२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

शुक्रबार सविन राईको प्रस्तुती रहने
पोखरा, ०८ माघ ।

पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९ मिटर छेलो फाल्दै तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमश नगद ४०, २५ र १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बिजयीहरुलाई महोत्सव आयोजक युुनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिति सदस्यहरु गणेश खड्का, सन्तोष कार्की, प्रतियोगिताका संयोजक गज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

अन्तिम चरणमा कास्की, पर्वत, स्याङ्जा र लमजुङ लगायत जिल्लाका ८ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई प्रतिभा प्रकट गर्ने अवसर मिल्नुका साथै परम्परागत खेलको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अन्जुली बो.ई., सूर्योदय इ.बोे.ई. कास्की मोडनाइज्ड, शोसल पब्लिक स्कुल र अमरसिंह मावि (ई) फाइनलमा प्रवेश गरेका छन । र आयोजकको वाइल्ड कार्डबाट विभूती शिक्षा सदन फाइनलमा प्रवेश गरेको छ । फाइनल राउण्ड माघ १० गते हुने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सव दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमे ।

महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर र साँझको लाइभ ब्याण्डमा सबिन राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा, ०८ माघ ।

पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपभुन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिवभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद भीम कार्कीले सामुदायिक विद्यालयको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । कालिकाले शैक्षिक क्षेत्रमा गरेको उन्नतिको प्रशंसा गर्दै कार्कीले आफ्नो तर्फबाट विद्यालयका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहने प्रतिबद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयासमा लागिरहेको जानकारी दिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, शिक्षक अभिभावक सङ्घका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र शिक्षक गङ्गाराम विश्वकर्मालाई ‘कालिका वर्ष सम्मान २०८२’ प्रदान गरिएको थियो । त्यसै गरी विद्यालयमा अक्षयकोष खडा गर्ने १४ जना अक्षयकोषदाताहरू, एसइई २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू र विद्यालयलाई सहयोग गर्ने १४ जना पूर्वविद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, अक्षयकोषका संस्थापक दिनेश आचार्य, शिशुकल्याण माविका प्रधानाध्यापक सुदन पौडेल, सामाजिक परीक्षण समितिका सदस्य महेन्द्रकुमार श्रेष्ठ, विद्यार्थी कृतिका केसीलगायतले शुभकामना दिएका थिए । सो अवसरमा अतिरिक्त क्रियाकलाप र शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पूर्वअध्यक्ष सोमबहादुर गुरुङ, गङ्गाबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, हिरामान श्रेष्ठ, पूर्वप्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य ज्योति गुरुङ, खिमबहादुर खत्री, शिक्षक अभिभावक सङ्घका सदस्य कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बालकुमारी थापा मगर, शिक्षक विश्वराज बास्तोला र यज्ञबहादुर बानियाले गरेका थिए ।

 

 

पोखरा, ०८ माघ ।

गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्कीले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा २६ को नमस्ते प्यार्टी प्यालेसमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संयुतm राष्ट्र संघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउनका लागि अपनाउनु पर्ने तरिकाहरु, प्रगतिका बाधकहरु र तिनका समाधानका उपायहरु समेत वताउँदै अभिमुखीकरण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाई प्रकृयालाई कसरी थप प्रभावकारी कसरी बनाउने भन्ने वारेमा मन्तव्य दिएका थिए ।

नेसनल प्याव्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी,केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले शुभकामना दिएका थिए । इच्छुक सहभागीहरुले आआफ्ना प्रतिक्रिया राखेका थिए । कार्यक्रम सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए भने अध्यक्ष रोशन कोइरालाले कार्यक्रम माथि प्रकाश परेका थिए । उक्त अवसरमा नयाँ सदस्य विद्यालयहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो

