
पोखरा, २२ माघ ।
सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५ औं अर्थात रजत वर्षको अवसरमा फोटो प्रदर्शन हुने भएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो ।
पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएको फोटो प्रदर्शन गरिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए ।
प्रदर्शनीमार्फत प्रतियोगगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए । प्रदर्शनीमा मैदानभित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको जीवन्त फुटबल संस्कृतिलाई तस्बिरमार्फत प्रस्तुत गरिने उनले बताए । प्रदर्शनीमा ५० भन्दा बढि फोटो राखिनेछ ।
प्रदर्शनीले नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । रजत जयन्तीमा उत्साह थप्नका लागि फोटो प्रदर्शनीमा सहयोग गरिएको उनले सुनाए ।
पोखरा, २२ माघ ।
पुन समाज नेपालले आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सघाउने भएको छ । बिहिबार पोखरामा पुन समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र नम्बर २ बिच समझदारी भएको हो।
आगामि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदश्य निर्वाचनमा पुन समाज नेपालले नेपाल भरि रहेका पुन समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन र एकबद्धता हुन आग्रह समेत गरेको छ । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गर्बुजा पुन,महसचिव चन्द्र प्रकाश पाईजा पुन र रास्वपा कास्की क्षेत्र नम्बर २ का उमेदवार उत्तम पौडेल बिच समझदारी पत्र आदान प्रदान गरिएको थियोे ।
“पुन समाजजस्तो संगठित र सचेत समुदायले रास्वपालाई सघाउने निर्णय गर्नु परिवर्तनप्रति जनताको भरोसाको प्रमाण हो,” उम्मेदवार पौडेलले भने, “यो समर्थनले कास्की–२ मा स्वच्छ राजनीति र जवाफदेही नेतृत्व स्थापना गर्ने हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ ।”
उनले समुदाय, समाज र नागरिकसँग हातेमालो गर्दै जनताका समस्या संसदमा उठाउने र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, पौडेलले सबै समुदायको विश्वास जित्दै साझा विकास र सुशासनका लागि अघि बढ्ने प्रतिवद्धता दोहो¥याए । यसै बिच उम्मेदवार पौडेलले निरन्तर कास्की क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।
पोखरा, २२ माघ ।
प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित दुवैलाई सम्मान गरे । लम्साललाई सम्मान–पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरियो ।
सम्मानपछि बोल्दै सापकोटाले संगठनले दुई दशक लामो आफ्नो त्रियाशीलतालाई स्मरण गरेकोमा खुसी व्यक्त गरे । उनले सम्मानले संगठनप्रतिको दायित्व बढेको महसुस भएको बताए । पुरस्कृत पत्रकार लम्सालले अनेक ठक्कर–हण्डरबीच निरन्तर गरिरहेको कर्मको मूल्यांकन भएको बताए । विगतको पुरस्कार, पुस्तक विमोचन र हाल प्राप्त पुरस्कार एमाले नेता अधिकारीकै हातबाट प्राप्त गर्ने संयोग मिलेको उनले सुनाए ।
एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताए । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए । सम्पूर्ण जनता र राजनीतिक दल एकताबद्ध भएर देशको विकासमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बरालले बोलेका थिए ।
चौतारीले सम्मानित र पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो । त्यसमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य थिए ।
हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए । उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ । उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुन् । उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।
सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ (साविकको थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन् । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् । मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा उनी सक्रिय छन् । उनी प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुन् । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उनलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।
पोखरा, २२ माघ ।
