२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

पोखरा, २५ माघ ।

कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका छन् ।

कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि अनुहारमात्र बदलेर नहुने बताए ।

‘सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको बाढी छ । यसलाई हेरेर धेरैले रमाइलो मानेका छन् तर मतदाताले एजेण्डा, उम्मेदवारको क्षमता र उसको विज्ञता हेरेर मत दिनुपर्छ,’ कुशलले पोखरा–८ का मतदातासँग भने, ‘देशको खास समस्या कहाँनेर हो ? त्यो समाधान कसरी हुन्छ ? सुशासन कायम गर्छु भनेरमात्रै हुन्छ कि त्यो समस्या पनि पहिल्याउनुपर्छ ? यो कुरा सोधरमात्र मत दिनुहोला ।’

कुशलले फोहोरलाई मल, ग्यास, ऊर्जामा बदलेर व्यवस्थापन गर्न कसरी सकिन्छ भनेर आम्दानी, रोजगारीसँग जोड्न अनुसन्धान, प्रयोग आफूले गरेकोसमेत सुनाए । विकसित देशहरुमा पनि फोहोरको समस्या रहेको बताउँदै उनले नेपालजस्तो शहरमा बेलैमा नसोच्ने हो भने ठूलो समस्या निम्तिने बताए ।

‘हिमाल, नदी र तालसँग सम्बन्धित पर्यटनबाट पोखराजस्तो सहरले अहिले सानो फाइदा लिएको छ । यसलाई व्यवस्थित गर्ने, पर्यावरणीय र जलवायु परिवर्तनलाई बेलैमा नीतिगत तहबाट जोड्ने काम गर्न सकिएन भने पोखरालेसमेत ठूलो क्षति बेहोर्न सक्छ,’ कुशलले भने, ‘कति उम्मेदवारले यो मुद्धा उठाइरहेका छन् र बोलिरहेका छन् ? त्यो हेरेर मत दिउँ ।’

लामो समय ऊर्जाविज्ञको रुपमा काम गरेका कुशलले नेपालमा जलवायु परिवर्तन क्षेत्रमा सरकारलाई नीति निर्माणमै सघाएका थिए । गण्डकी प्रदेशको जलवायु नीति, पोखराको ऊर्जा नीति बनाएका कुशलले भने, ‘पहिलो कुरा त नीति निर्माणमै सरकार गम्भीर भएन, दोस्रो कुरा बनेको नीति पनि ठिक ढंगले कार्यान्वयन नभएपछि म आफैं सांसद बनेर त्यो काम गर्छु भनेर घरदैलोमा आएको हुँ ।’
अहिलेको एआइको जमानामा सामाजिक सञ्जाल प्रयोग गरे पनि सबै सामाग्रीमा विश्वास गरेर धारणा नबनाउने उनले आग्रह गरेका छन् । बढ्दो सहकारीकरणले पोखराजस्तो ठाउँमा उत्पादन र रोजगारीका सिर्जना हुने क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ छ । ‘एकातिर हाम्रा पाटनहरु सकिँदै गए । खेतीयोग्य जमिनमा कंक्रिटका घरहरु बनेका छन्,’ कुशलले घरदैलोमा बुझाउने प्रयत्न गर्दै भनिरहेछन्, ‘सहरलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनलाई प्रविधि र बजारसँग जोड्ने नीति चाहिन्छ । यो नीति पोखराका लागि मात्रै होइन, देशकै लागि चाहिन्छ ।’

पोखरासहित गण्डकीले भोगिरहेको जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापनको मुद्धा, ऊर्जा क्षेत्रबाट लिन सकिने लाभसँगै यहाँको पर्यटन, यातायात व्यवस्थापनको मुद्धालाई कुशलले एजेण्डा बनाएर मतादाताको ध्यान खिच्ने काम गरिरहेका छन् ।

आफू सस्तो प्रचारबाजीमा नरमाउने, भीड जम्मा गरेर बिनाएजेण्डा हल्ला गरेर नहिँड्ने कुशलले बताइरहेका छन् । एजेण्डाका विषयमा आफूलाई पनि प्रश्न गर्न र पुराना दलको विकल्प भन्दै आएका सबै नयाँलाई पनि सोध्न उनले अनुरोध गरेका छन् ।