पोखरा, ०८ माघ ।

एसोसियसन अफ एलायन्स क्लव अन्तर्राष्ट्रियका प्रेसिण्डेन्ट राजकुमार सक्सेनासहितको टोली पोखरा आएको छ । शुक्रबार पोखरामा हुने क्लव डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ सहित पदस्थापन कार्यक्रममा सहभागि हुन प्रेसिण्डेन्ट सक्सेना, फाउण्डर प्रेसिण्डेन्ट तिरुपति वुढाराजु, भाईस प्रेसिण्डेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलका डिष्ट्रिक गभर्नर उषरानी अटलुरीसहितको टोली बुधबार साँझ पोखरा आईपुगेको क्लवका प्रचार संयोजक पोषराज पौडेलले जानकारी दिए ।

टोलीलाई पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा प्रस्तावित डिष्ट्रिक १०५५ का प्रस्तावित डिष्ट्रिक गर्भनर थिरबहादुर थापा,भाईस डिष्ट्रिक गर्भनर डा लक्ष्मण तिमिल्सीना, सिष्टर क्लवका चार्टर प्रेसिडेण्ट कल्पना थापा, चार्टर प्रेसिडेण्ट तारा पोखरेल, सिटी चार्टर प्रेसिडेण्ट कुन्दनराज शर्मा, घनश्याम ढुंगाना, शंकर खत्री, हरिबहादुर थापा, तोयानाथ अधिकारी लगायतले स्वागत गरे । टोलीले बिहीबार पोखराका महत्वपुर्ण पर्यटकीय र धार्मिक स्थलको भ्रमण गर्यो ।

अन्तराष्ट्रिय प्रेसिण्डेन्ट सक्सेनाले पोखरा पर्यटनको अद्भुत शहर भएको बताउँदै, एउटै स्थलमा प्राकृतिक, धार्मिक र साँस्कृतिक विविधता पाउनु र त्यसको अवलोकन गर्न पाउँदा खुशी लागेको बताए । उनी सहितको टोलीले गरेको भ्रमणले पोखराको पर्यटन पर्वद्धनमा सघाउ पुर्याउने विश्वास क्लवले लिएको बताईएको छ । भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको यस क्लवको पोखरामा शुभारम्भ सहित पदस्थापन हुन लागेको डिष्ट्रिक गभर्नर थापाले जानकारी दिए ।

शुक्रबार पस्र्याङ स्थित ताज महल ईभेन्ट सेन्टरमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र पोखरा बाहिरका सदस्य पनि पोखरा आई पुगेको डिष्ट्रिक गभर्नर थापाले बताए ।यो नेपालमा पहिलो पुर्ण डिष्ट्रिक हुने उनले जानकारी दिए । कार्यक्रममा काठमाण्डौं, तनहुँ,कास्की लगायतका क्षेत्रबाट एलायन्स सदस्यले सहभागिता जनाउने छन् । पोखरामा पहिलो पटक गठन भएको सो क्लवलाई डिष्ट्रिक १०५ साउथ मल्टिपल स्पोन्सर गरेको छ ।

मानविय तथा सामाजिक कार्यमा क्रियाशील क्लवको यस डिष्ट्रिक मार्फत पोखरामा करिव ४० वटा क्लव गठन गरिने पोखरा सिटी चार्टर प्रेसिडेण्ट कुन्दनराज शर्माले जानकारी दिए । क्लवले भारतका विभिन्न ठाउँमा जेष्ठ नागरिक केन्द्र, क्यान्सर केयर हस्पिटल, बालबालिका हेरचाह केन्द्र लगायतका सामाजिक सेवा संचालन गरेको छ ।

पोखरा, ०८ माघ

स्पेनमा पाँच महिना अघि भएको सडक दुर्घटनामा परि दिवंगत भएका भोजपुर निवासी स्व.पदम घिमिरेको परिवारको सहयोगका लागि नेपाली समाज दोनोस्ती पाइसभास्कोको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम सहयोग गरिएको छ ।

सन् २०२५ अगस्ट २६ तारिख स्पेनको आलबाथेते क्षेत्रमा भएको सडक दुर्घटनामा परि पदम घिमिरेको निधन भएपछि उहाँको परिवार आर्थिक रूपमा निकै कठिन अवस्थामा पुगेको छ । यही अवस्थालाई मध्यनजर गर्दै दोनोस्ती समाजले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो।

