
पोखरा, २१ माघ ।
नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ ।
पोखरा रंगशालामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० ले पराजित भएसँगै नेपाल बाहिरिएको हो । फाइनल पुग्ने लक्ष्य राखेपनि पूरा हुन सकेन ।
नेपाल पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई २-१ ले हराएको भएपनि तेस्रो खेलमा पराजित भएको हो ।
काठमाडाैं,, २१ माघ ।
नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा दुवै पक्षबीच नेपाल र श्रीलंका बीचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिनुहुँदै उहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हाल्नुभएको छ । उहाँले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक तथा बंगलादेशमा उप–उच्चायुक्तको रूपमा कार्य गर्नुभएको थियो । यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
पोखरा, २१ माघ ।
पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो । यसअघि समूह ‘डी’बाट बाल मन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ ।
बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो । टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १६.४ ओभरमा सबै विकेट गुमाएर ८३ रनको मध्यम स्तरको योगफल तयार गरेको थियो । छोरेपाटनका लागि अनिष थापाले ११ बलमा १८ रन, उज्वल पौडेलले २९ बलमा १६ रन र सोहन आचार्यले २२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्ने क्रममा टप्सका विपिन शर्माले ३ ओभरमा २० रन खर्चेर ३ विकेट, शिव सुवेदीले ३.४ ओभरमा १६ रन खर्चेर २ विकेट तथा सौरव तिमिल्सिनाले ३ ओभरमा १५ रन खर्चेर २ विकेट हत्याए ।
८४ रनको मध्यम लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स मावि ९.५ ओभरमा सबै विकेट गुमाएर ४९ रनमा समेटियो । छोरेपाटनका बलरहरुसामु टप्सका व्यडाट्सम्यानहरु निरीह बनेका थिए । छोरेपाटनका खेलाडीको कसिलो बलिङका बाबजुद शिव सुवेदीले २३ बलमा १० रन र संयोग तिवारीले १० बलमा ९ रन बनाएका थिए । अन्य खेलाडीको व्याट नचल्दा टप्स पहिलो चरणबाटै बाहिरिन पर्यो । यद्वपी टप्सले सान्त्वना जितका लागि माघ २३ गते कुमुदिनी होम्ससँग प्रतिष्पर्धा गर्नेछ ।
बुधबारको खेलमा टप्सलाई सस्तैमा समेट्न छोरेपाटनका किशोर थापाले २.५ ओभमा १५ रन खर्चेर ५ विकेट, किस्मत पौडेलले २ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ३ ओभरमा ४ रन खर्चेर १ विकेट हत्याए । सो खेलमा छोरेपाटनका ५ विकेटधारी किशोर थापा प्लेयर अफ द म्याच घोषित भए । बुधबार भएको समूह ‘डी’को अन्तिम खेलमा डायमण्डले सान्त्वना जित हात पार्यो । यस समूहबाट बाल मन्दिर दुई खेल जित्दै समूह बिजेता बनेर सेमीफाइनलमा प्रवेश गरिसकेको छ । बुधबारको प्रतिष्ठाको खेलमा डायमण्डले ग्लोबल कलेजियटलाई २ रनको झिनो अन्तरले पराजित गर्यो ।
टस जितेर व्याटिङ रोजेको डायमण्डले १५.५ ओभरमा सबै विकेट गुमाएर ९६ रनको मध्यम स्तरको योगफल बनाएको थियो । डायमण्डका लागि मिलन पौडेलले १६ बलमा १९ रन र शिशिर नेपालले १८ बलमा ११ रनको योगदान दिए । डायमण्डलाई ग्लोबलका आयुष्मान गौतमले ४ ओभरमा एक मेडनसहित ७ रन खर्चेर ३ विकेट, विमोचन सापकोटाले ४ ओभरमै २९ रन खर्चेर २ विकेट र कविर खत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट हत्याए ।
