२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

पोखरा, ०३ पुस ।

पोखरामा ‘आठौँ टुर दि पोखरा’ आयोजना हुने भएको छ । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल यात्रा भन्ने मूल नारासहित आयोजना गर्न लागिएको सो कार्यक्रम पुस ५ गते हुने भएको हो ।

पोखरा महानगरपालिकाको स्वच्छ सहर, हरित सहर अवधारणालाई आत्मसात् गर्दै कार्यक्रम सञ्चालन हुन लागेको हो ।

स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण र पर्यटन विकासलाई एउटै अभियानमा जोड्दै हुन लागेको टुर दि पोखराको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिए ।

पोखरा साइकल यात्रामार्फत पोखरा र वरपरका पर्यटकीय गन्तव्यहरूको पहिचान गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने सचिव रामचन्द्र भट्टले जानकारी दिए ।

कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी साइकल यात्रीहरूलाई हरित क्रान्तिको सन्देश प्रवाह गर्दै वातावरणमैत्री यात्राको महत्वबारे पनि जानकारी गराइनेछ ।

आयोजकका अनुसार यस वर्षको टुर दि पोखरामा ४ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका सहभागीहरू रहने अपेक्षा गरिएको छ ।नेपालभरका ३२ जिल्लाका साइकल यात्रीहरू तथा छिमेकी मित्रराष्ट्र भारतलगायत अन्य केही देशबाट समेत गरी करिब ६५० जना साइकल यात्री सहभागी हुनेछन् ।

स्थानीय स्तरमा पूर्व–रजिस्ट्रेसन नगरी पनि धेरै साइकल यात्री सहभागी हुने अपेक्षा गरिएकोले कुल सहभागी संख्या एक हजारभन्दा बढी पुग्ने आयोजकको अनुमान छ ।

कार्यक्रममा विश्व साइकल यात्री, विभिन्न सामाजिक अभियन्ता तथा फरक क्षमता (शारीरिक अपांगता) भएका साइकल यात्रीहरूकोसमेत उल्लेखनीय सहभागिता रहने जनाइएको छ । यसले समावेशीता र समान सहभागिताको सन्देश प्रवाह गर्ने विश्वास आयोजकले लिएको छ ।

टुर दि पोखराको साइकल यात्रा करिब ५१ किलोमिटर दूरीको हुनेछ । यो यात्रा एक दिनमै सम्पन्न गरिने कार्यक्रम तालिकामा उल्लेख छ । साइकल यात्रा पोखराका मुख्य शहरी क्षेत्र हुँदै पर्यटकीय मार्गहरू समेटेर सञ्चालन गरिनेछ, जसबाट पोखराको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र स्वच्छ वातावरणको सन्देश प्रवाह गर्ने लक्ष्य छ ।

भोलिबाट क्वाटरफाइनलका खेल सुरु
पोखरा, ०३ पुस ।

रुपाकोटमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बिहिबार सात खेल सकिएसँगै पहिलो चरण सम्पन्न भएको हो । रुपा गाउँपालिका ६ भिरचोकस्थित खेल मैदानमा जारी प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल अन्तरगत पहिलो खेलमा सिन्के फुटबल क्लबले दोभान क्लबलाई ३–० गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा ब्रदर एफसीले नानु एफसीलाई १–० ले हरायो । तेस्रो खेलमा न्युस्टार ‘बि’ ले योङ्ग ब्वाइलाई ७–१ को फराकिलो गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा योङ्ग स्टार ‘ए’ ले विजी गाइजलाई ७–० को फराकिलो अन्तरले हरायो । पाँचौ खेलमा रामघाटले रामबजारलाई १–० गोलले हरायो ।

छैटौं खेलमा खेम माइला मेमोरियलले धारापानीलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । तेस्रो दिनको अन्तिम खेलमा रामघाटले मुलमिललाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तरगत प्रिक्वाटर फाइनलको एक खेल हुने छ भने बाकी खेल क्वाटरफाइनलका हुनेछन् ।

२४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।

पोखरा, ०३ पुस ।
 
पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको लागि खेलाडी तथा टिम दर्ता बिहीबारबाट सुरु भएको छ । पोखरा महानगरपालिकाका शिक्षा  अधिकृत सोमनाथ भण्डारीले पौष ६ गतेसम्म दर्ता जारी रहने भन्दै शनिबार समेत दर्ता गर्न सकिने बताएका छन् ।

बिहीबार  प्रतियोगिताको तयारीका लागि पोखरा महानगर खेलकुद विकास समितिले प्राविधिक उपसमिति र विद्यालयका खेल शिक्षकसँग राखेको छलफल कार्यक्रममा बोल्दै शिक्षा अधिकृत भण्डारीले दर्ता गर्ने क्रममा जन्ममिति ढाटेर ल्याउने गरेमा कारवाही गरिने बताए । विगतमा यस्ता खालका कार्य भएको पाइएको भन्दै यसपालि यसमा कडाइ गरिने उनले प्रष्ट पारे ।