संकलित रकममध्ये नेपाली रुपैयाँ १ लाख ४ हजार ४५ रुपैयाँ स्व. घिमिरेकी आमा टिका (सिता) कुमारी घिमिरेको नाममा समाजका अध्यक्ष अशोक रुम्बा लामाले बैंक खातामार्फत जम्मा गरिदिनु भएको हो।

सहयोग प्राप्त गरेपछि पदमकी आमा सिता कुमारी घिमिरेले नेपाली समाज दोनोस्ती परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दै सहयोग अभियानमा जुट्ने सबैप्रति आशीर्वाद प्रकट गर्नुभयो। “सात समुद्रपारि रहे पनि नेपालीको दुःखमा यसरी साथ दिनु अत्यन्तै उदाहरणीय कार्य हो,” उहाँले भावुक हुँदै भन्नुभयो। उहाँका अनुसार पदम घिमिरेका पिता विगत एक दशकदेखि बिरामी हुनुहुन्छ । पछिल्ला चार वर्षयता उहाँको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको र हाल अक्सिजनको सहायतामा घरमै उपचार तथा स्याहार आवश्यक रहेको छ । समय–समयमा चिकित्सक घरमै पुगेर उपचार गर्दै आउनु भएको छ । दुई छोरामध्ये एकलाई विदेशमै गुमाउनु परे पनि अर्को छोराको साथमा यस्तै सहयोगी हातबाट श्रीमानको औषधोपचार भइरहेको उहाँले बताउनुभयो।

नेपाली समाज दोनोस्ती पाइसभास्कोका अध्यक्ष अशोक रुम्बा लामाले विदेशमा बसेर नेपालीहरूले दिनको ८–१० घण्टा श्रम गरेर आर्जन गरेको आम्दानीको केही अंश नेपालमा दुःखमा परेका नेपाली परिवारलाई सहयोग गर्नु नै आफ्नो कर्तव्य भएको बताउनुभयो। “यस्ता मानवीय अभियानले समाजमा एकता र सहानुभूतिको भावना अझ बलियो बनाउँछ,” उहाँले भन्नुभयो। उक्त सहयोग संकलन अभियानमा जुट्नुहुने प्रति अध्यक्ष लामाले धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्नुभयो ।

सडक दुर्घटनामा अकालमै ज्यान गुमाएका पदम घिमिरेको परिवारलाई दोनोस्ती समाजबाट गरिएको यो सहयोगलाई मानवीय संवेदनशीलता र प्रवासी नेपालीको सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्यका रूपमा लिइएको छ ।

 

 

पोखरा, ०८ माघ ।

शारीरिक र मानसिक रूपमा स्वस्थ हुनका लागि पोखरामा ‘आर्ट अफ लिभिङ’ द्वारा आनन्द उत्सव कार्यक्रम शुरु भएको छ । वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेको प्रशिक्षणमा संचालित श्वासप्रश्वास, ध्यान र आत्मचिन्तनमा आधारित कार्यक्रमले सहभागीहरूलाई तनाव व्यवस्थापन, मानसिक शान्ति र सकारात्मक जीवन दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याउने प्रशिक्षक पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो “विशेषगरी सुदर्शन क्रिया, ध्यान र योग अभ्यासमार्फत मानिसलाई आफ्नै भित्री शक्तिसँग जोड्ने यो कार्यक्रम केन्द्रित छ ।” 

सहभागीहरूले दैनिक जीवनमा देखिने चिन्ता, निराशा, क्रोध  कम भएको अनुभूति गर्दै आत्मविश्वास र भावनात्मक सन्तुलन बढेको प्रतिक्रिया दिएको संस्थाका गण्डकी प्रदेश प्रशिक्षक संयोजक  सौमाया गुरुङ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बाट शनिबासम्म चारदिन संचालन हुने यस कार्यक्रममा विभिन्न पेशा, उमेर र पृष्ठभूमिका ८५ जना सहभागीहरूको सक्रिय सहभागिता छ ।

