ ५–७ ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी छन् । उनले जारी प्रतियोगिताको सर्किट १ मा समेत उपाधि जितेकी थिइन् । उनले फाइनलमा सर्किट १ कै उपविजेता रहेकी ताइपेकी के–चि सुसँग भेट पक्का गरेकी छन् । के–ची सुले सेमीफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१ ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन् ।
यता ब्वाइज डबल्स फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि जिते भने नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारे ।
सिंगल्सतर्फका फाइनल खेलहरु भोली (शनिबार) हुने कास्की टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिएका छन् ।
दुई साता सम्म लागतार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो । आठौं सस्करणको उक्त प्रतियोगिता सम्पन्न गर्न १८ लाख ७० हजार खर्च हुने अनुमान कास्की टेनिसले गरेको छ ।
पोखरा, २६ मंसिर ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पैदल यात्रीलाई लक्षित गरी पैदल यात्री सुरक्षार्थ एसएलसी (स्टप, लुक, क्रस) कार्यक्रम शुरु गरेको छ ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको सहकार्यमा पैदल यात्रीले बाटो पार गर्दा कसरी सुरक्षित तरिकाले पार गर्ने विषयमा पोखराको बाग्लुङ वसपार्कमा कार्यक्रम आयोजन गरिएको थियो ।
विशेष गरी पोखराको जिरो किमि देखि हेमजा सम्मको बाटोमा पैदल यात्रीले बाटो क्रस गर्द बढि दुर्घटना हुने गरेको कारण यस क्षेत्रलाई लक्षित गरेर यो कार्यक्रम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
उनका अनुसार कास्कीमा हुने दुर्घटनाका कारण मृत्यु हुनेको संख्या मध्ये ४० प्रतिशत पैदल यात्रीको रहेको र त्यो मध्ये पनि जिरो देखि हेमजा सम्म ५० प्रतिशत पैदल यात्रीको मृत्यु भएकोले पनि यस क्षेत्रमा पैदल यात्री सुरक्षार्थ एसएलसी कार्यक्रम आयोजना गरिएको हो ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीले समग्र दुर्घटनाका बारेमा वुझ्दा धैरै जसो दुर्घटनाका कराण पैदल यात्रीको मृत्यु भएकोले तथ्याड्ढ पाइयो’ उनले भने ‘यो अभियानले पैदल यात्रीलाई सुरक्षित तरिकारले बाटो क्रस गर्न सिकाइयो भने क्षती न्यूनिकरण हुन्छ भन्ने मान्यताले यो अभियान चलाएका हौं ।’ उनले यो अभियानलाई सवैको साथ सहयोग लिएर निरन्तरता दिने बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय कास्की, वडा प्रहरी कार्यालय बगर, जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्र बगर, विन्ध्यवासिनी मावि बरपाटन र सगरमाथमा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
उनीहरुले बाटो क्रस गर्दा मोबाईल फोन प्रयोग नगरौं, हतारमा सडक पार नगरौं, फुटपाथ नभएको स्थानमा सडको दाहिने किनारबाट पैदल यात्र गरौं, बाल बच्चालाई सडकमा एक्लै नछाडौं, सडक पार गर्दा दाँया बाँया टाढा सम्म सवारी साधन हेर्ने गरौं लगायतका प्ले कार्ड बोकेर सडक पार गर्न सिकाएका थिए । यस अघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको सहकार्यमा हेमजाको मिलनचोकमा यस्तै खालको अभियान सञ्चालन गरेको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाल सचिव कृष्ण बहादुर तामाङले गरेका थिए ।
पोखरा, २६ मंसिर ।
पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेकी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता जारी रहेको छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी उक्त प्रतियोगिताको दोश्रो दिन पहिलो खेलमा जनप्रकाश माविले टस जितेर फिल्डिङमा उत्रियो । जसमा टप्सले पहिलो ब्याटिङ गर्दै १६.५ ओभरमा १० विकेटको नोक्सानीमा १ सय १० रन बनाउन सफल भयो । उक्त खेलमा टप्सका आयुष सुनारले ३१ बलमा २९ रन, शिव सुवेदीले ३१ बलमा २२ रन बनाउन सफल भएभने जनप्रकाशका हिमाल आचार्यले ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यसैगरी संसार दर्जीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट, निश्चल आचार्यले ४ ओभरमा १८ रन दिदै ३ विकेन लिन सफल भएका थिए ।
यसैगरी जनप्रकाश माविले १४.५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ११ रन बनाउन सफल भयो । जसमा अभिशेक कुमालले २८ वलमा २८ रन, संसार दर्जी ३० वलमा ३६ रन बनाउन सफल भएभने टप्सका बलर शिव सुवेदी ३ ओभरमा ८ रन दिएर ३ विकेट लिन सफल भए । खेलमा जनप्रकाशका हिमाल आचार्य म्यान अफ दी म्याच घोषित भए । त्यसैगरी ग्लोबल कलेजियट र त्रिवेणी सेकेण्डरी स्कुल बीचको खेलमा त्रिवेणीले टस जितेर ग्लोबल कलेजियटलाई ब्याटिङको निम्तो दिए । ग्लोबलले १७.४ ओभरमा १० विकेटको नोक्सानीमा ८२ रन बनाउन सफल भयो । जसमा आयुषमान गौतमले १८ वलमा १० रन र सम्राट कुँवर ९ वलमा १७ रन बनाउन सफल रहे ।
