२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

जापान, १९ माघ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पु¥याएपश्चात्, नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको छ भन्नुभयो ।

“नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गरिसकेको छ, हामी उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आमन्त्रण गर्न चाहन्छौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आजको यो कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँस्तरमा पु¥याउन र आगामी वर्षहरूमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन जनता–जनताबीचको सम्पर्कलाई समेत समेटेको र यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत् थप सुदृढ हुँदै गएको उहाँको भनाई थियो ।

“नेपाल र जापानबीच विशेष गरी भगवान बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवनपद्धतिमा समानता छ, बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ, विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताउनुभयो । यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धी हुने प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो । “त्यसैले, हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकोमा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । “साहसिक पर्यटन, समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानीले हाम्रो देशको भ्रमण गरिरहेका छन्, नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

जापान नेपाली युवा र विद्यार्थीहरूको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकोमा जापानप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

“हाम्रा दुई मुलुकले सौहार्दपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात गरेका छौं, सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखिनै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँनुभयो ।

काठमाडौं, १९माघ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनासहित विभिन्न कारणले ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको हो । हटाइएकामध्ये प्रदेशसभा बन्दसूचीमा नाम कायम भएका २५ जना छन् भने आयोगको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि हटाइएको छ ।

यस्तै, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको कोटामा पुरुष उम्मेदवार पेश गरिएको १, राजनीतिक दलको अनुरोधमा हटाइएका १० तथा अन्य कारणबाट २ जनाको नाम सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

यससम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको पनि आयोगले जनाएको छ ।

एजेन्सी,१९माघ । 

रुसले पूर्वी युक्रेनमा गरेको ड्रोन आक्रमणमा परी १५ जना मजदुरको ज्यान गएको छ।

युक्रेनको सबै भन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईके र आपतकालीन सेवाले आइतबार ड्निप्रोपेट्रोभ्स्क क्षेत्रमा काम सकेर फर्किएका मजदुर चढेको बसलाई लक्षित गरी आक्रमणमा भएको जनाएका हुन् । सोही आक्रमणमा अन्य ७ जना घाइते भएका छन्। शुरुमा मृतकको सङ्ख्यामा केही अन्योल देखिए पनि सरकारी निकायले १५ जनाकै मृत्यु भएको पुष्टि गरेको छ। आइतबारै भएका अन्य फरक(फरक आक्रमणमा थप दुई जनाको पनि मृत्यु भएको हो । दर्जनौँ मानिस घाइते भएका छन्।

अस्पताल र सर्वसाधारण निशानामा रुसी फौजले झापोरिझियास्थित एक प्रसूति अस्पताललाई समेत निशाना बनाएको छ। प्रसूति अस्पताल नम्बर ३ मा भएको उक्त ड्रोन हमलामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा बच्चा जन्माइरहेका दुई सुत्केरी महिला समेत छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा अस्पतालका झ्यालका सिसा फुटेका, कोठाहरूमा भग्नावशेष थुप्रिएको र अग्नीनियन्त्रकहरूले बिरामीलाई उद्धार गरिरहेको दृश्य देखिन्छ।

पोखरा, १९ माघ ।

पोखरामा जारी दक्षिण एशियाली खेलकुद महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिप अन्तरगत आज भएको खेलमा भुटान नेपालसङ २-१ ले पराजित भएको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको खेलमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको हो ।

नेपालको जितमा सृजना बडुवाल र प्रजिता राईले एक- एक गोल गरे । खेलको ३६औं मिनेटमा सृजना बडुवालले  पहिलो गोल गर्दै अग्रता दिलाइन । त्यस्तै खेलको ६९औं मिनेटमा  प्रजिता राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन ।

खेलको ८७औं मिनेटमा भुटानको तर्फबाट सोनम चोडेले गोल गर्दै २-१ ले अग्रता घटाइन । भने खेल अवधिभर निकै दवाबमा राखेको नेपालले धेरै अवसरहरु गुमाएको थियो ।

