२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

एजेन्सी, ०७ माघ  । 

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी ७ जनाको मृत्यु भएको छ ।

इमर्जेन्सी नामक मानवीय संस्थाकाअनुसार अस्पताल ल्याइएका २० जनामध्ये ७ जनालाई मृत घोषित गरिएको हाे । अफगानिस्तानका लागि संस्थाका राष्ट्रिय निर्देशक डेजन पानिकले घाइतेहरूमा चार महिला र एक बालक रहेको जानकारी दिनुभएको छ । उहाँले अधिकांश घाइतेहरूको शरीरमा गहिरो चोट लागेको र केहीको शल्यक्रिया भइरहेको बताउनुभएकाे छ।

गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले काबुलको एक रेस्टुरेन्टमा विस्फोट भएको पुष्टि गर्दै घटनाकाे बारेमा विस्तृत अनुसन्धान भइरहेको बताउनुभयाे । हालसम्म विस्फोटको जिम्मेवारी कुनैपनि समूहले नलिएकाे समेत उहाँले जानकारी गराउनुभएकाे छ ।

काठमाण्डौँ, ०७ माघ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक/एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन् । उहाँले निर्वाचन कार्यतालिकाअनुसार बिहीवार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक÷एक गरी जम्मा ५ वटा उजुरी परेको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।’

उहाँले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिनुभयो । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

 

 

 
पोखरा, ०७ माघ । 
 
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेश लगायतका समाग्री सहयोग गरिएको हो ।
 
बृद्धाश्रममा आज आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले समाग्री हस्तान्तरण गर्नुभएको हो । बृद्धाश्रमको सहयोगका लागि वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
 
राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा गर्नुुभयो ।
 
संस्थापक अध्यक्ष लिगलका अनुसार बृद्धाश्रममा विभिन्न जिल्लाका ३५ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
 
असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रय दिदै आएको बृद्धाश्रमको सञ्चालनलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारी निकायसँगै सामाजिक संघ संस्थाको निरन्तर सहयोग आवश्यक रहेको बृद्धाश्रम सञ्चालक समितिका सदस्य विष्णुबहादुर बस्नेतको भनाइ छ । 
 

पोखरा, ०७ माघ ।

प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेटमा माछापुच्छ्रेले गण्डकीलाई हराएको छ । पिएम कप राष्ट्रिय लिगको जिल्ला छनोटको रुपमा रहेको प्रतियोगितामा बुधबार माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबमाथि २२१ रनको फराकिलो जित हासिल गरेको हो ।

२७२ रनको विजयी लक्ष्य पाएको गण्डकी निरिह देखियो । २१.१ ओभरमा ५० रन बनाउँदै गण्डकीका सबै खेलाडी अलआउट हुन पुगे । श्रीराम प्रजापतिले ११ र विवेक अधिकारीले ९ बाहेक अन्य व्याटरले गतिलो रन बनाउन सकेनन् ।

माछापुच्छे्रका लागि रितेश बरालले ५.१ ओभरमा ३ मेडन राख्दै ७ रन खर्चेर ५ विकेट लिए । लक्ष्मण क्षेत्रीले ५ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए । भने रिदम पाण्डेले ६ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छे्रले ५० ओभरमा ५ विकेट गुमाउँदै २७१ रन जोड्यो । माछापुच्छे्रका लागि सुमित श्रेष्ठले शतकीय पारी संगै १५८ बलमा कुल १३० रन जोडे । प्रमोद बास्तोलाले २४ तथा दिपक माझिले २३ रन जोडे । गण्डकीका लागि स्रमाट अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान १÷१ विकेट लिए ।

खेलको प्लेयर अफ दि म्याच सुमित श्रेष्ठ घोषित भए । माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् ।

 

पोखरा, ०७ माघ ।

एनसेल छैटौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिता माघ ९ गतेदेखि सुरु हुने भएको छ। पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार खेल तालिका प्रकाशित गरेको हो । प्रतियोगिताको उद्घाटन खेल पर्सी (शुक्रबार) पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स बीच बिहान ११ बजे हुने आयोजकले जनाएको छ। महिलातर्फका खेलहरू पनि सोही दिनदेखि सुरु हुनेछन्। 