यसैगरी त्रिवेणीका वलर युवराज कँडेल ४ ओभरमा १ मेडेन राख्दै १८ रन दिएर ४ विकेट लिन सफल भएभने अरुण नियोरले ४ ओभरमा १३ रन दिएर २ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको त्रिवेणी सेकेण्डरी स्कुलले ८.६ ओभरमा १ विकेटको नोक्सानीमा ८३ रन बनाउन सफल भयो । जसमा वकिल पुनले २९ वलमा २३ रन र सौगात रसाइलीले ४२ वलमा ३० रन बनाउन सफल भए । उक्त खेलको म्यान अफ दी म्याच त्रिवेणीका युवराज कंडेल घोषित भए । प्रतियोगिताको तेश्रो दिन नविन मावि र हार्वड बिच पहिलो खेल र डायमण्ड र त्रिवेणी बीच दोश्रो खेल हुने प्रतियोगिता संयोजक विरेन्द्र पुनले जानकारी दिए ।
पोखरा २६ मंसिर ।
पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
यसवर्षको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालय गरेर १ सय ४० भन्दा बढि विद्यालयको सहभागिता रहने जनाईएको छ । जति धेरै विद्यालय सहभागी हुन्छ त्यति नै राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले बढिभन्दा बढि विद्यालय सहभागी गराउने आयोजकको तयारी छ । ग्रासरुट देखि नै खेलकुद विकास गर्न र खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताले सहयोग पुर्याउने अध्यक्ष गोदारको विश्वास छ ।
प्रतियोगितामा खेल सञ्चालन तथा व्यवस्थापन गर्नका लागि प्रशिक्षक समेत तोकिएको छ । जसअनुसार भलिबलका लागि रामबहादुर लामिछाने, कबड्डीका लागि सागर भण्डारी, एथ्लेटिक्सका लागि गोप बहादुर अधिकारी, उसुका लागि दिलिप लामा, तेक्वान्दोका लागि निरज बहादुर नेपाली, कराँतेको लागि धन लामा प्रशिक्षकका रुपमा छन् ।
प्रतियोगिताको सन्दर्भमा शुक्रबार व्यवस्थापन तथा निर्देशन समितिसँग पोखरा महानगर खेलकुद विकास समितिले छलफल गरेको छ । छलफलका सहभागिले प्रतियोगितालाई प्रभावकारी बनाउनका लागि मिहिन ढङ्गले तयारी गर्नुपर्ने सुझाएका छन् ।
प्रतियोगितामा ग्रासरुट लेभलका खेलाडीका सहभागिता रहने भएको कारणले गर्दा उनीहरूलाई अनुशासनदेखि नियम लगायतका विषयमा समेत जानकारी दिएर निखारता थप्नुपर्नेमा जोड दिए । कार्यक्रममा कमजोरी हुन नदिनको लागि व्यवस्थापनमा ध्यान दिनुपर्ने र फर्जी विद्यार्थी समावेश गरिएको भेटिएमा कारवाही समेत गर्नुपर्ने सुझाब दिएका थिए । प्रतियोगितामा सामुदायिक विद्यालयको सहभागिता बढाउन समेत पहल गरिने अध्यक्ष गोदारको भनाइ छ ।
पोखरा, २६ मंसिर ।
१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं पोखरा महोत्सव कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवमा विभिन्न उपसमितिहरु गठन भइसकेको र उक्त उपसमितिहरु मध्ये कसैको महोत्सव अगाडि र कसैको महोत्सवको बेलामा काम हुने भएकाले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि सम्पूर्ण उपसमितिहरु तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै महोत्सवका अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेलले पोखरा महोत्सव ब्राण्ड बनिसकेकाले यसलाई सफल बनाउनका लागि सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए । पोखरा महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले सामाजिक काम गर्दै आएको हुँदा यसलाई अझै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने गरी महोत्सवमा काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । झांकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सूक बहादुर गुरुङले महोत्सव पोखराकै मुख्य महोत्सव भएकाले दर्शकहरुको चापलाई मध्येनजर गरी त्यसको तयारीमा लाग्नुपर्नेमा जोड दिए । अनुगमन उपसमिति संयोजक लालकाजी गुरुङले महोत्सवमा वर्षेनी दर्शकहरुको वढ्दो आकर्षण रहेकाले दर्शकहरुको माग अनुसारनै महोत्सवलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए ।
कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले कलाकार ब्यवस्थापनको काम अगाडी वढिसकेको बताउदै अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि दर्शकको आकर्षणकै केन्द्रमा रहेको कलाकारहरु महोत्सवमा ल्याउने बताए । सचिवालय उप समिति संयोजक शान्त बहादुर थापाले पोखरा महोत्सव आफैमा ब्राण्ड भएकाले यसलाई थप रौनकता दिन आवश्यक रहेको बताए । प्रायोजक व्यवस्गापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले महोत्सवको प्रायोजकहरुको बारेमा टुङ्गो लागिसकेको र छिट्टैनै सम्झौताको कामलाई अगाडी बढाउने बताए । प्रचार प्रसार ब्यवस्थापन उपसमिति संयोजक दिनेश सुनारले महोत्सवको प्रचारप्रसारमा कुनैपनि कमि आउन नदिने गरी आफ्नो तर्फबाट काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले स्टल बुकिङ खुल्ला छिट्टै नै गर्ने गरी तयारी अगाडी बढेको बताए ।