सहभागी विद्यार्थीको विवरणमा विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’ उल्लेख गर्न शिक्षा अधिकृत भण्डारीले आग्रह गरेका छन् । टिम गेममा पनि हरेक खेलाडीको छुट्टाछुट्टै फाराम भर्न उनले अनुरोध गरेका छन्  । सबैको उपस्थितिमा पौष ७ गते टाइसिट बनाउने र ८ गते पत्रिका मार्फत सार्वजनिक गर्ने उनले खुलाएका छन् ।  विगतमा समेत फर्जी गर्नेलाई कारवाही गरिएको भन्दै यसपालि फर्जी  गरेको पाइएका एक वर्ष खेल्न नदिने लगायतका कारवाही गरिने उनले प्रष्ट पारेका छन् । गलत संस्कार बस्न नदिनका लागि सबै चनाखो हुनुपर्नेमा उनको जोड छ । उनले पोखरा महानगरमा रहेका १ सय ६० संस्थागत र ८० सामुदायिक गरेर  कुल २ सय ४० विद्यालय  रहेको भन्दै ती विद्यालय मध्येबाट प्रतियोगितामा सहभागी बन्ने जनाए ।

पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा पोखरा महानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका १८ वर्ष भित्रका उमेर समुहका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले इमानदारिताका साथ विद्यार्थीलाई सहभागी गराउन खेल शिक्षकसँग आग्रह गरे । आफूहरू सँधै सत्यको पक्षमा हुने भएकोले खेलाडी अनुशासनबारे ध्यान दिन आग्रह गरे । प्रतियोगिता सञ्चालनको समयमा केही गुनासो वा उजुरी भएमा सम्बन्धित ठाउँमा राख्न उनको अनुरोध छ। सबैको सहयोगमा प्रतियोगिता सफल हुने विश्वास उनको छ । सबैको मेहनतका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै पदक ल्याउन पोखरा महानगर सफल भएको भन्दै उनले राष्ट्रपति इनिङ्ग शिल्डमा प्रदेशमा पहिलो भइसकेको भएकोले अब केन्द्रमा हुने गरी अगाडि बढ्ने बताए । केन्द्रको रनिङशिल्ड माथि कब्जा गर्ने योजनाका साथ तयारी सुरु गरिएको भन्दै यसमा सबैको साथ आवश्यक पर्ने औँल्याए ।

छलफलमा सहभागी खेल शिक्षकहरूले विभिन्न जिज्ञाशा राखेका थिए । उनीहरुका जिज्ञासा र परिवर्तित नियमको बारेमा प्राविधिक उपसमिति  संयोजक राजन पौडेल,  सहसंयोजक सिद्धान्त अधिकारी लगायतले जानकारी गराए ।

 छलफल कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए । टीम तथा खेलाडी दर्ता निस्शुल्क हुनेछ । एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधा मध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम लगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकालाई पालना गर्न  पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ ।

 

पोखरा, ०३ पुस ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले दूरसञ्चार क्षेत्र आज राष्ट्रिय विकासको रणनीतिक आधारका रूपमा स्थापित भएको उल्लेख गरे।

मन्त्री थापाले देशभरबाट पोखरा आएका प्रतिनिधिहरूलाई गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगर पोखरामा स्वागत गर्दै नेपाल टेलिकमजस्तो सार्वजनिक संस्थाले केवल सेवा प्रदायकको भूमिका मात्र नभई राज्यको डिजिटल सार्वभौमिकताको संरक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि वहन गरिरहेको बताए । नेपाल टेलिकमका कर्मचारीहरूको सामाजिक, आर्थिक तथा बौद्धिक विकास, मनोबल अभिवृद्धि, कर्मचारी कल्याण र कम्पनीको दिगो विकासका लागि २०४८ सालमा स्थापना भएको नेपाल टेलिकम वर्कर्स युनियन पहिलो प्रजातान्त्रिक ट्रेड युनियन भएको धारणा उनको छ ।

उनले युनियनले स्थापना कालदेखि नै श्रमिक हक–हितको संरक्षणसँगै संस्थाको सार्वजनिक चरित्र, स्थायित्व र सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए । कुनै पनि सार्वजनिक संस्थाको दीर्घकालीन सफलता त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरूको समर्पण, सुरक्षा र सम्मानसँग प्रत्यक्ष रूपमा जोडिएको उनले स्पष्ट पारे।

मन्त्री थापाले श्रमिकमैत्री नीति, संस्थागत सुधार, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनु अपरिहार्य रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकार सामाजिक न्यायमा आधारित विकास, श्रमिकमैत्री शासन प्रणाली तथा सामाजिक सुरक्षा विस्तारप्रति प्रतिबद्ध रहेको बताए।

उनका अनुसार प्रदेश सरकारले सूचना प्रविधि, डिजिटल पहुँच र मानव संशाधन विकासलाई प्राथमिकतामा राख्दै दूरसञ्चार क्षेत्रसँग सहकार्य गरी ‘डिजिटल गण्डकी’ यात्रालाई अघि बढाउने स्पष्ट नीति लिएको छ । महाधिवेशन नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र नभई भावी नीतिगत दिशा, संगठनात्मक कार्ययोजना र संस्थागत सुदृढीकरणका लागि ऐतिहासिक अवसर भएको उल्लेख गर्दै उनले यहाँबाट लिइने निर्णयहरूले नेपाल टेलिकमलाई अझ सक्षम, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कास्की ।

नेकपा एमालेमा भुगोलतर्फ गण्डकीबाट युवा केन्द्रीय सदस्यमा कास्कीका नवराज ओझा निर्वाचित भएका छन् । एमालेको विहीबार सम्पन्न ११ औं महाधिवेशनले गण्डकीबाट युवा केन्द्रीय सदस्यमा ओझालाई निर्वाचित गरेको हो । ओझा रुपा गाउँपालिका प्रमुख हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।