च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसङ १ गोलअन्तरले पराजित भएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा भातर बङ्गलादेश सङ २ गोलअन्तरले पराजित भएको थियो । भने  च्याम्पियनसिपमा बङ्गलादेशले अपराजित यात्रा कायम गरेको छ । २ खेल खेलेको बङ्गलादेशले यसअघि भएको खेलमा भुटानलाई १२ गोल अन्तरले फराकिलो जित निकालेको थियो ।

सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् । माघ २४ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपाल, इण्डिया, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।

प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा च्याम्पियनसिप पहिलाे पटक माघ १७ गतेदेखि पाेखरामा सुरु भएकाे प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।

पोखरा, १९ माघ ।

पोखरामा जारी दक्षिण एशियाली खेलकुद महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिप अन्तरगत आज भएको पहिलो खेलमा भारत बाङ्गलादेशसङ २-० ले पराजित भएको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको खेलमा बङ्गलादेशले भारतलाई २-० ले पराजित गरेको हो ।

बङ्गलादेशको जितमा अर्पिता बिष्ट अर्पिता र अल्पि अक्तरले एक, एक गोल गरे ।

खेलको २९ औं मिनेटमा अर्पिता बिष्ट अर्पिताले पहिलो गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन । त्यस्तै, खेलको ४०औं मिनेटमा बङ्गलादेशको तर्फबाट अल्पि अक्तरले गोल गर्दै भारतबिरुद्द अग्रता दोब्बर पारिन ।

खेलको दोस्रो हाफमा दुबै पक्षबाट गोल हुन सकेन ।  निकै प्रतिस्पर्धात्मक खेलमा केही अवसरलाई दुबै टिमले  गोलमा परिणत गर्न चुकेका थिए ।

च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । यसअघि भएको आफ्नो पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो ।

बंगलादेशी प्रशिक्षक पिटरजेम्स बटलरले खेलाडीहरुले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए ।

सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् । माघ २४ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपाल, इण्डिया, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।

प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा च्याम्पियनसिप पहिलाे पटक माघ १७ गतेदेखि पाेखरामा सुरु भएकाे प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।

पोखरा, १९ माघ ।

यहि माघ २७ गतेदेखि पोखरामा सुरु हुने २५औँ आहा! रारा पोखरा गोल्ड कप  फुटबल प्रतियोगितामा ४ विदेशी सहित १२ टिमको  सहभागिता हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुँदै छ ।

क्याराभान गोल्डबाट सुरु भएको प्रतियोगिता २५औँ संस्करणमा आइपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता बनेको र यो पटक विषेश हुने आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर जनाएको छ।

“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ” भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिताको २५औँ संस्करणमा पुरस्कार राशीमा वृद्धि गरिएको प्रतियोगिता स्योजक पूर्णबहादुर गुरुङले बताए । उनले २५औँ संस्करणलाई थप आकर्षक बनाउन र पोखरा पर्यटन वर्ष २०२५–२६ को प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेलहरू सञ्चालन गरिने बताए । 

प्रतियोगितामा विदेशी ४ टिमको सहभागिता रहने छ । जसमा भारतसहित सिक्किम, हङकङ, उज्वेकिस्तान र नेपालका क्लबहरू सहभागी हुनेछन्।
सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब,चर्च ब्वाइज युनाइटेड,मनाङ मर्स्याङ्दी क्लब नेपाल ए.पी.एफ. क्लब,प्लानिङ ब्वाइज युनाइटेड,जावलाखेल युथ क्लब,थन्डरबोल्ट नर्थ युनाइटेड, सिक्किम (भारत),मछिन्द्र फुटबल क्लब,गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ,भारतको एक टोली,आभा फुटबल क्लब, उज्वेकिस्तान र आयाेजक सहारा सहारा क्लब पोखरा रहेका छन ।
 
प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहनेछ।

पोखरा, १९ माघ ।

नेपाली कम्युनिष्ट पार्टीबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ रुपा गाउँपालिकाका मतदाताको घरदैलोमा पुगेका छन् । सोमबार उनले रुपा ७ हंशपुरका स्थानीयसंग उनले भेटघाट गरेका हुन् । भेटघाटका क्रममा स्थानीयले राष्ट्रिय राजनीति र स्थानीय स्तरमा हुन नसकेको विकास निर्माणको बारे खुलेर बोलेका छन् ।