९७ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको ग्लोबल कलेजियटले ९४ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि स्मिथ रानाभाटले ४० बल सामना गरेर २३ र विमोचन सापकोटाले १६ बलमा २० रन बनाए । ग्लोबललाई दवाबमा राख्न डायमण्डका शिशिर नेपालले १.४ ओभरमा ७ रन खर्चेर २ तथा सिजन सापकोटाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खेलमा डायमण्डका शिशिर नेपाल प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेलमा गुरुकुलबिरुद्द जनप्रिय मावि तथा दोस्रो खेलमा आयोजक प्रतिभा माविबिरुद्द नेपाल भारत मैत्री विद्यालय प्रतिष्पर्धामा उत्रिनेछन् ।
पोखरा, २१ माघ ।
नेपाली काँगे्रस क्षेत्र नं. ३ कास्कीले आफ्नो क्षेत्र भित्र पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडा , माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा प्रचार प्रसार कार्यालय उद्घाटन एवम् उम्मेद्वार सहितको घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।
सोही अन्तर्गत पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा नेपाली काँग्रेसको चुनावप्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन सहित घरदैलो कार्यक्रम गरिएको छ । कार्यलयको नेपाली काँगे्रसका केन्द्रिय सदस्य कृष्ण केसी, पुर्व सांसद शारदा पौडेल, कास्की काँग्रेसका उपसभापति एवम कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवार र उम्मेदवार मनोज गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्ण केसीलो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बद्लिएर आएको नेपाली काँगे्रसले अब देश र जनताका अवस्थालाई नै बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताँउनु भयो । कास्की क्षेत्र नं.३ ले प्रत्यक्ष तर्फ मनोज गुरुङ र समानुपातिक तर्फ आइ बहादुर गुरुङ जस्ता इमानदार र सादगी नेता उम्मेद्वार पाएको बताउदै क्षेत्र नम्बर ३ का जनताले जिताएरै छाड्ने विश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा विगत ३५ वर्ष देखि कम्यूनिष्ट पार्टीमा लागेका समाजसेवी चक्रपाणि त्रिपाठी सहित टिकाराम भट्टराई, नवयुवा विजय अधिकारी, इन्दिरा त्रिपाठी लगाएत दर्जन वढी व्यक्ति नेपाली काँगेसमा प्रवेश गरेका छन् . पार्टी प्रवेश गरेका समाजसेवी चक्रपाणि त्रिपाठीले पटक पटक कम्यूनिष्ट पार्टीहरुले आफु र आफु जस्ता इमानदार कार्यकर्तालाई झुठा अस्वासन बाडेर देशलाई नै कंगाल बनाउन लागेको आरोप लगाउनु भयो । आफू लहड र भावनामा नभइ निकै सुजबुझ ढङ्गले नेपाली काँगे्रसमा प्रवेश गरेको बताउनुभयो ।
जेनजी युवा एलिसा अधिकारीले अहिलेको परिवेशमा भाषण गर्ने नभइ जनताको भावना बुझ्ने र काम गर्ने नेता चाहिएको भन्दै त्यो नेता क्षेत्र नंं. ३ मा मनोज गुरुङ र आइ बहादुर गुरुङ भएको बताउनु भयो । अनुभवी नेतृत्व विना देश अगाडी बढ्न नसक्ने बताउदै देशलाई निकास दिन गगन थापा भावी प्रधानमन्त्रीको रुपमा अगि बढि सकेको बताउनुभयो ।
