२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

पोखरा, २८ पुस ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्।

विद्यालयको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहको अवसरमा १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। आफ्ना बुबा र भाइ शिवराजले अध्ययन गरेको र उनीहरूको सम्मान स्वरुप अक्षयकोष स्थापना गरेको मेयर आचार्यले बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सबै पक्षको सहकार्यबाट मात्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने उदाहरण यस विद्यालयले पुष्टि गरेको बताए। उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको बताउँदै, कमजोर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सघाउन महानगर तयार रहेको स्पष्ट पारे। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनको समन्वयबाट मात्र सफलता प्राप्त गर्न सकिने बताए। कार्यक्रममा विद्यालयमा महत्वपुर्ण मानिएको अध्यक्ष अवार्ड प्रधानाध्यापक  कृष्णप्रसाद आचार्यलाई प्रदान गरिएको छ । व्यवस्थापन समितिको समन्वयमा अध्यक्षले चयन गर्ने सो अवार्ड पोखरा  महानगरपालिकाका प्रमुख धनराज आचार्य,प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख भास्कर दत्त पन्त,  वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुष्पेन्द्र पाण्डे,शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले अवार्ड र सम्मानपत्र सहित सम्मान गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले सो सर्वोत्कृष्ट अवार्डको घोषणा गरेका थिए ।

सम्मानित भएपछि प्रधानाध्यापक आचार्यले प्राप्त सम्मान आफ्नो मात्र नभई विद्यालयको समग्र शैक्षिक तथा भोतिक विकासमा अहोरात्र खट्टिने शिक्षक कर्मचारी प्रतिको सम्मान भएको बताए ।  यस सम्मानबाट आफुलाई भावुकसहित हर्षित  बनाएको भन्दै उनले अझै बढी काम गर्ने उत्प्रेरणा र उर्जा मिलेको सुनाए । एक वर्ष निजामती कर्मचारी,  ३ वर्ष  संस्थागत विद्यालयको  शिक्षण अनुभव संगालेका आचार्यले २०५२ सालमा जनचेतन मावि निर्मल पोखरीमा स्थायी नियुक्त भई २०६० सालमा  सरुवा भई त्यस विद्यालयमा पुगेका आचार्य विगत एक दशक देखि प्रधानाध्यापक भई कुशल निम्मेवारी निभाई रहेका छन् । यस अघि सोही विद्यालयमा शिक्षक अभिभावक संघमा ३ वर्ष,विद्यालय व्यवस्थापन समितिमा ३ वर्ष शिक्षक प्रतिनिधिका रुपमा , सहायक प्रधानाध्यापकमा ५ वर्ष कार्य गरेको अनुभव छ ।   २०७३ साउनबाट हालसम्म पनि निरन्तरप्रधानाध्यापकको जिम्मेवारी लिएका छन् । २०८० मा राष्ट्रिय शिक्षा पुरस्कार २०८१ म प्रदेश शिक्षा पुरस्कार प्राप्त गरेका आचार्यको कार्यकालमा विद्यालय २०७९ मा नेपाल सरकार गुणस्तर मापन केन्द्र, सानोठिमीको सर्वेक्षणमा नेपाल भरिका सामुदायिक विद्यालयमा प्रथम भएको ,शिक्षा विभागको सर्वेक्षण २०८० मा गण्डकी प्रदेश प्रथम भएको र विद्यालयको खेल मैदानको कमीका कारण नेपाल भरीमा दोस्रो भएको, प्रधानाध्यापक संघ नेपालबाट २०८१ मा  सामुदायिक विद्यालयमा गण्डकी प्रदेशको सर्बोत्कृस्ट विद्यालय सम्मान पाएको ,देशभरमा सामुदायिक विद्यालयमा आइसिटी अवार्ड २०२५बाट उत्कृष्ट ३ विद्यालय सम्मान पाएको ,आध्यमिक शिक्षा परीक्षाको नतिजामा लगातार २०८० र २०८१ मा  पोखरा महानगर जिल्ला, र प्रदेशबाट समेत सर्वोत्कृष्ट विद्यालय सम्मान पाएको ,कक्षा ८ को आधार भूत तह उत्तीर्ण परीक्षामा पोखरा महानगर भरिका सामुदायिक विद्यालयमा प्रथम भई विद्यालय सम्मानित भएको  थियो ।  