पोखरा, २५ माघ ।
 
पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए ।
विधिवत् रुपले २०११ सालमा स्थापित भए पनि २००८ सालतिरै पोखराका व्यापारीहरु एकजुट भइसकेका थिए र व्यापार संघको तदर्थ समिति पनि बनेको थियो । २०११ सालमा विधिवत् स्थापना भएपछि चाहिँ तत्कालीन समयको पोखरा व्यापार संघ यहाँको जेठो सामाजिक संस्थाको रुपमा प्रतिस्थापित भयो । यही संघको अगुवाइमा शैक्षिक उन्ननयनको लागि बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पससहित दर्जनौं शैक्षिक संस्था,पोखरा विश्वविद्यालयको स्थापना, पृथ्वीनारायण क्याम्पसमा वाणिज्य अनि अर्थशास्त्रको पढाइ हुन थाल्यो ।
 
भौतिक निर्माणको अगुवाइ पनि संघबाटै भएको हालका अध्यक्ष गोकर्ण कार्की बताउँछन् । उनका अनुसार संघले पोखराको महेन्द्रपुलदेखि काहुँको धरहरा,पोखरा सभागृहलगायतका संरचना निर्माणमा नेतृत्वदायी भूमिका निभाएको थियो । पोखरालाई शिक्षा,स्वास्थ्य र पर्यटनको सहर बनाउनुपर्छ भन्ने आवाज पहिलोपटक मुखरित गर्ने तथा सोही अनुरुपका कार्यक्रम तय गर्ने श्रेय पनि संघलाई नै जान्छ । २०३१ सालमा पोखरा औद्योगिक क्षेत्र स्थापना भएपछि पोखरा व्यापार संघले आफूलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गरेको थियो । अहिले पोखरा उद्योग वाणिज्य संघमा करिब ३ हजार साधारण सदस्य रहेका छन् । यो निजी क्षेत्रको हक अधिकारको पैरवी गर्ने र खुल्ला अर्थतन्त्रको पक्षमा आवाज उठाउने संस्था भएको अध्यक्ष कार्कीको भनाइ छ ।
 ‘पोखराले सहरको स्वरुप नलिँदै पोखरा उद्योग वाणिज्य संघ जन्मेको हो । यसका संस्थापक अध्यक्ष नै मुस्ताङमा जन्मेर पोखरालाई कर्मक्षेत्र बनाउनुभएका स्वर्गीय अमृतप्रसाद शेरचन हुनुहुन्छ,’अध्यक्ष कार्की भन्छन्,‘यो संस्था कति समावेशी छ भन्ने दृष्टान्त त्यहीँबाट पुष्टि हुन्छ । पोखरालाई देशका कुनाकुनामा रहेका उद्योगी÷व्यवसायीको आकर्षणको केन्द्र बनाउन हामी निरन्तर लागिरहेका छौँ ।’
संघको ७२ औं स्थापना दिवसको अवसरमा आइतबार सचिवालय गैह्रापाटनमा झण्डोत्तोलन गरिएको छ । सो कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनसहित वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
 संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाका अनुसार संघले चुनावी आचार संहिताका कारण वार्षिकोत्सव केही कार्यक्रमलाई भने थाँती राखेको छ ।  यसैबीच संघको ७२ औं वार्षिकोत्सवकै अवसरमा भगिनी सम्बन्ध गाँसिएको भक्तपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको छ ।
महासचिव गौतमका अनुसार भक्तपुृरको प्रतिनिधिको सम्मानमा संघले कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिकाको ताङतिङमा सो सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा भक्तपुरका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेसहित,पूर्वअध्यक्ष एवं सल्लाहकार शिवप्रसाद मानन्धर, निवर्तमान अध्यष रोशनीमैयाँ धौबन्जासहितको प्रतिनिधिमण्डलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति,पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन,कृष्णमोहन श्रेष्ठ,विश्वशंकर पालिखे एवं संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरुले बधाइ ज्ञापन गरेका थिए ।
सांस्कृतिक सहर भक्तपुृरसँगको भगिनी सम्बन्धमार्फत् पोखराको पर्यटन प्रवद्र्धन गर्ने,संस्कृति र सीप हस्तान्तरणमार्फत् पर्यटकीय गतिविधि बढाउने लक्ष्य पोखरा उद्योग वाणिज्य संघको रहेको छ । 