‘आर्ट अफ लिभिङ’ले विश्वभर तनावमुक्त व्यक्ति र सद्भावपूर्ण समाज निर्माणको अभियान चलाउँदै आएको छ। पोखरामा भइरहेको यो कार्यक्रमले शहरको व्यस्त जीवनशैलीबीच आत्मिक सन्तुलन खोज्नेहरूका लागि प्रभावकारी विकल्प बनेको आयोजकको   भनाइ छ ।

यसैबीच सस्थाले बिहीबारबाटनै “सहज समाधी” ध्यान सम्बन्धि तीन दिने कार्यक्रम पनि सुरु गरेको छ ।

पोखरा, ०८ माघ ।

पोखराको नागढुङ्गा आमा समूह २५ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा समुहले केक काटेर जयन्ती मनाएको छ । समूहका पूर्व अध्यक्षहरू पवित्रा गिरी, कमला गिरी, कमला केसी बोगटी, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, समूहका सल्लाहकार दुर्गाराज गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदी, नागढुङ्गा आमा समूहका संस्थापक सनमाया गुरुङ लगायतले संयुक्त रूपमा केक काटेर शुभकामना साटासाट गर्दै रजत जयन्ती मनाएका हुन् ।

रजत जयन्ती मनाउने क्रममा संस्थाले समूह स्थापना गर्दादेखि अहिलेसम्मका आरोह अवरोह स्मरण गरे । संस्था स्थापनामा स्वर्गीय गणेशमान पालिखे, स्व.भगवती राजभण्डारी, स्व.इमा गिरी लगायतले पु¥याएको योगदानको चर्चा गरियो । त्यसैगरी समूहका संस्थापक अध्यक्ष पवित्रा गिरीले संस्था स्थापना गर्दाका संघर्षहरूको स्मरण गर्दै स्थापना कालमा आफूहरूसँग हातेमालो गर्नुहुने समाजसेवी गुरुदत्त लामिछाने, मनुमाया लामिछाने, स्व.खिना लामिछाने लगायतको योगदान स्मरण गर्नुभयो ।

समूहका निवर्तमान अध्यक्ष कमला केसी, लक्ष्मी गिरी लगायतले आफ्ना कार्यकालमा भए गरेका गतिविधिको चर्चा गर्दै बर्तमान कार्यकालसँगै आगामी दिनहरूमा आमा समूहको यात्रा गतिशील बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जनप्रतिनिधि वडा ९ का सदस्य नन्दराम गिरीले नागढुङ्गाको ओरालो, भिरालो खेर गएको टुक्रो जमिनको उचित संरक्षण गर्दै आमा समूहले सुविधायुक्त भवन निर्माण गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । समूह यो अवस्थासम्म आइपुग्दा सहयोग गर्ने विभिन्न सहयोगीहरूलाई उहाँले कृतज्ञता जाहेर गर्नुभयो ।

संस्थाका अध्यक्ष कमला श्रेष्ठले आफूलाई यस समूहमा आबद्ध गराउन प्रेरणा प्रदान गर्नुभएका सनमाया गुरुङलाई धन्यवाद ज्ञापन गर्दै विगत लामो समयदेखि यो समूहमा आफ्नो आबद्धता र हालसम्मका क्रियाशीलताका बारेमा प्रकाश पार्नुभयो । आगामी दिनहरूमा समूहका सबै सदस्य एवं टोलका समाजसेवीहरूसँग हातेमालो गर्दै संस्थालाई एकताबद्ध तरिकाले अगाडि बढाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

यसैबीच रजत जयन्ती समारोहकै अवसरमा समूहले अक्षय कोष स्थापनाको घोषणासमेत गरेको छ । अक्षय कोषका लागि एयरपोर्ट टोल विकास संस्थाका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी श्यामबहादुर श्रेष्ठले नगद रु. १० हजार प्रदान गर्दै अक्षय कोषको सुरुवात गर्नुभयो । समारोहमा आमा समूहका संस्थापक अध्यक्ष पवित्रा गिरी, संस्थापक सदस्य सीता गिरी, वडा सदस्य नन्दराम गिरीले पनि अक्षय कोषका लागि जनही पाँच÷पाँच हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।