प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव लक्षित ठूला पार्टीका उम्मेदवार घरदैलो र सम्पर्क कार्यालय स्थापना गर्न व्यस्त देखिन्छन् ।
यसै सिलसिलामा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का चुनाव प्रचारप्रसार कार्यालय खोल्ने क्रम तीव्र बनेको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत आज (बिहीबार) पोखरा–९ नयाँबजारमा नेपाली काँग्रेस कास्कीको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
उक्त सम्पर्क कार्यालयको आज नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र नेपाली काँग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत नेपाली काँग्रेसले यस अघि वडा नं ८, वडा नं ४ र वडा नं २१ मा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली काँग्रेस देशकै अभिभावक पार्टी भएकाले देश भित्रका हरेक समस्यालाई मर्यादित रुपमा समाधान गर्ने बताए ।
सभापति शर्माले काँग्रेस कमजोर हुँदा देश कमजोर हुने भएकाले काँग्रेसलाई बलियो बनाउने दायित्व सबै नेपालीको भएको बताउँदै प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली काँग्रेसमा लागेर देशको सेव ा गर्न सबै नेपालीलाई आग्रह गरे ।
नोपली काँग्रेसले युवालाई अगाडि सार्ने नीति अनुसार पार्टी सभापति युवा नेता गगन थापालाइ बनायौ, भावि प्रधानमन्त्री पनि उहाँलाई नै बनाउने योजनाकासाथ नेपाली काँग्रेस अगाडि वढेको भनाइ उनको थियो । नेपाली काँग्रेस अब सुधारिएको छ, पार्टीको नेतृत्व पनि युवाको काँधमा गएकाले युवा मतदाताले पनि एक पटक काँग्रेसलाई विश्वास गर्न आवश्यक छ उनले भने ।
नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का तर्फबाट उम्मेदवार माधवप्रसाद बाँस्तोलाले नेपाली काँग्रेसले देशलाई कमजोर हुनबाट बचाउने भएकै कारण काँग्रेसलाई विश्वास गर्न आम मतदातासँग आग्रह गरे । युवालाई स्वदेशमा नै अवसरहरु सृजनागरी विदेशमा दिने सुविधा यही दिन सकिने भनाइ उनको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा पर्यटन, कृषि तथा जलविद्युतको क्षेत्रमा छिट्टै फड्को मार्न सकिने भनाइ उनको छ । नेपालमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, ऊर्जा, कृषि पूर्वाधारहरुलाई विकास गर्न जरुरी रहेको भनाइ उनको थियो । उउक्त कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस पोखरा महानगर वडा नं ९ का सभापति शिवराज बाँस्तोलाले गरेका थिए ।
सो अवसरमा काँग्रेस नेता मुना बास्तोला, सूर्यभक्त सिग्देल, महेश सिग्देल लगायतले आफ्नो भनाइ राखेका थिए । त्यसैगरी उम्मेदवार वास्तोलाले आजै पोखरा–९ को नयाँबजार, शान्तिवन र पोखरा–३३ को भरतपोखरीमा मतदातासँग सुझाव संकलन गर्दै मत माग्नुभएको थियो ।
पोखरा, २२ माघ ।
पोखरा–२७, तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा “Read Today, Lead Tomorrow” भन्ने मूल नारासहित पठन महोत्सव २०८२ बाट सुरु हुने तीन दिने शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम विहीबारदेखि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा पठन महोत्सव, डायमण्ड मेला (Food, Education & Fun) तथा ३८औँ वार्षिक उत्सव समेटिएको छ। विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमता उजागर गर्ने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो।
पहिलो दिन पठन महोत्सव २०८२ औपचारिक उद्घाटन समारोहसहित सुरु गरिएको थियो, जहाँ राष्ट्रगान, विद्यालय प्रार्थना, ध्यान, १० मिनेटको सामूहिक “Read Aloud Session” आयोजना गरिएको थियो।
पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा. नवराज लम्सालको Book Talk Show तथा Panel Discussion सम्पन्न भयो भने शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रमको विशेष आकर्षण बनेको थियो। यसै दिन कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, परियोजना प्रस्तुति, समाचार वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदान–प्रदान जस्ता गतिविधिहरू विद्यालयका विभिन्न स्थानहरूमा Parallel Session मार्फत सञ्चालन गरिएका थिए।