नेपाली काँग्रेस कास्कीका उपसभापति एवम कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवारले काँगे्रस देशको पार्टी मात्र नभइ देशको शक्ति भएको बताउदै देश बदल्ने अठोटका साथ बदलिएर आएको काँगे्रसलाई सबै क्षेत्रमा जिताएर नेपाली काँगे्रसको सरकार बनाउन जनता आतुर रहेको बताउनुभयो ।
नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार मनोज गुरुङले राजनिति आफ्नो लागि सेवा भएको बताउदै व्यक्तिगत इच्छा त्यागेर जनताले देखेको सपनालाई आफुले बोकेर पुरा गर्ने अठोटका साथ लाग्ने प्रतिवद्धताका साथ हिडेको जनाउनुभयो । आफ्नो क्षेत्रमा डुल्दा घरघरमा आशा र सम्भावना बोकेका युवा काँगे्रसमा आकर्षित भएको बताउदै युवालाई देशमै बस्ने वातावरण बनाउन इमानदारीका साथ लाग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य एवम पुर्व सांसद शारदा पौडेल, अग्रज नेता दुर्गा तिमिल्सीना, नवयुवा विवेक तिमिल्सीना लगायतले बदलीएको काँग्रेसले देशलाई बदल्ने जिकिर गर्दै नेपाली काँग्रेसलाई बिजयी गराउनुुपर्ने धारणा राख्नुुभयो ।
नेपाली काँग्रेस पोखरा २४ इकाइ सभापति प्रताप बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपसभापति हरिदत्त तिमिल्सीना र संचालन इकाइ सचिव चन्द्रेश्वर वस्ताकोटीले गर्नु भएको थियो ।
पोखरा, २१ माघ ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलहरू आ आफ्नो तयारीमा जुटिरहँदा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोला(मधु) यतिखेर पार्टीका नेता तथा कार्यकर्तासँगै आम मतदातालाई भेट्ने क्रम तीव्र बनाउनुभएको छ ।
उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी गतिविधिलाई बढाइरहनुुभएका बास्तोला टोल तथा वस्तीमा पुग्दा आम मतदाताबाट पाइरहेको मायाले अझैँ उत्साहित बन्नुुभएको छ ।
राजनीति पेशा नभै सेवा हो भन्ने मूल्य मान्यतालाई सँधै आत्मसात गरिहने उहाँ यस अघिका चुनावमा नै पाटीका तर्फबाट उम्मेदवारी प्राप्त गर्नुुपर्ने भएपनि आँफूले नपाउँदा बखत पनि आँर्फै उम्मेदवार भएजस्तै गरी गर्नुुभएको इमान्दार खटाइका कारण यतिखेर पार्टीको सिङ्गो पंक्ति नै एकतावद्ध रुपमा उहाँलाई जिताउन लागपरेको छ ।
आफ्ना अघि अन्य धेरै सम्भावना रहेर पनि ती सबै सम्भावनालाई त्यागेर राजनीति मार्फत देश र जनताको सेवा गर्ने काममा निरन्तर लागिरहेका उहाँलाई पार्टी पंक्ति भित्र मृत्यु जितेर फर्किएका नेताका रुपमा समेत लिने गरिन्छ ।
विंस २०६७ असोज ६ गते नेपाली कांग्रेसको १२ औं महाधिवेशन सकेर काठमाडौंबाट पोखरा फर्किँदै गर्दा मुग्लिन–कुरिनटार सडकखण्डको रमाइलो डाँडामा उहाँ सवार गाडी दुर्घटनामा परेको थियो । असोज ७ गतेदेखि सोह्र श्राद्ध सुरु हुने भएकाले साथीहरूसँग हतारहतार पोखरा फर्किँदै गर्नुुभएका उहाँका सहयात्रीहरू क्षेत्रीय सभापति कृष्णप्रसाद पराजुली, महासमिति सदस्य तेजप्रसाद दाहाल र युवराज पहाडीको घटनास्थलमै मृत्यु भएको थियो भने जिल्ला सदस्य जोगेन्द्र बाटोजुले उपचारका क्रममा ज्यान गुमाउनुुभएको थियो ।
उक्त गाडीमा सवार माधव बास्तोला र मदन केसी गम्भीर घाइते बन्नुुभएको थियो । टाउकोमा ठूलो चोट लागेका र सात वटा करङ भाँचिएका बास्तोलाले झण्डै एक वर्षको उपचार र आरामपछि पुनर्जीवन पाउनुुभएको थियो ।