सोही समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ९ ले आयोजना गरेको तथा नागढुंगा आमा समूहले संयोजन गरेको धुप बनाउने दुई दिने तालिमका प्रशिक्षक गीता पगेनीलाई धन्यवाद सहित सम्मान गरिएको थियो । तालिममा समूहका झण्डै दुई दर्जन महिला सदस्यले सहभागिता जनाएका थिए । समूहका सचिव पुष्पा गिरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीमा लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

पोखरा, ०८ माघ ।

पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ ।

बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको हो ।

त्यसैगरी टोल तथा क्लव स्तरीय फुटवलमा स्यानी मजुवा टोल बिकास संस्था बसुन्धरा मार्ग दिब्यज्योती क्लब फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोह अगाडी आयोजना गरिने खेलुकद कार्यक्रमका संयोजक आशीष भण्डारीले जानकारी दिए ।

विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा सेंट फ्रान्सिसको दबदबा

महानगर स्तरको विद्यालयस्तरीय यूनी हक्की प्रतियोगिताअन्तर्गत सम्पन्न सेमिफाइनल, तेस्रो स्थान तथा फाइनल खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेंट फ्रान्सिस विद्यालयले उपाधि जित्न सफल भएको छ ।

छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा विभूति विद्यालयलाई ४–२ गोलले हराउँदै सुकराज बालभद्र विद्यालय फाइनलमा प्रवेश ग¥यो ।

छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिमाथि ५–० को फराकिलो जित हात पार्दै तेस्रो स्थान सुरक्षित ग¥यो । फाइनल खेलमा सेंट फ्रान्सिसले सुकराज बालभद्र विद्यालयलाई ५–१ गोलले पराजित गर्दै छात्रातर्फको उपाधि जित्यो ।

छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८–० को एकतर्फी जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । दोस्रो सेमिफाइनल खेलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९–४ गोलले पराजित ग¥यो ।

छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल ग¥यो। फाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यसैगरी पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल बिकास संस्थाका क्या. याम बहादुर राना प्रथम भए । घलेचोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा रानाले ५ मिनेट, ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पार गरेका थिए । त्यसैगरी दौडमा तल्लो नयाँगाउँ टोल बिकास संस्थाका क्या. ठाकुर बहादुर थापा मगरले निर्धारित दुरी ५ मिनेट १५ सेकेण्ड ४६ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । त्यसैगरी निर्धारित दुरी ५ मिनेट १७ सेकेण्ड ७६ मिलिसेकेण्डमा पार गर्दै कोलपाटन टोल बिकास संस्थाका ओम बहादुर खोर्जाले तृतीय स्थान हाँसिल गरे । दौडमा गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँ टोल बिकास संस्थाका तिल बहादुर रानाले शान्तवना स्थान हाँसिल गरे ।

त्यसैगरी महिला तर्फको सडक दौडमा जन जागृती आमा समुहकी पोम कुमारी बुढा प्रथम भए । ट्याक्सी चोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा बुढाले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पार गर्दै महिला तर्फको दौडको उपाधि हात पारेकी हुन ।

त्यसैगरी एकता आमा समुहकी मन माया रानाले निर्धारित दुरी ३ मिनेट १२ सेकेण्ड ८३ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरिन । स्यानी मजुवा आमा समुहकी बसन्ती आलेले निर्धारित दुरी ३ मिनेट २० सेकेण्ड ६६ मिलिसेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँसिल गरिन । संगम टोल महिला समुहकी रुपा बरुवाल र जनजागृती आमा समुहकी मिना कुमारी थापाले शान्तवना स्थान हाँसिल गरिन ।

त्यसैगरी क्लव तथा टोल बिकास संस्था बीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा चन्द्र सूर्यले २५–१८, २५–१६ र २५–१६को सेटले गलेश्वर युवा क्लबलाई पराजित गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए ।