स्थानीय ७० वर्षीय बलराम सुवेदीले जेनजी आन्दोलन पछि दुई पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपालले राम्रो भूमिका खेल्दा लोकतन्त्र जोगिएको बताए । उनले तत्कालिन सत्तामा रहेका एमाले र कांग्रेसको भूमिकाका कारण देशमा समस्या आएको बताउँदै उनले अबको निकास नेकपाले मात्रै दिन सक्ने निश्कर्ष सुनाए । ‘नयाँहरुले अहिलेको पस्थिति पार लगाउन सक्दैनन् । कांग्रेस एमालेले देशलाई यो अवस्थामा ल्याए । अब यहाँहरु (नेपाली कम्युनिष्ट पार्टी) को विकल्प देखिएन । भोट यहाँहरुलाई नै दिने हो’ उनले भने ।

अर्का ७० वर्षीय कृष्णप्रसाद सुवेदीले आफ्नो गाउँ विकास निर्माणमा पछि परेको भन्दै दोवानखोला पुल बने र काउरे–धारापानी बाटो निर्माण भए स्थानीयले धेरै सुविधा पाउने बताए । नेकपा उम्मेदवार राजकाजी गुरुङ अनुभवी र जनतासंग भिजेको नेता भएकाले आफूहरुका अपेक्षा पूरा हुने आशा र भरोसा रहेको उनको भनाई थियो ।

स्थानीयका गुनासा टिप्दै उमेदवार राजकाजी गुरुङले आफू यस अगाडि कास्की १ को जनप्रतिनिधि नभएपनि विकास र योजनामा साथमै रहेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारमा वर्षमान पुन अर्थभन्त्री भएका बेला उनको सल्लाहकार भएरै काम गरेको र कास्की १ मा विभिन्न योजना ल्याएको स्मरण गराए । आफू जस्तोसुकै परिस्थितिमा पनि जनताको साथमा रहने बाचा गरेका उनले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र आफूलाई हेरेर तारा चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।

उम्मेदवार गुरुङ सोमबार रुपा गाउँपालिका स्थित वडा नम्बर ७ र वडा नम्बर १ का विभिन्न स्थानमा नेकपाका नेता गण्डकी इञ्चार्ज श्रीनाथ बराल, समानुपातिक उम्मेदवार सोमती गुरुङ, दिलकुमारी पन्तलगायतका नेता तथा कार्यकर्ताको साथमा घरदैलामा पुगेका छन् ।

केही निष्क्रिय व्यक्ति अन्य पार्टीमा प्रवेश गर्दा नेकपालाई असर पर्दैन ः संयोजक हमाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही निष्क्रिय व्यक्ति अन्य राजनीतिक दलमा प्रवेश गर्दा पार्टीलाई कुनै असर नपर्ने नेकपा कास्कीका संयोजक खड्ग हमालले दाबी गरेका छन् ।

उनले लामो समयदेखि पार्टी गतिविधिमा निष्क्रिय रहेका केही व्यक्तिले अन्य दल रोज्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई लिएर अनावश्यक भ्रम फैलाउनु आवश्यक नभएको जिकिर गरे ।

सामाजिक सञ्जालमार्फत अनावश्यक हल्ला फैलाइरहेको भन्दै संयोजक हमालले यसले नेकपाको संगठन, नीति र जनआधारमा कुनै प्रभाव नपर्ने स्पष्ट पारे । निर्वाचन नजिकिँदै गर्दा केही व्यक्तिले व्यक्तिगत स्वार्थ वा ठूलो जिम्मेवारी पाउने अपेक्षामा पार्टी परिवर्तन गर्नु सामान्य राजनीतिक प्रवृत्ति भएको बताउँदै उनले यस्ता गतिविधिबाट नेकपा विचलित नहुने दृढता व्यक्त गरे । नेकपामा निष्क्रिय रहेका नेताहरु शिव आचार्य, झपिन्द्रराज रेग्मी लगायतका केही व्यक्ति सोमबार एमालेमा प्रबेश गरेका छन् ।