सँगै यात्रा गरेका चारजना साथीले ज्यान गुमाउँदा आँफ्नो समेत बाँच्ने आशा मरिसकेका अवस्थामा देश र जनताको सेवाकै लागि ईश्वरले आँफूलाई बचाएको बास्तोला बताउनुहुन्छ । मृत्युलाई जितेर पुर्नजन्म पाएको आँफू मतदाताले अवसर दिएमा अझै खटेर बाँकी जीवन राष्ट्रसेवामा नै लगाउने उहाँको भनाइ छ ।
पोखराको फूलबारीमा एउटा शिक्षित परिवारमा २०२३ सालको अन्त्यतिर जन्मनुुभएका बास्तोलाले प्रारम्भिक शिक्षा घर नजिकैको शिवशक्ति स्कुलबाट सुरु गर्दै कक्षा ७ पछि मालेपाटनको बाराही माविबाट एसएलसी उत्तिर्ण गर्नुुभएको थियो । पोखराकै पृथ्वीनारायण क्याम्पसबाट बिएल उत्तीर्ण गरेपछि उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुुभयो । उहाँले बिएड समेत पूरा गर्नुुभएको थियो । अध्ययनले समेत खारिएका बास्तोलाले निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकाससँगै कानुन निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने देखिन्छ ।
राजनीतिक चेतनामा विपीको प्रभाव
बास्तोला ६ कक्षामा पढ्दै गर्दा विंस २०३६ सालमा जनमत संग्रहको घोषणा भएको थियो । त्यतिबेला विपी कोइराला पोखरा विमानस्थलमा ओर्लन खोज्दा तत्कालीन पञ्चहरूले अवरोध गरे । विमानस्थल नजिकै काँग्रेसको विशाल आमसभा भयो । दाजु गुरुप्रसादको पछि लागेर आमसभा पुगेका बालक माधव तत्कालीन समयमा विपीले गरेको भाषणबाट नै प्रभावित बनिसक्नुुभएको थियो । “कानुनभन्दा माथि राजा कदापि हुन सक्दैनन्, प्रजातन्त्र र मुलुकका लागि बहुदलीय शासन व्यवस्था नै चाहिन्छ ।”, भाषणका क्रममा विपीले भनेको ती शब्दले उहाँको कलिलो मस्तिष्कमा गहिरो छाप पारेको थियो । बाराही माविमा पढ्दा नेपाल विद्यार्थी संघको एकाइमा रहेर काम गर्नुुभएका उहाँले विंस २०४२ मा उनले काँग्रेसको क्रियाशील सदस्यता लिनुुभएको थियो । २०४२ सालमै पोखरा नगर पञ्चायतमा प्रमुख र उपप्रमुखमा जनपक्षीय उम्मेदवार केशवराज पराजुली र तीर्थ श्रेष्ठलाई जिताउन उहाँ सहितका युवाहरुको क्रियाशिलता लोभलाग्दो थियो । विंस २०४६ को जनआन्दोलनमा पूरै खटिएका उहाँ तत्कालीन समयमा पञ्चायतका पक्षधरहरूले जागिरको प्रलोभन देखाउँदा पनि प्रजातन्त्रका पक्षमा आँफूलाई उभ्याएर देश र जनताको सेवा गर्ने उद्देश्यका साथ राजनीति नै रोज्नुुभएको थियो ।
प्रजातन्त्रको पुनःस्थापना पछि वडा तहबाटै संगठन विस्तारमा लाग्नुुभएका उहाँ २०४९ सालमा पोखरा ११ को नेपाली काँग्रेसको वडा सभापति बन्नुुभयो ।
२०५४ सालको स्थानीय निर्वाचनमा उनी सोही वडाको वडाध्यक्षमा निर्वाचित उहाँ तत्कालीन सयमा सीमित स्रोत र साधनका बाबजुद विकास निर्माणमा खटिएर वडावासीको मन जित्नुुभएको थियो । २०५४ पछि द्वन्द्वका कारण निर्वाचन नभए पनि उहाँले जनप्रतिनिधिको हैसियतमा सामाजिक कामलाई निरन्तरता दिनुुभयो । २०६२÷६३ को आन्दोलनका क्रममा उहाँ प्रहरी हिरासतमा पर्नुुभएको थियो ।