त्यसैगरी शहरी स्वास्थ्य केन्द्र पोखरा १५ मा आयोजित क्षयरोग सम्बन्धी ए आई एक्सरे जाँचमा ३ सय ८६ जनाले परीक्षण गरेका छन । जस मध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जना सम्भावितको खकार जाँचको लागि लगिएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन । थापाका अनुसार उक्त जाँचमा पोखरा १५, ७ र ९ नम्बरका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

पोखरा, ०८ माघ ।

२६ औँ संस्करणको आदर्श कपको तयारी पुरा भएको छ। माघ ९ देखि १६ गतेसम्म लेखनाथको फुटबल खेल मैदानमा हुने आदर्शको कप फुटबल प्रतियोगितामा कुल आठवटा टिमले सहभागी भएका छन्।

आयोजक आदर्श क्लब, कास्की जिल्ला फुटबल सङ्घ, नेपाल प्रहरी गण्डकी, गन्नी फुटबल क्लब पर्वत, एन्फा तनहुँ, होराइजन क्लब स्याङ्जा, म्याग्दी खेलकुद विकास समिति, सशस्त्र प्रहरी बल गरी आठ टिमले सहभागी भएका छन् ।

फस्ट च्वाइस फुड ( first choice food’s ) प्रालीको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा विजेताले नगद रु ५ लाख र उपविजेताले नगद रु ३ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

क्लबका अध्यक्ष पदम गुरुङका अनुसार पहिलो दिन कास्की जिल्ला फुटबल सङ्घ र नेपाल प्रहरीबीचमा खेल हुने र उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दिउँसो १ बजे गर्ने कार्यक्रम रहेको बताएका छन्।

पोखरा, ०८ माघ ।

एनसेल छैटौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिता भोलि माघ ९ गतेदेखि सुरु हुने भएको छ। पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको  सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजकले सो बारे जानकारी गराएको हो । आयोजकले खेल तालिका सार्वजनिक गरिएको जनाएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने सो प्रतियोगितामा यस पटक ११ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए । उनले  खेल तालिका बुधबार नै प्रकाशित गरिएको जनाउदै प्रतियोगिताको उद्घाटन खेल शुक्रबार पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स बीच हुने जनाए । खेल बिहान  ९ बजेदेखि नै सुरु हुने र उदघाटन समारोह दिउँसो १ बजे हुने अध्यक्ष शर्माले बताए ।  यस पटक दर्शकको सुविधालाई मध्यनजर गर्दै गत वर्षको तुलनामा अस्थायी प्याराफिट बढाएर निर्माण गरिएको आयोजकले जनाएको छ ।

महिलातर्फका खेलहरू पनि भोलिदेखि नै सुरु हुनेछन्। प्रतियोगितामा महिला र पुरुष दुवै तर्फका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहनेछ। खेलहरू राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन गरिनेछ भने लिग चरणपछि शीर्ष स्थान हासिल गर्ने टोलीहरूबीच प्लेअफ खेलमार्फत अन्तिम स्थान निर्धारण गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा महिला तर्फ नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ नेपाल एपीएफ क्लब टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब,त्रिभुवन आर्मी क्लब,थाइल्याण्ड क्वीन्स रहेका छन । भने पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघ,पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स रहेका छन ।

च्याम्पियन टोलीले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। सो पुरस्कार राशि महिला तथा पुरुष दुवै तर्फ समान प्रदान गरिनेछ। यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट खेलाडीहरूले नगद ११ हजार ६६६ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताका प्राविधिक संयोजक याम बहादुर गुरुङ रहेका छन्। CAVA रेफ्री कमिसन सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री कुन्दी अहमद सलीम र रेफ्री डेलिगेट तथा अन्तर्राष्ट्रिय रेफ्री तहल सिंह थापा निर्णायक भूमिकामा रहनेछन्। गत वर्ष सम्पन्न पाँचौँ टाइगर कप पुरुषतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो भने महिलातर्फ एपीएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।