प्रतियोगितामा महिला र पुरुष दुवै तर्फका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहनेछ। खेलहरू राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन गरिनेछ भने लिग चरणपछि शीर्ष स्थान हासिल गर्ने टोलीहरूबीच प्लेअफ खेलमार्फत अन्तिम स्थान निर्धारण गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा महिला तर्फ नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ नेपाल एपीएफ क्लब टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब,त्रिभुवन आर्मी क्लब,थाइल्याण्ड क्वीन्स रहेका छन । भने पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघ,पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स रहेका छन ।

च्याम्पियन टोलीले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। सो पुरस्कार राशि महिला तथा पुरुष दुवै तर्फ समान प्रदान गरिनेछ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट खेलाडीहरूले नगद ११ हजार ६६६ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताका प्राविधिक संयोजक याम बहादुर गुरुङ रहेका छन्। CAVA रेफ्री कमिसन सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री कुन्दी अहमद सलीम र रेफ्री डेलिगेट तथा अन्तर्राष्ट्रिय रेफ्री तहल सिंह थापा निर्णायक भूमिकामा रहनेछन्।

गत वर्ष सम्पन्न पाँचौँ टाइगर कप पुरुषतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो भने महिलातर्फ एपीएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो।

काठमाडौं, ०७ माघ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो।

चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ। त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन परीक्षा सञ्चालन हुने छ।

२५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ।

पोखरा, ०७ माघ ।

पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छनभने भलिवल, यूनि हक्की र फुटवल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतीय भएका छन ।

पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले प्रथम भए । प्रतियोगितामा चन्द्र सूर्य क्लबका तोरण गुरुङ दोश्रो र नागमणी टोलका रिशाल गुरुङ र मितेरी टोल बिकास संस्थाका अमर खड्काले तृतीय स्थान हाँसिल गरे । पुरुष डबल तर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरि बहादुर आले र मन बहादुर सुनारको जोडी प्रथम, ठूलो मजुवा टोल बिकास संस्थाका क्या. कृष्ण बहाुदर गुरुङ र रमेश शाहीको जोडी दोश्रो र चन्द्र सूर्य क्लबका तोरण गुरुङ र रिम बहादुर कार्कीको जोडी र स्यानीपाटन टोल बिकास संस्थाका सुरज केसी र दर्पण श्रेष्ठको जोडी तेस्रो भए ।

प्रतियोगितामा महिला सिंगल तर्फ मितेरी टोलका चन्दा तामाङ छन्त्याल प्रथम, जनजागृति आमा समुहकी पुनम मल्ल दोस्रो र एकता आमा समुहकी लाली खाँड र प्रतिभाटोल आमा समुहकी लक्ष्मी पुन तेस्रो भए । महिला डबल तर्फ माछापुच्छ«े आमा समुही विमला तामाङ र जी माया रानाको जोडी प्रथम, एकता आमा समुहकी शुसिला पुर्जा र लाली खाँडको जोडी दोश्रो र स्यानीपाटन आमा समुहका बिनीता राना र सिर्जना गुरुङको जोडी र जनजागृती आमा समुहका पुनम मल्ल र टु माया गुरुङको जोडीले तेस्रो स्थान हाँसिल गरेको मितेरी टोल बिकास संस्थाका सचिव तथा ब्याडमिन्टन प्रतियोगिताका संयोजक पूर्ण बहादुर जिसीले जानकारी दिए ।

त्यसैगरी खेलकुद महोत्सवमा जनजागृति आमा समुह र एकता आमा समुह महिला भलिवलको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा जनजागृति आमा समुहले चेतना महिला कृषक समुहलाई ३–२ को सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । त्यसैगरी दोश्रो सेमी फाइनलमा एकता आमा समुहले संगम टोल महिला समुहलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

पुरुष तर्फको भलिवलमा गलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा गलेश्वर युवा क्लबले तल्लो नयाँगाउँ टोल बिकास संस्थालाई ३–२ सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बिहीबार चन्द्रसूर्य क्लब र स्यानी मजुवा टोल बिकास संस्था बीच दोश्रो सेमी फाइनलको खेल हुने छ । विद्यालय स्तरीय फुटवल तर्फ बुधवारको पहिलो खेलमा भ्यूप्वाइन्टले गोल्डेन फ्युचरलाई २–१ गोल अन्तरले पराजित गार्यो । दोश्रो खेलमा सिद्ध माविले रेन्वो एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