प्रधानाध्यापक आचार्यकै कार्यकालमा राष्ट्रिय पहिचान बनाउन सफल विद्यालयमा पछिल्लो  ३ वर्षमा  देशभरका ८ सय ७५  विद्यालय का प्र अ,शिक्षक , वि व्य स सहितको टीम र शिक्षा प्रमुख ,नगर प्रमुख सहित उल्लेख जनप्रतिनिधिले विद्यालयको असल अभ्यास अवलोकन समेत गरिसकेका छन् ।अधिकांश समय विद्यालयमा नै समय खर्चिने आचार्यले  कुनै तालिम दिने, वा आफूले लिन जानु भन्दा  आफ्नै विद्यालयलाई नै  समय दिई आफ्नै विद्यालयलाई तालिम केन्द्र ठान्दै विभिन्न शैषिक क्रियाकलाप संचालन गरी अन्य शिक्षकलाई पनि संलग्न गराएका छन् ।  व्यक्तिगत जीवन, घर व्यवहार र स्वास्थ्यलाई  समेत चटक्कै बिर्सेर बिहान बेलुका र बिदाको समयमा पनि विद्यालयमै बिताउने गरेका आचार्य केही कठोर भए पनि सहकर्मिका विच हितैषी र समन्वयकारी स्वाभावका छन् । आचार्यसँगै कार्यरत सहकर्मीका अनुसार  कहिले काँही आफ्ना शिक्षक कर्मचारीको गल्ती कमजोरी लाई प्याच्च भन्ने उहाँको  कमजोरी  छ, अन्यथा आफ्नो परिवारलाई पनि समय नदिई, विद्यालय बाहिर काजमा पनि नगई विद्यालयमा मात्र यति धेरै खट्टिने प्रधानध्यापक हामीले पाएका थिएनौ, थुप्रै विद्यालयका प्रअ व्यहोर्यौ तर उहाँ जस्तो पाएनौं ।  अध्यक्ष अवार्ड पहिल्यै पाउनु पर्ने हो बल्ल अहिले सही मूल्यांकन भएछ । प्रधानाध्याापक आचार्यले विद्यालयलाई जिल्ला,प्रदेश र राष्ट्रिय रूपमा उत्कृष्ट पहिचान बनाउनमा अहोरात्र खटने सहकर्मी शिक्षक कर्मचारी, अनुशासित र लगनसशल बिद्यार्थी, वर्तमान विव्यस, शि अ संघ ,विद्यालयका सल्लाहकार ,पूर्व विव्यस तथा सि अ संका अध्यक्ष एबम् सदस्यहरु ,वार्ड अध्यक्ष लगायत जनप्रतिनिधिहरु ,पूर्व प्रधानध्यापक एबम् पूर्व शिक्षक ,पूर्व विद्यार्थी, अभिभावकहरू र विद्यालयलाई सहयोग गर्नुहुने सम्पूर्ण स्थानीय शिक्षा प्रेमी व्यक्तित्वहरुको महत्वपूर्ण योगदान स्मरण गरे ।  

कार्यक्रममा विद्यालयले आधारभुत तहमा प्रथम हुन सफल विषयगत शिक्षक, माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त विषयगत शिक्षक, कक्षा १२ मा सतप्रतिशत उतीर्ण शिक्षकलाई सम्मान गरेको छ। २५ वर्षिय दीर्घ सेवा सम्मानबाट कमलाकुमारी पौडेल,१५ वर्ष सेवा सम्मानबाट सिर्जना शर्मा सिग्देल, १० वर्ष सेवा सम्मानबाट यमकुमारी पौडेल,प्रतिभा राना र संगीत गायक, उत्कृष्ट तहगत शिक्षक सम्मानबाट मीना शाही, जमुना बस्नेत,लक्ष्मी गुरुङ, मान बहादुर केसी, कृष्ण प्रसाद पौडेल, कर्मचारी तर्फ सुकमाया सापकोटा, राजु सार्की सम्मानित भए। तहगत इन्चार्जमा आधारभुत तह इन्चार्ज महेन्द्र प्रसाद पौडेल, उत्कृष्ट अभिभावक मनहरी आचार्य, सृष्टि सुवेदी सहित ४ जना, उत्कृष्ट मनिटर निरन्जन देवकोटा, सह मनिटर स्मृति विक पनि सम्मानित भएको विद्यालयले जनाएको छ। उत्कृष्ट बर्ष विद्यार्थीबाट पुर्णिमा भट्टराई सम्मनित भईन् । एस इ इ २०८१ मा चार जिपिए ल्याएका विद्यार्थी सहज घिमिरेलाई नगद ५० हजार र कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने अनुज आचार्यलाई नगद १० हजार सहित सम्मान गरिएको छ ।विज्ञान शिक्षक गोविन्द शर्मा पौडेललाई दुर्गा केसी अक्षयकोष पुरस्कार र तोयनाथ श्याम तारा अक्षयकोषको वर्ष शिक्षक पुस्कार शिवप्रसाद सापकोटा र संगिता शर्मालाई प्रदान गरियो । सोही अवसरमा आफ्ना छोराछोरीलाई आफु कार्यरत विद्यालयमा अध्ययन गराउने कर्मचारी अनिता बराल पौडेल, भीम गायक, धनमाया परियार लगायतलाई पनि सम्मान गरिएको छ।पुस्तकालयमा किताब उपहार दिने अभियानको शरुवात गरेकी विद्यार्थी कृतिका अधिकारी पनि सम्मानित भईन् ।सो अभियानबाट शिक्षक कर्मचारी मार्फत हाल ९५ थान पुस्तक संकलन भएको छ ।पठन पुरस्कार शिक्षक महेन्द्रमणि पौडेल र विद्यार्थीहरु सुस्मिता आचार्य, समिप गिरी प्रदान गरियो ।  

उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख आचार्य, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्त, शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मी, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले सम्मान गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, सल्लाहकार वेनीबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेल, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, विद्यार्थी प्राप्ति आचार्य, अस्मिता क्षेत्री लगायतले बोलेका थिए।सो अवसरमा विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण पनि गरिएको छ।त्यस अवसरमा अक्षयकोषदातालाई पनि सम्मान गरिएको थियो।प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन शिक्षक महेन्द्रमणि पौडेलले गरेका थिए।

उद्घाटन अघि मेयर आचार्यले विद्यालयका संस्थापक पण्डित मुक्तिनाथ शर्माको शालिकमा माल्र्यापण समेत गरेका थिए । कार्यक्रममा विद्यार्थीले पञचेबाजा र मार्च पास, शैक्षिक तथा विज्ञान प्रदर्शनी सहित बिभिन्न लोक नृत्य, भजन र नाटक प्रदर्शन गरेका थिए। वार्षिकोत्सवको अवसरमा विद्यालयले रक्तदान, सरसफाई र खेलकुद कार्यक्रम सञ्चालन गरेको थियो।

 

पोखरा, २८ पुस  ।

पोखराबेशी बहुद्देश्यीय सहकारी संस्था, पोखरा–२, बाग्लुङ बसपार्कको शनिबार ७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ.व ८१÷८२मा ४ करोड ९६ लाख २२ हजार ५ सय ७५ रुपैयाँ निक्षेप सङ्कलन गर्ने सफल भएको छ । २ करोड ८९ लाख ६० हजार ७ सय शेयर पुँजी रहेको सहकारीले ६ करोड ७० लाख ८५ हजार ९१ रुपैया कर्जा लगानी गरेको छ ।   

वार्षिक साधारणसभा अवसरमा संस्थाका अध्यक्ष नारायण पहारीले सहकारीको आव २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा जनाएका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–६का निर्वतमान वडाअध्यक्ष तथा सल्लाहकार जगत बहादुर पहारीले कार्यक्रमको उद्‌घाटन गर्दै सहकारीले वित्तीय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शङ्का नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यलाई आग्रह गरे । सेयर सदस्यहरूको सहकार्य नै सहकारी भएको उनको भनाइ थियो । उनले सबै सेयर सदस्यले आफ्नै सहकारीमा कारोबार गर्नुपर्ने धारणा राखे ।   

सल्लाहकार तथा सेयर सदस्य गोविन्दराज पहारीले संस्थाका गतिविधिमा शेयर सदस्यहरूले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले सहकारीले लगानी गर्दा सहकारीले ऐनकानुनको पालना गरी अगाडि वढ्नु पर्ने बताए । 

चेतना बचत तथा ऋण सहकारी संस्था बैदामका अध्यक्ष प्रशुराम पहारीले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । सहकारी संस्था र सेयर सदस्यको सम्बन्ध नङ र मासुको जस्तै गरि अगाडि बढेमा सहकारीमा समस्या नआउने बताए । 

शेयर सदस्य चुडामणि पहारीले गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा अगाडि बढाउने गरि गृहकार्यमा लाग्न आग्रह गरे ।  सभामा अध्यक्ष नारायण पहारीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव दुर्गादत्त अधिकारीले पेस गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सनोज पहारीले प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक प्रेमराज पहारीले प्रस्तुत गरेको प्रतिवेदन सभाले सुझावसहित पारित गरेको छ । 

