
काठमाडौं, २९ पुस ।
भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ । आफुहरु सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा भएको आगलागीमा परि नौ जनाको मृत्यु भएको संचारमाध्यले जनाएका छन् ।
विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन् । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन् ।
यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक रहेको बताइएको छ ।
उनीहरू विगत दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । एकै गाउँका नौ जनाको मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ अहिले शोकमा डुबेको छ ।
पोखरा, २९ पुस ।
पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको बताइन । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा अध्ययन गर्दा होस वा पोखरामा पर्यटन वोर्डको प्रमुखमा रहेर काम गर्दाको समयमा पोखरेलीहरु पर्यटन प्रवद्र्धनमा अग्रसर रहेको आफुले महशुस गरेको बताउदै मन्त्री श्रेष्ठले पोखरा महोत्सव समेत त्यसको एक उदाहरण रहेको बताइन । पोखरा महोत्सवको स्थापना कालीन समयमा समेत आफुले सहयोग गरेको मन्त्री श्रेष्ठले स्मरण गरिन । मन्त्री श्रेष्ठले आफु विशेष परिस्थितीबाट नेपाल सरकारको मन्त्री बन्न पुगेको र तोकिएकै समयमा निर्वाचन गर्न राजनैतिक दलहरु समेत तयार रहेको बताइन ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले युनाईटेड क्लब पोखराले महोत्सवकै आयोजना गरि पोखरामा चिडियाखानाको अवधारणा लिएर काम गर्दै गर्दा उक्त योजनालाई हाल आएर प्रदेश सरकारले चिडियाखाना निर्माणको कामलाई अगाडी बढाइरहेको बताए । त्यसैगरी युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै हाल लेखनाथमा निर्माण भइरहेको छात्राबासलाई समेत प्रदश सरकारको तर्फबाट साथ र सहयोग रहने बताए ।
त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले युनाईटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक कामलाई निरन्तरता दिइरहेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले समेत साथ र सहयोग गर्ने बताए ।
त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ श्यामले युनाईटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरिर पोखरामा मात्र नभइ नेपालभर शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको आफुले नजिकबाट नियाल्दै आइरहेको र आफ्नो ब्याक्तिगत र प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले युनाईटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक कामलाई निरन्तरता दिएको र त्यसलाई पोखराका पत्रकारहरुले साथ र सहयोग गरिरहेको र आगामी दिनमा पनि साथ र सहयोग रहने बताउदै १४ औं संस्करणको पोखरा महोत्सवको सफलताको कामना गरे ।
त्यस्तै संविधान सभा सदस्य राजकाजी गुरुङले पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखरा संग आफु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएर सहकार्य गर्दै अगाडी वढिरहेको बताए । पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम मार्फत युनाईटेड क्लबले आफुलाई अब्बल साबित गरेको गुरुङको भनाइ थियो ।
बन्दीपुर केबुलकारकाका उपाध्यक्ष किरण पोखरेलले पोखरा महोत्सव आयोजक युनाईटेड क्लब संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । आफुहरुले बन्दीपुर केबुलकारको सपना देखेर काम गर्दै जाँदा सफलता प्राप्त गरेको र युनाईटेड क्लबले समेत महोत्सवको आयोजना गरि आफुले लिएको लक्ष्य प्राप्तीतर्फ अगाडी बढेकोमा सफलताको कामना गरे ।
प्रध्यापक डा. कृष्ण केसीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले सामाजिक गतिविधी संगै पर्यटकीय गन्तब्य निर्माण गर्ने गरी अगाडी बढ्दै आजको दिन सम्म आइपुगेको बताए । १४ औं पोखरा महोत्सव पश्चात शिक्षामा जुन लक्ष्यका साथ काम गर्ने महोत्सव आयोजकको जमर्को छ त्यसमा सम्पूर्णको साथ र सहयोग समेत रहने उनको भनाइ रहेको थियो ।
अमरसिंह माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले पोखरा महोत्सव आयोजक युनाईटेड क्लबले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको लागि पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री प्रदान गरी सहयोग गर्दै आइरहेको बताए । युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सव भब्य र सभ्य रुपमा सफल गरिसकेको बताउदै १४ औं पोखरा महोत्सवको सफलताको समेत कामना गरे ।
पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव आयोजक युनाईटेड क्लबले सामाजिक काम गर्दै आइरहेको र १४ औं संस्करणको पोखरा महोत्सव पश्चात समेत सामाजिक कामलाईनै जोड दिने भएकाले आफ्नो र वडाको तर्फबाट महोत्सवको सफलताको कामना गरे ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई हेर्न र बस्न लायक शहर बनाउनका लागि युनाईटेड क्लबले प्रयत्न गरिरहेको बताए । मुल्मीले युनाईटेड क्लबले पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागि चालेको कदम आज पनि चर्चाको शिखरमा रहेको बताउदै मुल्मीले उद्योग ब्यापारलाई समेत जोडेर महोत्सवको आयोजना गरि क्लबले आर्थिक चलायमानमा समेत टेवा पु¥याएको बताए ।
युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले पोखरामा खुल्ला चिडियाखानाको अवधारणा ल्याई काम गरिरहदा उक्त योजना गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको आयोजना बनाइ काम अगाडी वढिरहेको बताए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै सेती नदी संरक्षण र विपदको कामलाई निरन्तरता संगै पोखरा २७ अर्चलेमा क्लबको आफ्नै जग्गामा छात्राबास निर्माणलाई मुख्य प्राथमिकतामा राखेर कामगर्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा सामाजिक सञ्जालको माध्यामबाट विभिन्न पर्यटकीय गन्तब्यहरुको पहिचान गराउन सफल मुना केसी मुना चिया र विश्वसाइकल यात्राको माध्यामबाट नेपाललाई विश्वमा चिनाउन सफल अजित बरलालाई सम्मान गरिएको थियो ।
त्यसैगरी नेपाली फिल्मका चर्चित कलाकार विपिन कार्की र बिजय बरालले आ आफ्नो प्रस्तुती संगै पोखरा महोत्सवको सफलताको कामना गरे भने पोखरा महोत्सवकै अवसरमा सञ्चालन गर्न लागिएको वी पोखरा एपको बारेमा जानकारीमुलक प्रस्तुती दिएका थिए ।
क्लबका अध्यक्ष तथा १४ औं पोखरा महोत्सव मुल समारोहकाका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन दिनेश सुनारले गरेका थिए ।
यसैगरी महोत्सव पूर्र्व पोखरा रंगशालाबाट आयोजना गरिएको झांकी तथा र्यालीमा ३ सय वढी संघ संस्था तथा आमा समुहले झांकी तथा र्यालीमा सहभागीता जनाएका थिए । उक्त र्यालीमा सिमल मार्ग टोल बिकास संस्था पोखरा १० प्रथम, नयाँगाउँ प्रतिभा टोल आमा समुह पोखरा १५ दोश्रो, सानीमजुवा आमा समुह पोखरा १५ तेश्रो र सुनकोशी आमा समुह पोखरा १० र नेपाल मगर संघ कदम मार्ग पोखरा १४ ले शान्तवना स्थान हाँसिल गरे ।
त्यस्तै झाँकी तर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रामबजार प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज पोखरा १० दोश्रोर पैकु समाज सेतीनहर मार्ग पोखरा १२ तृतीय भएभने नेपाल मगर संघ रामबजार इकाइले सान्तवना स्थान हाँसिल गरे ।
महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ सम्झना लामिछाने, कृष्ण सुवेदी, माया गुरुङ लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ ब्याण्डतर्फ अन्तरवाणी, रोहितजंग एण्ड कलेक्टीभ लगायतको प्रस्तुती रहेको थियो ।
महोत्सवमा बुधवार लोकदोहोरीतर्फ रबि कार्की, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, सबिना गुरुङ, केशब देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमा गौतम लगायतकोे प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडाैं, २९ पुस ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएकाे हाे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। १९ वटा निर्णयमध्ये पाँचवटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् ।
यस्ता छन् निर्णयहरू


काठमाडौं, २९ पुस ।
नेपालमा भू–राजनीतिक खेल तीव्र भएकाबेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो ।
प्रतिनिधिमन्डल ३ दिने भ्रमणको लागि आगामी हप्ता नेपाल आउन लागेको हो । नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।
जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ । चीनले नेपालका हरेक राजनीतिक दलहरुसँग समान व्यवहार गर्न चाहेको बताउँदै आएको छ ।
पोखरा, २९ पुस ।
गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटनमा सहकार्य गर्नेगरी ९ बुँदे समझदारी भएको छ । पर्यटनको राजधानी पोखरामा दुई प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ कै सन्दर्वमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीको नेतृत्वमा पोखरा आएको टोलीलाई गण्डकी प्रदेश सरकारले पोखरामा स्वागत गर्दै सोमबार सद्भावना भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.ईन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरे । समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ ।