क्लब तथा टोल बिकास संस्था बिचको फुटवलमा स्यानी मजुवा टोल बिकास संस्थाले अलकाटोल बिकास संस्थालाई २–१ गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा दिब्यज्योती युवा क्लबले ठूली मजुवा टोल बिकास संस्थालाई ८–० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । महानगर विद्यालय स्तरीय यूनी हक्की प्रतियोगितामा छात्रछात्रा दुवै विद्याका खेलहरू अत्यन्तै रोमाञ्चक बनेका छन् । प्रतियोगिताअन्तर्गत सम्पन्न १० खेलमा फरक–फरक विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन ।

प्रतियोगिता अन्तर्गत छात्र तर्फको पहिलो खेलमा सेन्ट फ्रान्सिसले माउन्ट हेभेनलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा इमानुएल र नेपाल भारत मैत्री बीच ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपाल भारत मैत्रीले इमानुएललाई १–० ले पराजित गर्यो । महिला तर्फ सेन्ट फ्रान्सिसले एसओएस माथी ७–० को एकतर्फी जित निकाल्यो ।

छात्र तर्फको चौथो खेलमा खेलमा एसओएसले जनकीलाई २–० ले पराजित ग¥यो । छात्रा तफएको पाँचौ खेलमा खेलमा विभूति र सिद्धबीच २–२ को बराबरी भएपछि पेनाल्टीमा विभूति १–० ले विजयी बन्यो । छात्र तर्फको छैठौं खेलमा कालिकाले भ्यु पोइन्टलाई ६–२ ले हरायो । छात्रा तर्फको सातौं खेलमा पनि कालिकाले आफ्नो दबदबा कायम राख्दै थ्री एन्जेल मिशन स्कुललाई ३–० ले पराजित ग¥यो ।

पुरुषतर्फको खेलमा सुक्रराज वलभद्र र सेन्ट फ्रान्सिसबीच ४–४ को बराबरीपछि पेनाल्टीमा सेन्ट फ्रान्सिस १–० ले विजयी बन्यो । नवौँ खेलमा छात्रा तर्फ शुक्रराज बल भद्रले इमानुएललाई ५–० ले हरायो । बुधबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल भारत मैत्रीले राम आधारभुतलाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति देखाएको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए ।

पोखरा, ०७ माघ ।

पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । महोत्सवमा दर्शकको सहभागीता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन वढ्दै गइरहेको छ । महोत्सवमा राखिएको घरायसी सामाग्री, लत्ता कपडा, विभिन्न अर्गानिक खानाका परिकारका स्टल, कृषिका स्टल संगै वाल उद्यानतर्फ दर्शकको विशेष आकर्षण रहेको छ ।

महोत्सवमा दर्शकहरुलाई मनोरन्जन दिन हरेक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने गरेको छ । बुधवार महोत्सवमा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । शान्तारानी संगै बुधवार पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाल लगायत कलाकारहरूको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएभने जादुगर दीपक थापा मगरको जादु कलामा दर्शकहरुले मनोरन्जन लिए ।

साँझको लाइभ कन्सर्टमा रकहेड्सको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुती रहेको थियो । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बिहीबार अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ अस्मिना अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ ।

महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए ।

महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ ।

ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।

महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ । महोत्सवमा आयोजित छेलो प्रतियोगिताको फाइनल बिहीबार विहान ९ बजे हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

 

पोखरा, ०७ माघ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो ।मूल्य अभिवृद्धि कर ९भ्याट० मार्फत् राजश्व बढाउने नीति पारित भयो । नेपालको निजी क्षेत्र त्यसको विरुद्धमा थियो । उनीहरुले भ्याटविरुद्ध उभिन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई दबाब दिइरहेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए–पोखराका आनन्दराज मुल्मी । सरकारले लिएको उदारीकरणको नीतिलाई समर्थन गरेको महासंघ र अध्यक्ष मुल्मीलाई गाह्रो भयो । जिल्ला–जिल्ला र खासगरी ठूला व्यवसायीहरुले दिएको दबाबका कारण उनी तनावमा परे । आर्थिक विकासको लागि वैज्ञानिक कर प्रणाली कार्यान्वयनमा आउनुपर्छ भन्नेमा उनी प्रष्ट थिए । भ्याट भनेको व्यवसायीले तिर्ने नभइ संकलन गरेर राज्यलाई बुझाउने हो र त्यो दायित्व निभाउँदा निजी क्षेत्रमाथिको भरोशा बढ्छ भन्ने बुझे पनि दबाब झेल्न उनलाई कठीन भयो । देशैभरका उद्योग वाणिज्य संघहरु भ्याटको विपक्षमा हुँदा उनी पोखरा आए । आफ्नो मातृ संस्था पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष र पदाधिकारीलाई अवस्थाबारे जानकारी गराए । भ्याटको महत्वबारे बुझाए । त्यसपछि पोखरा उद्योग वाणिज्य संघ भ्याट कार्यान्वयनको पक्षमा उभियो । तर,सुधार र कार्यान्वयमा ल्याउन समय माग भयो । अन्ततः २०५४ साल मंसिर १ गते नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर ९भ्याट० कार्यान्वयनमा आयो ।