पार्टीको १२ औं र १३ औं महाधिवेशनमा पार्टीको कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति बन्नुभएको थियो । सभापति भएकै बेला दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस उम्मेदवार शारदा पौडेललाई जिताउन उल्लेख्य भूमिका निर्वाह गरेका उहाँले १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै हाल नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रवक्ताको जिम्मेवारीमा रहनुुभएको छ ।
उहाँ केवल राजनीतिकर्मी मात्र नभै कुशल सामाजिक अभियन्ता पनि हुनुहुन्छ । आफ्नै अगुवाइमा फूलबारी क्लब स्थापना र दर्ता गराउनुुभएका उहाँ शिवशक्ति मावि र क्याम्पसको तीन कार्यकाल अध्यक्ष बनेर यस क्षेत्रको शैक्षिक उन्नयनमा पनि उत्तिकै योगदान दिनुुभएको छ । विद्यालयको भौतिक संरचना कमजोर हुँदा स्वर्ण महोत्सव र महायज्ञमार्फत १०औं लाख रुपैयाँ संकलन गरी पूर्वाधार निर्माण गराएका उहाँले रामेश्वर मन्दिरको विकास, सडक, सामुदायिक वन र खानेपानी आयोजना आदिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुुभएको छ । ।
कास्की–२ बाट प्रतिनिधि सभा सदस्य बनेर यस क्षेत्रको समृद्धि र विकाससँगै समग्र देशमा सुशासन र विकास अघि बढाउन योगदान गर्ने उहाँको इच्छा छ । पूरै महानगरका वडा भएर पनि विकास दृष्टिले ओझेलमा परेका स्थानको समग्र समुन्नति उहाँको मुख्य ध्येय बनेको छ । पोखराको मुख्य समस्या बनेको फोहरलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्ने योजनासँगै कसैलाई मर्का नपर्ने गरी उपयुक्त स्थान छनोट गरी आधुनिक प्रशोधन केन्द्र बनाएर फोहरबाट ऊर्जा उत्पादन गर्नुुपर्ने उहाँको सोच छ ।
पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्दै तालतलैया र नदीको संरक्षण गर्ने तथा पोखरालाई केन्द्रमा राखेर धार्मिक पर्यटन करिडोर निर्माण गर्ने उहाँको लक्ष्य छ । पोखरालाई गण्डकी प्रदेशको मात्र नभई देशकै शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने कुरामा प्रतिवद्ध उहाँ युवा स्वरोजगारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुहुन्छ । विदेशिएका युवालाई स्वदेश फर्काउन मुलुकभित्रै शिक्षा र रोजगारीको उत्कृष्ट अवसर सिर्जना गर्ने तथा सरकारी सेवा प्रवाहमा रहेको झन्झट र भ्रष्टाचार अन्त्य गर्ने उहाँको अठोट छ । अहिलेको निर्वाचन प्रणालीबाट कुनै एक दलको बहुमत आउन कठिन देखिएकाले समयसापेक्ष संविधान संशोधन र निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवाजलाई आँफू निर्वाचित भएसँगै सम्बन्धित निकायमा जोडदार उठाउने उहाँको भनाइ छ ।
काँग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर भएको कुरालाई आँफूहरूले पटकपटक देख्दै र भोग्दै आएको बताउँदै उहाँले निर्वाचन मार्फत काँग्रेसलाई बलिो बनाउनुुपर्ने अवस्था आएको बताउनुुभयो । आँफ्नो पुँजी भनेकै इमानदारिता भएको बताउनुुहुने बास्तोला पहुँच र पुँजीका आधारमा हुने प्रतिनिधित्व र नातावादको परम्परालाई तोड्नुपर्ने बताउनुहुन्छ । मतदाता भेटघाटका क्रममा उहाँले तत्तत् स्थानका मतदातासँग त्यहाँका समस्या बुझ्दै उनीहको अपेक्षा सहित सुझाव संकलन समेत गरिरहनुुभएको छ ।
पोखरा, २१ माघ ।
