
पोखरा,
पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले बुधवार पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई नवरत्न सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा. डा. बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा।डा। बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु छन । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्मान गरेका थिए ।
उनीहरुलाई नगद २ लाख २ हजार २०२ रुपैयाँसहित ताम्रपत्र, दोसल्ला र पदकसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले सम्मान गरेका हुन् ।
पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२\०८३ को पहिलो चौमासिक प्रगतिबारे सोमबार सार्वजनिक सुनुवाई आयोजना गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ५ को कार्यालय झोबाङमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले चालू आर्थिक वर्षको पहिलो चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा उहाँले यस अवधिमा भएका मुख्य प्रगतिहरू, बजेट खर्चको अवस्था र सेवा प्रवाहमा देखिएका सुधारहरूबारे विस्तृत तथ्याङ्कीय जानकारी प्रस्तुत गर्नुभएको थियो।
त्यसपछि वडावासीले सडक निर्माण, भूमि व्यवस्थापन, विपद् व्यवस्थापन, कर प्रणाली, कृषि अनुदान र खानेपानी योजनासम्बन्धी समस्या औँल्याए। केन्द्रबाट गिरिचोक हुँदै मौजा जोड्ने सडकको अवस्था र ठेकदारको जवाफदेहिताबारे स्थानिय नरहरि पौडेलले प्रश्न उठाए। संघ र प्रदेश सरकारबाट आएका योजनाको अनुगमन जिम्मेवारी स्पष्ट पार्न धुर्वराज पौडेलले माग गरे।
भूमि व्यवस्थापनका समस्यामा गम्भीर चिन्ता व्यक्त गर्दै हरिबहादुर केसीले २०३६ सालदेखि भूमिगत सर्भे नभएको र विकास निर्माणका बावजुद लगत कट्टा नहुँदा जनतालाई भोग्नुपरेको समस्या बताए। ६ मिटरको बाटो दुई वर्षमा ३ मिटरमा झरेको उल्लेख गर्दै उनले स्थानीय सरकारले तत्काल पहल गर्नुपर्ने बताए। साँझखोलामा पहिरोले बाटो बगाएपछि पुल निर्माणका लागि विपद् व्यवस्थापन समितिको निर्णय आवश्यक रहेको सहबहादुर बिकले बताए। संघ–संस्थाको कर प्रणालीमा देखिएको असमानताप्रति पनि उनले गुनासो थियो।
त्यसैगरी गोविन्द मणि पौडेलले जन्मदर्ताको अनलाइन प्रक्रियामा दोहोरो शुल्क लाग्ने, बालकर दर ग्रामीण क्षेत्रमा उच्च हुने, सम्पत्ति कर घटाउनुपर्ने र कृषि अनुदान निरन्तरता दिनुपर्ने विषय उठाए। गिरिचोक–मौजा पर्वत सडकको बजेट खर्च विवरण पारदर्शी बनाउन र धोभाङ फाँटमा सिँचाइ योजना ल्याउन उनको माग थियो।
लान्द्रुक खानेपानी योजना जग्गा अभावमा अलपत्र परेको र डिपिआरमा नै ठूलो रकम खर्च भएको नहेन्द्र बहादुर क्षेत्रीले बताए। विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अतिरिक्त कक्षा र युरोगार्डका लागि धाराको आवश्यकता रहेको देवी पौडेलले औँल्याइन्।
विपद् व्यवस्थापनका सामग्री वडा कार्यालयमै राख्न ईश्वरबहादुर क्षेत्रीले माग गरे। २०७८–७९ को बाढीपछि घर भत्किएपछि सहुलियत नपाएको कालिका देवी पौडेलले गुनासो गरिन्। कार्यक्रममा स्थानीयवासीले उठाएका विभिन्न गुनासोप्रति प्रतिवद्धता जनाउँदै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाको स्रोत र कानुनी दायराभित्र रहेर योजनाबद्ध रूपमा समाधानतर्फ अघि बढिरहेको बताए। हामी स्रोत र कानुनी प्रक्रियाभित्र बसेर काम गरिरहेका छौं उनले भने। ठेकदारलाई निर्देशन दिने, भूमि व्यवस्था कार्यालयसँग समन्वय गर्ने, विपद् व्यवस्थापन समितिको बैठक बोलाउने, कर प्रणाली व्यवस्थित गर्ने र जन्मदर्तामा दोहोरो शुल्क समाधान गर्ने बताए। सम्पत्ति कर पुनरावलोकन गर्ने र कृषि अनुदान निरन्तरता दिने विषयमा पनि उनले आश्वासन दिए।
शीतला विद्यालयको कम्प्युटर मर्मतका लागि तत्काल बजेट दिने, लान्द्रुक खानेपानीको जग्गा व्यवस्थापनमा वडासँग समन्वय गर्ने र बाढीपीडितको सहुलियतका लागि पुनः पहल गर्ने उनको भनाई छ। प्राकृतिक स्रोत सदुपयोगका लागि नीति बनाएर स्थानीय लाभ सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
वडा नं। ५ का वडा अध्यक्ष जीवनाथ पौडेलले स्वागत मन्तब्य राख्दै सार्वजनिक सुनुवाइले जनसहभागिता र स्थानीय तहको जवाफदेहिता बढाउने बताए। कार्यक्रमका उठेका प्रश्नको जवाफ दिँदै उनले वडाले प्राथमिकता निर्धारण गरी सडक, खानेपानी, शिक्षा र कृषि जस्ता मुख्य आवश्यकतामा पहल गर्ने बताए। उनले स्थानीयवासीको सुझाव र गुनासोलाई ध्यानमा राख्दै योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
स्थानीय सरकार र जनताबीचको प्रत्यक्ष संवादलाई सशक्त बनाउने यस कार्यक्रमले अन्नपूर्ण गाउँपालिकाको भावी नीति निर्माणमा जनमतलाई अभिलेखबद्ध गरेको देखिन्छ। आमा पब्लिकेसन मिडियाका तर्फबाट कार्यक्रम सञ्चालन पत्रकार सागर ढकालले गरेका थिए।