सम्झौतापत्रमा समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन प्रवद्र्दनका लागि पोखरा–विराटनगर सिधा हवाई सेवा र पर्यटकीय स्तरका बस सेवा सञ्चालनका लागि संघीय सरकारसमक्ष संयुक्त पहल गरिनेछ । दुबै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर–प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्न सरकारी तहमा ईन्सेन्टिभ प्याकेज र नीजि तथा व्यवसायीक तहमा सुलभ प्याकेजका लागि पहल गर्ने उल्लेख छ । पर्यटन विकास र प्रवद्र्दनका लागि भएका असल अभ्यास आदानप्रदान गर्नेलगायतमा पनि समझदारी भएको छ ।
त्यस्तै, पर्यटन प्रवद्र्दनका लागि समन्वय र सहकार्य गर्ने, हवाई भाडा सम्बन्धी विषयमा पनि आपसी सहकार्य र पहल गर्ने, संयुक्त पर्यटन दूत बनाउने पनि दुई प्रदेशबीच समझदारी भएको छ । दुबै प्रदेशले धार्मिक पर्यटन सर्किट विकास तथा प्रवद्र्दन गर्न आपसी समन्वय र सहकार्य गर्ने प्रतिबद्दता जनाएका छन् ।
जस अनुसार प्रथम चरणमा गण्डकी प्रदेशका मनकामना, मुक्तिनाथ र दामोदर कुण्ड तथा कोशी प्रदेशका पाथीभरा, बराहक्षेत्र र हलेसी लगायतका धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न पहलकदमी लिने सम्झौता पत्रमा उल्लेख छ । गण्डकी र कोशी प्रदेशबीच अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्दनका लागि सहकार्य गर्ने, दुवै प्रदेशका होमस्टेहरुबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने पनि सम्झौता भएको छ । समझदारी कार्यान्वयनका लागि ‘गण्डकी–कोशी पर्यटन प्रवद्र्धन समन्वय समिति’ गठन गरिनेछ, जसको संयोजक दुवै प्रदेशका पर्यटन मन्त्री पालैपालो रहनेछन् ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न दीर्घकालीन नीति र प्रदेशबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। कोशी प्रदेशका मन्त्री पराजुलीले भारतसँग नाका जोडिएको कोशी प्रदेशमा भारतीय पर्यटकको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले अन्तरप्रदेश सहकार्यबाट पर्यटन विस्तार हुने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराम ढकाल, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, कोशी प्रदेशको पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कृष्ण प्रसाद न्यौपान, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्डका पूर्व केन्द्रीय सदस्य वासुदेव त्रिपाठी, होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मणप्रसाद सुवेदी, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरिराम अधिकारी, चिया व्यवसायी तथा मुद्रा सटही व्यवसायी सङ्घका अध्यक्ष रूपकराज मिश्रलगायतले अन्तरप्रदेश पर्यटन प्रवद्र्धनको को लागि कनेक्टिभिटीमा जाेड दिनुपर्ने बताए । विगतमा पोखरा–भद्रपुर, पोखरा–विराटनगर तथा पोखरा–भरतपुर हवाई सेवा सञ्चालनमा रहे पनि हाल ती सेवा बन्द हुँदा एक प्रदेशबाट अर्को प्रदेश पुग्न पर्यटकलाई कठिनाइ भइरहेको भन्दै गुनासाे गरेका थिए ।
पोखरा, २९ पुस ।
मान्छेलाई रोग लागे उपचारको लागि अस्पताल लगिन्छ । व्यवसाय र उद्योगलाई रोग लागे के गर्ने ? त्यसको पनि खोजी भएको छ । पोखरामा मंगलबारबाट उद्यम क्लिनिकको विधिवत् सुरुवात गरिएको छ । उद्यममा देखिएका अवरोध वा रोग हटाइ स्वस्थ बनाउने सो क्लिनिकको काम हो ।
पोखरा महानगरपालिकाअन्तर्गत रहेको व्यवसाय प्रवद्र्धन केन्द्रले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा यो क्लिनिक सुरु भएको घोषणा गरेको हो ।
लगत्तै न्यूरोडका व्यवसायीको प्रतिनिधित्व गर्ने केपी शर्मा पाध्याको तर्फबाट व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नगराज अधिकारी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीलाई समस्याको जानकारीसहितको फाइल हस्तान्तरण गरे ।
व्यवसाय प्रवद्र्धन केन्द्रले यसअघि पनि सोही प्रकृतिको काम गर्दै आए पनि निजी क्षेत्रसँग अझ बढी सामिप्यता बढाउनको लागि यो क्लिनिक सुरु गरिएको केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान र व्यावसायिक वातावरणमा सघाउने विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको संचालन संघका महासचिव शोभा गौतमले गरेकी थिइन् ।
सो अवसरमा सो अभियानमा सहकार्य गरेको पोखरा रिसर्च सेण्टरका तर्फबाट सुजन रेग्मीले व्यवसाय प्रवद्र्धन केन्द्रले प्रवाह गर्ने सेवाबारे प्रस्तुति दिएका थिए ।