अहिले नेपालको मुख्य राजश्वको श्रोत नै भ्याट बनेको छ । नेपालका उद्योग वाणिज्य संघहरुमध्ये पहिलोपटक भ्याटको पक्षमा उभिएको पोखरा उद्योग वाणिज्य संघले बुधबार भ्याट के हो भन्नेबारे संचारकर्मीहरुलाई पनि जानकारी गरायो । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गर्दै एकदिने तालिमको आयोजना गरेको हो ।

‘भ्याट के हो र यसले राजश्वमा कति योगदान दिएको छ भन्ने कुरामात्र हैन, भ्याट कसरी तिर्ने,बिल–बिजक कसरी राख्ने अनि दण्ड–जरिवानाबाट कसरी बच्ने भन्ने कुरा पत्रकारले पनि थाहा पाउनुपर्छ भन्ने सोचेर तालिम आयोजना गरिएको हो,’आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भने,‘कतिपय अवस्थामा गलत सूचना जाँदा फलानो व्यवसायीले भ्याट छल्यो भन्ने अफवाहसमेत फैलिने गरेको छ । संचार जगतले भ्याटबारे जानकारी पाउँदा गलत समाचार आउँदैनन् भन्ने पनि हामीले ठानेका छौँ ।’

तालिमको उद्घाटन सत्रकी प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी सूचना दिनु र सही सूचना दिनु फरक कुरा भएको बताउँदै भ्याटबारे जानकारी राख्दा पत्रकारको दैनिक जीवनमा पनि त्यसले सघाउने बताइन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर आफैंमा जटिल विषय भए पनि आम नागरिकको चासोमा रहने हुँदा सरल तरिकाले यसबारे बुझाउनको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार तालिममा करिब ६५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । चार्टर्ड एकाउण्टेण्ट विवेक श्रेष्ठले सो तालिमको सहजीकरण गरेका थिए । संघकी महासचिव गौतमका अनुसार संघले इच्छुक संचारकर्मीको लागि दोस्रो चरणमा पनि भ्याटबारे तालिम दिने छ ।

पोखरा, ०७ माघ ।

पोखरा महानगरपालिका वडा नम्बर– ६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी संस्थाले पोखरा महानगर पालिका वडा नं– २५ मा रहेको मानवसेवा आश्रममा आश्रितहरूलाई बिहानको खाना खुवाएर सहकारीले स्थापना दिवस मनाएको हो ।

अध्यक्ष सूर्यनाथ पहारीले संस्थाले विगतका स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तरगत फेवा ताल सरसफाइरक्तदान कार्यक्रम का साथै विद्यालयमा न्यानो कपडा वितरण गरेका स्मरण गर्दैयो वर्ष आश्रममा निस्वार्थ भावले नानाखाना र छानाबाट वञ्चित भएका आश्रममा रहने बेसहाराहरूको सम्मानस्वरूप बिहानको भोजन गराउन पाएको खुशी व्यक्त गरे ।  

मानव सेवा आश्रम हेम्जाका व्यवस्थापन समितिमा प्रमुख रामजी अधिकारीले संस्थाको स्थापना दिवसका अवसरमा आश्रममा आश्रित परिवारलाई खाना खुवाएर असल कर्म गरेको भन्दैउनले कार्यक्रम सफलताको शुभकामना संगै धन्यवाद दिए । असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । सहकारीले आश्रममा आश्रित १ सय ९० जनालाई बिहानको खाना खुवाएको थियो । कार्यक्रममा उपाध्यक्ष सुन्दरराज पहारी सचिव कृष्ण कुमारी पौडेल र कोषाध्यक्ष बैकुण्ठ तिमिल्सिना लगायत संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।