विद्यालयका प्राचार्य यमबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुप्रसिद्ध आख्यानकार कपिलदेव लामिछाने, समालोचक तथा साहित्यिक स्रष्टा कृष्णशरण उपाध्याय, समकालीन छन्द कवि शिव त्रिपाठीलगायत वक्ताहरूले सिकाइको कुनै सीमा नहुने बताउँदै विद्यार्थीहरूका लागि वैज्ञानिक कार्यप्रणाली र बालमैत्री वातावरणमा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका थिए ।
नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रम र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि अर्को कार्यक्रम सञ्चालन गरिएको थियो । विशेष गरी विद्यार्थीहरूमा पढाइप्रति सकारात्मक वातावरण सृजना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक प्रदीप पोखरेल, कविता गुरुङ र हरियामा गुरुङले गरेका थिए ।
कार्यक्रम संयोजक अनुराधा शर्माले पढाइ महोत्सवका बारेमा जानकारी गराएको उक्त कार्यक्रममा व्यवस्थापक हरिप्रसाद लामिछाने र शैक्षिक प्रमुख इञ्जिनियर सञ्जीव थापालगायत वक्ताहरूले डायमण्डले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन Food, Education & Fun लाई एकै ठाउँमा समेटिएको डायमण्ड मेला २०८२ आयोजना गरिनेछ, जसमा ब्यान्ड प्रस्तुति, शैक्षिक स्टल, विद्यार्थीहरूको सिर्जनात्मक सामग्री र ठूलो मेला मुख्य आकर्षण रहनेछन्। त्यस्तै तेस्रो दिन ३८औँ वार्षिक उत्सव अन्तर्गत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, नाटक, नृत्य, गायन तथा विशेष प्रस्तुति आयोजना गरिनेछ। विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उनीहरूमा रहेको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न यस्ता कार्यक्रम आवश्यक छन्।
पोखरा, २२ माघ ।
नमस्ते ब्याण्डले ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्ध ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ ।
विगत ३६ वर्षदेखि नेपालमा मात्र नभएर विश्वमा नै एक अमिट छाप राख्न सफल भएको नमस्ते ब्याण्डले फागुन १ गते काठमाडौँमा, फागुन ३ गते आईतबार लेकसाईड पोखरामा र मार्च महिनामा जापानको टोकियोमा महाशिवरात्रीको छेको पारी सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक एवम् नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङले जानकारी दिएका छन ।
नमस्ते ब्याण्डले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्ने विश्व संगीत महोत्सवको यो १९ औं संस्करण हो । फागुन ३ गते साँझ ६ बजेदेखि पोखराको लेकसाईडमा आतिसबाजी, शिवधुनी सहित नमस्ते ब्याण्डसँगै राजु लामा एण्ड मंगोलिएन हर्ट, राजेश पायल राई, दिप श्रेष्ठ लगायतको प्रस्तुति रहने उनले जानकारी गराए । नेपाल सहित अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ बताइएको छ ।
महाशिवरात्रीको अवसरमा ब्याण्डले निरन्तर कार्यक्रम विश्वसंगीत महोत्सव गर्दै आएको छ । नेपाल तथा जापानका विभिन्न ठाउँमा हुने सांगितिक महोत्सवमा दशर्कको व्यापक सहभागीता रहने अपेक्षा गुरुङको छ । ५० को दशकमा पोखराका पप ब्याण्डको सक्रियता र चर्चाका कारण नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण उपस्थिति रहेको स्मरण गर्दै पुनः पोखराको सांगीतिक क्षेत्र पुरानै अवस्थामा फर्कन सक्ने आशा थपिएको उनले बताए ।
महोत्सव अवलोकनका लागि एक सय र दुई सयको टिकट राखिएको छ । महोत्सवले पोखराको सांस्कृतिक उचाईलाई थप मजबुत बनाउने आशा गरिएको छ । पोखराको नै ब्याण्ड भएकाले उक्त महोत्सवलाई सफल पार्न पोखरेलीको साथ रहनेमा आयोजक आशावादी देखिन्छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सुरेश सुनारले गरेका थिए ।
पोखरा, २२ माघ ।
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे ।
सो अवसरमा बोल्दै एसपी कार्कीले फुटबलको क्षेत्रमा बिटी क्लबको योगदान अतुलनीय रहेको धारणा राखे ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक दोस्रो चरणमा प्रवेश गर्याे । बिटी ह्वाइट र मेरो नेपाल क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
यस्तै दोस्रो खेलमा पाटन एफसीलाई भाइब्रेन्ट एफसीले २–० को गोलले पराजित गर्याे । भाइब्रेन्टको जीतमा अजय गुरुङ र एलिया गुरुङले समान १/१ गोलको योगदान दिए । प्रतियोगिताको पहिलो चरणका बाँकी खेलहरु शुक्रबार बिहान ८ बजेबाट सञ्चालन हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ४६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा, २२ माघ ।
आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले शुक्रबारको खेल जित्ने विद्यालय सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित विद्यालय प्रतियोगिताबाट बाहिरिने छ ।
प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा प्रतिभा माविले नेपाल भारत मैत्री विद्यालयलाई ८४ रनले पराजित गर्यो । पहिलो खेलमा वाराही माविलाई ३ विकेटले पराजित गरेको प्रतिभा मावि लगातार दुई खेल जित्दै प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो । शुक्रबारको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको प्रतिभा माविले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षेतीमा १४० रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण लक्ष्य बनाउने क्रममा प्रतिभाका सहबुदिन अन्सारीले ४८ बलमा अर्ध सतकसहित ६१ रन, मिसन विकले २४ बलमा २१ रन र सफल थापाले २६ बलमा २० रनको योगदान दिए ।
प्रतिभा माविलाई विशाल स्कोर हुनबाट रोक्न नेपाल भारत मैत्री विद्यालयका समी उल्लाह आलमले ४ ओभरमा २० रन खर्चेर २ विकेट, विवेक कुमारले ४ ओभरमै १६ रन खर्चेर २ विकेट तथा सत्यानन्द उपाध्यायले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । ४१ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्री विद्यालय ११ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सिमित रह्यो । प्रतिभा माविका बलरहरुसामु नेपाल भारत मैत्री विद्यालयका प्रायः सबै व्याटर निरीह देखिए । नेपाल भारत मैत्री विद्यालयलाई सस्तैमा समेट्न प्रतिभाका निश्चल दाहालले २ ओभर बलिङ गर्दै ९ रन खर्चेर ५ विकेट हत्याए भने सफल थापाले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट तथा सफल श्रेष्ठले २ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए । सो खेलमा बिजयी प्रतिभा माविका ५ विकेटधारी निश्चल दाहाल प्लेयर अफ दी म्याच घोषित भए ।
शुक्रबार भएको अर्को खेलमा गुरुकुल सेकेण्डरीले जनप्रिय माविलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने आशा जिवितै राखेको छ । टस जितेर जनप्रिय माविले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षेतीमा १४४ रन बनायो । गुरुकुलका लागि विवेक अधिकारीले ३७ बलमा ४१ रन, सुदीप सुनारले १५ बलमा २६ रन र एलोन भट्टले २८ बल सामना गर्दै २४ रनको योगदान दिए । गुरुकुललाई विशाल योगफल बनाउनबाट रोक्ने क्रममा जनप्रियका हेमराज प्रसाद उपाध्यायले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर २ विकेट, मौषम भट्टराईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट तथा सम्राट क्षेत्रीले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिए ।
१४५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको जनप्रिय मावि ८.३ ओभरमा सबै विकेट गुमाएर केवल ३४ रनमा समेटियो । जनप्रियको ईनिङमा सन्देश स्याङ्तानले १४ बलमा १० रन बनाउनुबाहेक अन्यको व्याट चलेन । जनप्रियलाई सस्तैमा समेट्न गुरुकुलका सुदीप सुनारले २.३ ओभरमा २ रन खर्चेर ३ विकेट, हेमन्त नेपालीले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा प्रमिस गैह्रेले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा गुरुकुलका सुदीप सुनार प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा मदरल्याण्ड र गुरुकुल तथा दोस्रो खेलमा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिनेछन् । शुक्रबारको खेलसँगै सेमीफाइनल समीकरण पूरा हुनेछ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, संघीयताको मर्म बमोजिम नागरिकसामू जिम्मेवार भई नागरिकका अपेक्षा चाहनालाई गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रप्रति पूर्ण प्रतिबद्ध रही पूरा गर्न सकोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।
‘आगामी दिनमा पनि गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबीच सामाजिक, सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानून निर्माण र कार्यान्वयन विषयमा सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुनेमा विश्वस्त छु ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।