स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्कीले अघिल्लो संस्करणको महोत्सवहरुमा जस्तै यसपटक पनि आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताए । ब्यानर ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले ब्यानर संकलनको काम भइरहेको बताए । त्यस्तै स्टेज ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठले यसपटकको महोत्सवमा स्टेज अघिल्ला महोत्सव भन्दा फरक र पृथक हुने बताए । टिकट काउण्टर ब्यवस्थापन उपसमिति संयोजक शिव थापाले यसपटकको महोत्सवमा लाइन लागेरका टिकट काट्ने भन्दापनि आधुनिक प्रविधीको उपयोगलाई जोड दिने बताए ।
खानेपाली तथा सरसफाई ब्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की(बिजय)ले अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा समेत महोत्सवमा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । अतिथि ब्यवस्थापन उपसमिति संयोजक शान्ति सुवेदीले अथितीको स्वागत सत्कारका लागि कुनैपनि कमि कमजोरी हुन नदिने बताइन ।
सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सवको सुरक्षालाई मध्यनजर गरि महोत्सव स्थलमा अत्याधुनिक सिसिटीभी क्यामेरा जडान र सुरक्षाकर्मी परिचालन गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए । अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्काले महोत्सवलाई उत्कृष्ट बनाउन आफु बिगतमा पनि लागि परेको र यसपटक पनि डटेर लाग्ने बताए । पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापाले पार्किङ ब्यवस्थापनमा कुनैपनि कमजोरि नहुने बताए । पृष्ठपोषण ब्यवस्थापन उपसमिति संयोजक आनन्द थापाले १४ औं संस्करणको पोखरा महोत्सवलाई अघिल्लो महोत्सवहरु भन्दा पृथक बनाउने सोंचका साथ आफुहरुले काम गरेको बताउदै टिकट, सिजनल पास लगायतका क्षेत्रमा यसपटक अनलाईन माध्यामबाट आफुहरुले काम गर्ने बताए ।
ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगरले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ट्राफिक ब्यवस्थापनलाई सहज बनाउने गरी काम गर्ने तयारी रहेको बताए । स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरुले महोत्सव अवधिभर स्वास्थ्य जाँचको ब्यवस्थालाई बिगतमा जस्तै निरन्तरता दिने बताए । खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतमले महोत्सव अवधिभर आफुले पाएको जिम्मेवारी पालना गर्ने बताए । मुलद्धार उप समिति संयोजक धनराज गुरुङले अघिल्लो संस्करण देखि आफुले मुलद्धारको काम सम्हालेको र यसपटक पनि उक्त काममै निरन्तरता दिन पाउदा खुसी रहेको बताए । विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगानाले आफु युनाईटटेड क्लब संग जोडिन पाउँदा खुसी भएको बताउदै आफुले पाएको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा वोल्दै महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव सफल बनाउनमा विभिन्न उपसमितिहरुको उल्लेख्य भुमिका रहने भएकाले सम्पूर्णले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । पोखरा महोत्सव सम्पूर्णको एकतामा सफल हुँदै आएको आफुलाई स्मरण रहेको बताउदै बिगतका महोत्सवलाई जस्तै १४ औं संस्करणको पोखरा महोत्सवलाई समेत भब्य र सभ्य बनाउन सम्पूर्णको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको थापाको भनाइ रहेको थियो ।
विषम परिस्थितिका कारण हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका कोषाध्यक्ष एवं महोत्सवका आर्थिक व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीले वताए । ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउनु, आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउनु र विभिन्न आन्दोलन र त्यसकारण भएका क्षतिले खस्कीएको अवस्थामा रहेको व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको लक्ष्य हो ।’’–संयोजक बस्ताकोटीले भने ।
अहिलेको विषम अवस्थाका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको बस्ताकोटीले वताए । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन ।
महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा रहनेछन ।
महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट/सुगम संगितका कार्यक्रम हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्ड तथा कलाकारहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।