कास्की क्षेत्र नं २ अन्तर्गत आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसको चुनावप्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यलयको गण्डकीका सभापति शुक्रराज शर्मा र उम्मेदवार माधवप्रसाद बास्तोलाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सभापति शर्माले प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता र राष्ट्रिय स्वाधिनतामा नेपाली काँग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताउनुुभयो । प्रजातन्त्र प्रति विश्वास राख्ने पार्टी काँग्रेस भित्र जुनसुकै व्यक्ति पनि अटाउन सक्ने बताउँदै उहाँले भन्नुुभयो, “नेपाली काँग्रेस अब सुधारिएको छ, पार्टीको नेतृत्व पनि युवाको काँधमा गएकाले युवा मतदाताले पनि एक पटक काँग्रेसलाई विश्वास गर्नु आवश्यक छ ।”
काँग्रेसले आफनो एजेण्डा युवा लक्षित बनाउँदै युवालाई स्वदेशमा नै आफ्नो उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाउने कुरामा उहाँले विश्वास व्यक्त गर्नुुभयो । नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोलाले जेन्जीले उठाएका माग जाहेज भएका र ति माग सम्बोधन गर्न काँग्रेस पनि सक्रिय रुपमा लाग्ने बताउनुुभयो ।
युवालाई स्वदेशमा नै रोजगारीको प्रत्याभुति गराउने गरी लाग्नुु अहिलको आवश्यकता भएको बताउँदै उहाँले बढ्दो युवा पलायनलाई रोक्ने गरी समयानुकुल उच्च शिक्षाको अध्ययनसँगै रोजगारीका अवसर सिर्जना हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
मतदाताको घरदैलोमा पुग्दा पोखरामा फोहोरको समस्या, खानेपानी, ढल व्यवस्थापन, सडक निर्माण, रोजगारी, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, युवा रोजगारी, ज्येष्ठ नागरिक तथा स्वास्थ्य बीमा लगायतका समस्या धेरै उठ्ने गरेको बताउँदै उहाँले यी हरेक मुद्दाको प्रभावकारी समाधान गर्नेतर्फ आँफू लाग्ने विश्वास व्यक्त गर्नुुभयो ।
नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारीले आम नेपाली जनताको चाहनालाई सम्बोधन गर्दै नेपाली काँग्रेस अगाडि वढ्नु पर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, काँग्रेसका नेता राजेन्द्रनिधि कोइराला, केशर निर्दोषी, पूर्ण तिमिल्सेना, देवकृष्ण पराजुली, गोविन्द पराजुली लगायतले बदलीएको काँग्रेसले देशलाई बदल्ने जिकिर गर्दै नेपाली काँग्रेसलाई बिजयी गराउनुुपर्ने धारणा राख्नुुभयो ।
पोखरा,२१ माघ ।
युवाका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद नेपालको राष्ट्रिय खेल भलिबल भन्ने मूल नाराका साथ नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबले पोखरालाई खेलकुदमार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न र भलिवल खेलको विकास गर्ने हेतुले माघ २१ गते देखि २४ गतेसम्म आयोजना गरेको नवौं वडा स्तरीय भलिबल प्रतियोगिता भण्डारी टोल स्थित भलिवल कोर्टमा सुरु भएको हो ।
क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङले व्यानरमा हस्ताक्षर गर्नुका साथै रेफ्री बुद्वसिंहलाई बल हस्तान्तरण गरेर खेलाडीले अनुशासित हुनुका साथै खेललाई सौहाद्रपूर्ण वातावरणमा सञ्चालन गर्न सहयोग गर्नु महत्वपूर्ण रहेको बताएका थिए । उनले खेल सम्पन्न गर्नका लागि वडाबाट तीन लाख रकम छुट्टयाएको बताउँदै शुभकामना व्यक्त गरे ।