कास्की २ मा घरदैलो सुरु

कास्की क्षेत्र नम्बर २ मा (नेकपा)का उम्मेदवार किरण थापा (आमोद)ले घरदैलो सुरु गरेका छन् । पोखरा २१ को दम्सादीबाट उम्मेदवार आमोदले सोमबारदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

उम्मेदवार आमोद सहितको टोली सोमबार पोखरा २१ को मासपाटन, फेदीपाटन, द्वार, साम्मी मैदान, चिलाउने खर्क, थाप्ले तिलाहारसम्म घरदैलो गरिएको नेकपा कास्कीका संयोजक एवं कास्की क्षेत्र नम्बर २ (नेकपा) का निर्वाचन परिचालन क्षेत्र नम्बर २ का संयोजकसमेत रहेका हमालले उल्लेख गरे । स्थानीयले सडक तथा पुल लगायतका भौतिक संरचनामा बिषेश ध्यान दिन उम्मेदवारसमक्ष आग्रह गरेका छन् ।

पोखराका ११ वटा वडामा बैठक भएसँगै सोमबारदेखि सुरु भएको निर्वाचन घरदैलो कार्यक्रममा फागुन ३ गतेसम्म घरदैलो कार्यक्रम चलाउने तयारी छ । अधिकांश वडामा कार्यालयसमेत स्थापना गरिएको छ भने मंगलबार पोखरा २० मा घरदैलो कार्यक्रम हुने भएको छ । फागुन ४ गते पछि पार्टीको झण्डासहित थप तामझामका साथ चुनावी प्रचार अभियानमा लाग्ने भएको संयोजक हमालले जनाए ।

विध्वंशको आमन्त्रण गर्ने र विध्वंश मच्चाउनेलाई पराजित गर्न पनि नेकपाले जित्नुपर्छ ।

नेकपाले कास्की क्षेत्र नम्बर ३ का विभिन्न वडाहरुमा वडा सम्पर्क कार्यालय तथा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपाले कास्की ३ का उम्मेदवार गोपाल गिरीको उपस्थितिमा सोमबार अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा वडा सम्पर्क कार्यालय स्थापना गरेको हो । नेकपाले वडा नम्बर १ र २ को नागडाँडामा छुट्टाछुट्टै र ४ को सल्यानमा वडा सम्पर्क कार्यालय स्थापना गरेको हो । त्यस्तै, नेकपाले पोखरा–६ मा रमेश पहारीको संयोजकत्वमा १५१ सदस्यीय वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कार्यक्रममा बोल्दै उम्मेदवार गोपाल गिरीले अहिलेको संक्रमण कालको अन्त्यका लागि नेकपाले जित्न अपरिहार्य रहेको बताए । गिरीले भने,‘विध्वंश आमन्त्रणको वातावरण बनाउने र विध्वंश मच्चाउने दुबै राष्ट्रघाती हुन् । उनीहरुले जित्नु भनेको देश बर्बाद हुनु हो । त्यसैले उनीहरुलाई पराजित गर्न नेकपाले जित्नुपर्छ ।’

 

पोखरा, १९ माघ ।

नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सभा सदस्य उम्मेदवार तिलक रानाभाटसँग विद्यार्थीहरूले भेटघाट तथा अन्तरक्रिया गरेका छन्। समसामयिक राजनीतिक विषय, युवा विद्यार्थीको आवश्यकता र विकास निर्माणका बारेमा उम्मेदवारसँग छलफल गरेका हुन् । विद्यार्थीहरूले रोजगारी, पर्यटकीय सम्भावना र अत्यावश्यक विषयवस्तुका बारेमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार तिलक रानाभाटले विद्यार्थीबाट प्राप्त सुझाव अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे। उनले युवा विद्यार्थीको काँधमा देशको भविष्य रहेको बताए । देश र जनताको आवश्यकता नै आफ्ना योजना हुने उनको भनाइ छ। समृद्ध देश निर्माणको अभियानमा साथ दिन उनले आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य दीपक गुरुङ माइला, पोखरा महानगरपालिका वडा कार्यसमिति २६ का सभापति शिव रानाभाट, विद्यार्थी नेताहरू रसिकहरी भण्डारी र विजय घिमिरेले बोलेका थिए ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर १ कास्कीले चुनावी अभियान अन्तर्गत आइतबार पोखरा महानगरपालिका वडा नम्बर २९ मा सम्पर्क कार्यालय स्थापना गरिएको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्थापना गरिएको कार्यालयको प्रजातन्त्र सेनानी भोजराज भण्डारी, केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार तिलक रानाभाट, केन्द्रीय सदस्य कृष्ण केसी र पूर्वमन्त्री यज्ञबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति २९ का कार्यवाहक सभापति चिनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति रामबाबु भण्डारी, पूर्व जिल्ला सदस्य बिन्दु भण्डारी, विद्यार्थी नेत्री सोना राणा र वडा कार्यसमितिका सचिव पदम गुरुङले बोलेका थिए ।