सहकारी अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यसमिति सदस्य रिता नापित र सात सिद्धान्त वाचन कार्यसमिति सदस्य लिलावती अधिकारी कोइराला ले गरिन् । सो अवसरमा असल बचतकर्ता तर्फ कुसुम बहादुर शाही, असल कारोबारी तर्फ विष्णु गौतम र उत्कृष्ट कर्मचारी प्रतिमा तमाङ्ग सम्मान गरिएको थियो ।

सो अवसरमा सहकारीको रिक्त रहेकोका उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा क्रमश रिता नापित लाई उपाध्यक्षमा र सदस्यमा ममता पराजुलीका साथै लेखा समितिको रिक्त सदस्य पदमा सुशीला पौडेल पहारी र तेज प्रसाद तिमिल्सिनालाई मनोनित गरिएको निर्वाचन मण्डलका संयोजक कृष्ण तिमिल्सीनाले जानकारी दिए । 

पोखरा, २८ पुस ।

बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो।

विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा बि.क. ले उपाधि हात पार्न सफल भएका छन्। विजेताहरूले उपाधिसँगै निर्णायक मण्डल तथा दर्शकको प्रशंसा पनि बटुलेका थिए।

त्यसैगरी प्रतियोगितामा फस्ट रनरअप तर्फ संगिता ल्वागुन, सेकेन्ड रनरअप तर्फ संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्मा ले प्राप्त गरेकी छन्। विजेताहरूले मिस्टर एन्ड मिस बिश्वकर्मा राष्ट्रिय प्रतियोगितामा सिधै सहभागिता जनाउने अवसर, नगद पुरस्कारसहित आकर्षक उपहारहरू प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको समुदाय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको आत्मसम्मान र पहिचान मजबुत बनाउने बताए। 

कार्यक्रमका विशेष अतिथि लोकप्रिय गायक प्रकाश सपुतले विजेता तथा सहभागीहरूलाई शुभकामना दिँदै बिश्वकर्मा समुदायको संघर्ष, प्रतिभा र सम्भावनाको खुलेर प्रशंसा गरे।

कार्यक्रमको अर्को आकर्षणका रूपमा बिश्वकर्मा समुदायको मौलिक पोषाक सार्वजनिक गरिएको थियो, जसले समुदायको संस्कृति र पहिचानलाई थप उजागर गरेको सहभागीहरूको भनाइ थियो।

प्रतियोगिताको मूल्यांकन अनुभवी तथा प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो। निर्णायकको भूमिकामा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, मिस्टर एन्ड मिस बिश्वकर्मा नेशनल सिजन–४ का विजेता शौरव बिश्वकर्मा तथा डिजाइनर शुष्मा गुरुङ रहेका थिए। निर्णायकहरूले सहभागीहरूको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र सामाजिक दृष्टिकोणका आधारमा मूल्यांकन गरेका थिए।

कार्यक्रममा मञ्जु बि.क., बिपास सुनार र समिर रामदामले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।

काठमाण्डौँ, २८ पुस ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।

आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ ।

यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने बताइएकाे छ ।

काठमाण्डौँ, २८ पुस ।

सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गरेको छ । सोमवार बसको मन्त्रीपरिषदको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाको वैठक संघीय संसद सचिवालय सिंहदरबारमा माघ ४ गते आईतवार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने रकम बुझाउन पनि स्वीकृत दिएको छ । सन् २०२४ को वार्षिक योगदान दुई लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय गरिएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

नेपालले भूकम्पबाट पीडित म्यानमारको पुनर्निर्माणको लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । भुकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले वित्तीय क्षेत्रविकास रणनिति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र ९ईसिमोड०को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ । वित्तीय क्षेत्रविकास रणनिति २०८२-८३ देखि २०८६-८७ स्वीकृत गर्ने निर्णय भएको छ ।

२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निमान र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ । मानव वेचविखन विरुद्धको राष्ट्रिय निति २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । गोरखापत्र संस्थाको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी भक्तपुरलाई तोक्ने निर्णय भएको छ ।

२०८२ साल माघ ४ गते आईतवारको दिन बिहान ११ बजे संघिय संसद सचिवालय सिंहदरबारमा संघीय संसद राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’बैठकले मानव वेचविखन विरुद्धको राष्ट्रिय निति २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थाको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पोखरा, २८ पुस ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो ।

अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डका विधाहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट उदयमान, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब÷संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् ।

अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोर्ट्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले बताए । अवार्डका लागि प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ ।

अवार्डले गण्डकी प्रदेशको खेलकुद प्रवद्र्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।