क्लवको बार्षिक कार्यक्रम अन्तरगत सञ्चालित प्रतियोगितामा वोल्दै पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले स्थापना काल देखि शिक्षा, स्वास्थ्य तथा वातावरण यूवा तथा खेलकुद महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्दै आएको क्लवले यूवा लक्षित लागु औषध सचेतना कार्यक्रमको साथै खेलकुदको क्षेत्रमा फुटबल, ब्याटमिन्टन, खेलहरु पनि हरेक वर्ष गर्दै आएको वताएका थिए ।
राईजिङ्ग स्टार युथ क्लब र लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल विच मैत्रीपूर्ण उद्घाटन खेल सञ्चालन भएकोमा आयोजकले पहिलो खेल २५÷२२ र दोस्रो खेल २५÷२२को सेटमा जितेको थियो । प्रतियोगितात्मक खेलहरु भने विहिवार विहानदेखि सञ्चालन हुने भएका छन् । प्रतियोगिता संयोजक ईश्वर खत्रीले प्रतियोगितामा १५ टिमको सहभागिता रहेको वताए । खेलको बिजयी समूहले एक लाख ११ हजार एक सय ११, उप विजेता समूहले ५५ हजार पाँच सय ५५ र तृतीय हुने दुई समूहलाई १०÷१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ट खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा करीव आठ लाख खर्च लाग्ने र प्रायोजक ,सह प्रयोजक र सहयोगी संघ सस्थाबाट करीव १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ भने खेलबाट बचत भएको रकमलाई खेलकुदकै क्षेत्रमा खर्च गरिने क्लवको उदेस्य रहेको वताइएको छ । कार्यक्रम पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।
पोखरा, २१ माघ ।
पोखराको पृथ्वीचोकमा पोखरामै उद्योग रहेको दिगो फुटवेयर इन्डष्ट्रिजका उत्पादनहरुको सोरुम खुलेको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दिगोको सो सोरुमको उद्घाटन गरे । पोखराका दुईजना युवाहरु हरिप्रसाद भण्डारी र राजेश भण्डारी पोखरा पस्र्याङमा रहेको सो उद्योगको संचालक हुन् ।
यो कम्पनीले पोखरामै अन्तर्राष्ट्रिय गुणस्तरका जुत्ता–चप्पलहरु उत्पादन गर्छ । स्वदेशमै केही गरौँ र रोजगारी पनि सिर्जना गरौँ भन्ने उद्देश्यले जुत्ता उद्योग स्थापना गरिएको प्रबन्ध संचालक हरिप्रसाद भण्डारीको भनाइ छ । गुणस्तरमा सम्झौता नगरिएका दिगोका उत्पादनहरु सस्तो र नेपालीको खुट्टा सुहाउँदो भएको पनि उनले जिकिर गरे । पृथ्वीचोकजस्तो व्यस्त र महँगो ठाउँमा सोरुम राखिएकाले उपभोक्ताको हितलाई ध्यानम राख्दै सोरुममा अन्य कम्पनीका केही उत्पादनहरु पनि राखिएको अर्का संचालक राजेश भण्डारीले बताए ।
उद्घाटन समारोहलाई संवोधन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अर्काको उत्पादन बेचेर धनी बन्न सकिएला तर राष्ट्रको अर्थतन्त्रमा योगदान गर्न नसकिने तथ्य मनन गर्न युवाहरुलाई आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघ स्वदेशमा उत्पादित कच्चा पदार्थको समुचित उपयोगको पक्षमा रहेको बताउँदै उनले काँचो छाला संकलन र बिक्रीका लागि हिजो राज्यस्तरबाट गरिएका प्रयत्नहरु अझ सशक्त ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । कृषिलाई यहाँको पर्यटन उद्योगसँग जोड्न सके पोखराको आर्थिक अवस्था सुधार हुने र रोजगारी पनि बढ्ने उनको भनाइ थियो ।