पोखरा, १९ माघ ।

प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४० बलमा २३ रन, अनिश थापाले १६ बलमा १५ रन र उज्वल पौडेलले १२ बलमा १५ रनको योगदान दिए । छोरेपाटनलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा कुमुदिनीका लकी गुप्ताले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा सुधिर साहले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

१२४ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको कुमुदिनी होम्स १७.४ ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो । छोरेपाटनका बलरहरु सामु कुमुदिनीका व्याटरहरु निरीह देखिए । कुमुदिनीका लागि विद्वान देवकोटाले ३२ बलमा १२ रन र सञ्जीत कुँवरले १० बलमा ९ रन बनाउनुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । कुमुदिनीलाई सस्तैमा समेट्न छोरेपाटनका अनिश थापाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट तथा किशोर थापाले ४ ओभरमा ११ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा छोरेपाटनका अनिश थापा प्लेयर अफ द म्याच घोषित भए ।

सोमबारको दोस्रो खेलमा मदरल्याण्ड सेकेण्डरीले जनप्रिय माविलाई ८१ रनले पराजित गर्यो । टस जितेर जनप्रियले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि सक्षम विकले ५९ बलमा २६ रन र सुभम गिरीले २६ बलमा २३ रनको योगदान दिए । मदरल्याण्डलाई ठूलो स्कोर बनाउनबाट रोक्न जनप्रियका सम्राट क्षेत्रीले ४ ओभरमा २० रन खर्चेर २ विकेट तथा कृष्ण ढकालले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हत्याए ।

१३० रनको लक्ष्य पछ्याएको जनप्रियले जवाफी व्याटिङ गर्दै १२.३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्र बनाएपछि पहिलो खेलमै पराजय बेहोर्यो । जनप्रियका सन्देश स्याङ्तानले २२ बलमा ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनसमेत जोड्न सकेनन् । जनप्रियलाई सस्तैमा समेट्ने क्रममा मदरल्याण्डका विलोभ मल्लले २.३ ओभरमा केवल २ रन खर्चेर ५ विकेट तथा भुवन भण्डारीले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । सो खेलमा मदरल्याण्डका ५ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा डायमण्डबिरुद्द बाल मन्दिर र नेपाल भारत मैत्रीबिरुद्द वाराही मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

 

पोखरा, १९ माघ ।

गीतकार डा। रमिल अधिकारीले पोखरा(२८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । गीतकार प्रतिष्ठान, नपालको समन्वयमा डा। अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा। अधिकारीले बताए । डा। अधिकारी हाल न्युजिल्यान्डमा रही चिकित्सा क्षेत्रमा कार्य गर्दै आएका छन् ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता पवित्र कार्यमा सहयोग गर्नु प्रभावकारी हुने बताए । अनावश्यक तडकभडकलाई त्यागेर रचनात्मक कार्य गर्नेतर्फ लाग्ने संस्कार स्थापित गर्नेतर्फ प्रतिष्ठान लागिरहेको अधिकारीले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक पौडेलले विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मादी भगवती ल फर्मका सञ्चालक बुद्धिप्रसाद सुवेदी र विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानाभाटले गरेका थिए ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।