
पोखरा, २४ माघ ।
पोखरामा सम्पन्न साफ यू १९ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । पोखरा रंगशालामा आज शनिबार भएको फाइनलमा भारतले साबिक विजेता बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
बंगलादेशमाथि भारतले सहज जित निकाल्दै ट्रफी उचाल्यो ।
पहिलो हाफमा एक गोलले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो । भारतको जितमा ४२ औं मिनेटमा जुलान नोङमाइथेमले सुरुआती गोल गरेकी थिइन् । ६३ औं मिनेटमा एलिजावेथ लर्काले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसको ५ मिनेटमै पर्ल फर्नान्डेजले तेस्रो गोल गरिन् । खेलको ८३ औं मिनेटमा अन्विता रघुरामानले चौथो गोल गर्दै गोल अन्तर फराकिलो बनाईन ।
बंगलादेशले लिग चरणमा भुटानलाई १२–०, भारतलाई २–० र नेपाललाई ४–० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । यता भारतले नेपाललाई १–० र भुटानलाई ८–० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।
यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको छ । भारतले पनि यो सँगै ३ पटक उपाधि माथि कब्जा जमाएको छ । यसअघि दुईपल्ट फाइनल प्रवेश गरेको नेपाल यसपल्ट भने लिग चरणबाटै बाहिरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापन तथा कास्की जिल्ला फुटबल संघ, जिल्ला खेलकुद विकास समिति र पोखरा महानगरपालिकाको समन्वयमा आयोजित च्याम्पियनसिपमा भारतले ‘अनुशासित टोली’ को पुरस्कार जित्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपरको पुरस्कार भारतकी मुन्नीले हात पारिन् । सर्वाधिक गोलकर्ता तथा मोस्ट भ्यालुएबल खेलाडीको उपाधि भने बंगलादेशकी अल्पी अख्तरले उचालिन ।
पोखरा, २४ माघ ।
आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताकाे १० औं सस्करण आजदेखि सुरु भएको छ । भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु भएको हो ।
भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु भएको पुरुष क्रिकेट विश्वकप मार्च ८ सम्म चल्ने छ । ३० दिनसम्म चल्ने प्रतियोगितामा भारतका ५ र श्रीलंकाका ३ स्थानमा गरी ५५ वटा खेलहरु सम्पन्न हुने छन् ।
यसैबीच, नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने भएको छ । प्रचार नेपालको व्यवस्थापनमा एक्ट्रिम इनर्जी ड्रिक्सले पोखरा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा नेपालका खेल लाइभ देखाउन लागेको हो । जसलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ ।
ठूलो साउण्डसहित ठूलो स्क्रिनमा लाइभ देखाउन लागिएको आयोजकले जनाएको छ । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डसँग खेल्नेछ ।
दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिज र चौथो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ ।
काठमाडौं, २४ माघ ।
नेपाल सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ। निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको उनले बताए ।
हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने गृह मन्त्रालयले जनाएकाे छ।
साथै निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बताए।
काठमाण्डौँ, २४ माघ ।
पाकिस्तानको संघीय राजधानी इस्लामावादमा शुक्रवारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको शक्तिशाली विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ ।
करिव १७० जना घाइते भएका छन् । इस्लामावादका डेपुटी कमिश्नर इरफान नवाज मेमनकाअनुसार यो विष्फोट शहजाद टाउन क्षेत्रमा अवस्थित शिया मस्जिदमा भएको हो । जसका कारण नजिकैका प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
घाइतेहरूको इस्लामावाद र छिमेकी सहर रावलपिण्डीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र गम्भीर घाइतेहरूको संख्या उच्च रहेकाले मृतकको संख्या बढ्नसक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । विष्फोटपश्चात सुरक्षा बल र उद्धार टोलीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेका छन् भने प्रत्यक्षदर्शीहरूले मस्जिदको प्रवेशद्वारमा रोकिएपछि एक आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराएको बताएका छन् ।
हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी नलिएको भए तापनि पाकिस्तानी तालिवान र इस्लामिक स्टेट जस्ता लडाकु समूहहरू यसअघि यस्ता गतिविधिमा संलग्न रहँदै आएका छन् । प्रधानमन्त्री शहबाज सरिफले यस कायरतापूर्ण आक्रमणको कडा शब्दमा निन्दा गर्दै निर्दोष नागरिकहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।