कार्यक्रममा जुत्ता व्यवसायी संघका संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली,कपडा व्यवसायी संघका अध्यक्ष लेखनाथ पौडेल,कपडा व्यवसायी संघका पूर्वअध्यक्ष विष्णुप्रसाद तिमिल्सिनालगायतले मन्तव्य राखेका थिए ।
पोखरा,२१ माघ ।
युनाईटेड क्लब पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वन संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखिनै अमरसिंह मावि संग सहकार्य गरि अमरसिंह खेल मैदानमा पोखरा महोत्सवको आयोजना गरि विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताए । १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न गरेको एक हप्तामै पुन अमरसिंह माविमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउदै युनाईटेड क्लबले शिक्षा क्षेत्रमा एक उदाहरणीय काम गर्न लागेको बताए ।
युनाईटेड क्लबको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको काम शुरु भइसकेको बताउदै त्यसको सम्पूर्ण जिम्मा हाल गण्डकी प्रदेश सरकारले लिइ काम अगाडी बढिरहेको समेत बताए । १३ औं संस्करणको पोखरा महोत्सवको समापन संगै १४ औं पोखरा महोत्सव सम्म आइपुग्दा युनाईटेड क्लबले लेखनाथको अर्चलेमा आफ्नै जग्गामा ४० लाखको लागतमा युनाईटेड छात्राबासको काम शुरु गरिसकेको र छिट्टै नै त्यसलाई सञ्चालनमा ल्याइने बताउदै श्रेष्ठले त्यसका लागि कुनैपनि दातृ निकाय संग सहयोग नलिएको समेत बताए । युनाईटेड क्लबले पोखरा महोत्सवकै आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन पर्वद्र्वन संगै सेती नदी संरक्षणमा लागिरहेको श्रेष्ठको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले युनाईटेड क्लब पोखरा र अमरसिंह मावि बीच नङ र मासु बिचको सम्बन्ध जस्तै सम्बन्ध रहेको बताए । युनाईटेड क्लबले अमरसिंह मावि संगको सहकार्यमा पोखरा महोत्सव सञ्चालन गरी विभिन्न सामाजिक कामहरु गर्दै हरेक बर्ष अमरसिंह माविको शैक्षिक स्तरोन्नतीका लाथि आर्थिक, नैतिक र भौतिक सहयोग गरेको बताए । जस अनुरुप १४ औं संस्करणको पोखरा महोत्सव सम्पन्न हुनासाथ विद्यार्थीहरुको आवश्यक्तालाई मध्येनजर गरी दुई थान आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरेकोमा युनाईटेड क्लब परिवार प्रति धन्यवाद ब्यक्त गरे ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए । अमरसिंह माविको साथकै कारण १४ औं पोखरा महोत्सव सम्म सञ्चालित सम्पूर्ण महोत्सव सभ्य र भब्य ढंगले सम्पन्न भएको र आगामी महोत्सवहरु समेत भब्य र सभ्य रुपमा सम्पन्न हुने उनको भनाइ रहेको थियो ।
युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सवको आम्दानीबाट युनाईटेड क्बले दर्जन बढी विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना संगै अमरसिंह माविमा अध्ययनर विद्यार्थीहरुलाई आर्थिक सहयोग समेत गर्दै हरेक महोत्सवमा विद्यालयलाई सहयोग गर्दै आइरहदा यो पटक विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड वितरण गरिएको बताए ।
क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्यहरु विष्णु कुमार गुरुङ, पूर्ण कुमार श्रेष्ठ, बिजय कार्की, बुद्ध कार्की, सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।