पोखरा, २५ माघ ।

प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो । प्रतिभाका लागि सफल श्रेष्ठले ४९ बलमा ७२ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २१ ब्लमा १८ रनको योगदान दिए । प्रतिभालाई विशाल स्कोर बनाउनबाट रोक्ने क्रममा मदरल्याण्डका भुवनबहादुर भण्डारीले ३ ओभरमा १ मेडन ओभरसहित ४ रन खर्चेर ३ विकेट लिए भने विलोभ मल्ल, सद्रीस पौडेल, रमेश भट्ट र शुभम गिरीले १÷१ विकेट लिए ।

१३८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड भने १३.४ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रनमा समेटियो । मदरल्याण्डका लागि रोमिस भट्टले ११ बलमा १३ रन बनाउनुबाहेक अन्यको व्याट नचल्दा पराजय बेहोर्दै उपबिजेतामै सिमित बन्यो । मदरल्याण्डलाई सस्तैमा समेट्न प्रतिभाका सफल थापाले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट र सफल श्रेष्ठले ३.४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । खेलमा प्रतिभाका अलराउण्डर सफल श्रेष्ठ प्लेयर अफ म्याच घोषित भए ।

च्याम्पीयन बनेको प्रतिभा माविले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उप–बिजेता बनेको मदरल्याण्डले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा च्याम्पीयन बनेको प्रतिभा माविका सफल श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । त्यस्तै, प्रतिभा माविका सहबुद्दिन अन्सारी उत्कृष्ट ब्याट्स म्यान र बाल मन्दिर माविका सुमन अधिकारी उत्कृष्ट बलर बने । उनीहरुलाई पनि ट्रफी प्रदान गरिएको थियो ।

बिजयीहरुलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य भोजराज बराल, प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली, निर्देशक सन्देश पौडेललगायतले पुरकास्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यो प्रतियोगिता ग्रासनेस टु ग्रेटनेस क्रिकेटका लागि कोशेढुंगा सावित हुनेछ ।’

आयोजक प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको बताए । प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आगामी वर्षदेखि छात्र र छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरे । यसपटक छात्रहरुबाट शुरु गरेका छौं,उनले भने,‘आगामी वर्षदेखि छोराछोरीहरु सबैले खेल्नसक्ने गरी छात्र, छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँछु ।’

पोखरा, २५ माघ ।  

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।

उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे ।

यस्तै त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा लाहाचोकले ४–३ गोल अनतरले हरायो । मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो ।

रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित गर्याे । छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे ।

सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले  मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १/१ गोल गरे । आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो । लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १/१ गोलको योगदान दिए ।

सोमबार पनि बिहान ८ बजेबाटै दोस्रो चरणकै खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा, २५ माघ ।

पोखरा महानगरपालिका–११ मा रहेको नोबेल सेकेन्डरी स्कुलले २०औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्मचारीले गुणस्तरीय तथा आत्मनिर्भर शिक्षा आजको समयको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले विद्यालय शिक्षासँगै सीपमूलक तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यस दिशामा अझ प्रभावकारी कार्यक्रम अघि बढाउन विद्यालयलाई सुझाव दिनुभयो । प्याव्सन कास्कीका अध्यक्ष सडानन्द गौतमले पछिल्लो समयमा युवा शक्ति विदेशीका कारण बिद्यार्थीहरुको सङख्या घट्दो क्रममा रहेको बताउनु भयो ।

विद्यालयका प्राचार्य रत्नमान गुरुङको अध्यक्षतामा शनिबार सम्पन्न भएको कार्यक्रममा अभिभावक रमेश परियारले वोल्नु भएको थियो भने विद्यार्थी तृप्ति रानाले स्वागत बिद्यालयका सह–प्राचार्य ललित मगरले संचालन गर्नु भएको थियो ।

उक्त अवसरमा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमले सहभागी अभिभावक तथा अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको विद्यालय प्रशासनको भनाइ छ ।

पोखरा, २५ माघ ।

चार वटा उमेर समुहमा खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता आउदो फागुन महिनाको पहिलो हप्ता पोखरामा हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा पोखरा महानगरपालिका–१०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन १ देखि ३ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को पाँचौँ संस्करणमा यू–११, य्रू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर समूहका खेलाडीहरूको प्रतिष्प्रर्धा गर्ने भएका भएको फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले बताउनु भयो । ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका उदयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, खेलकुद विकासलाई टेवा दिने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले जनाउनु भयो ।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका खेलाडीहरूको सहभागिता रहने पूर्व राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडी समेत रहनु भएको अध्यक्ष गुरुङले जनाउनु भयो । प्रतियोगिता अन्तर्गत यू—११ र यू—१३ तर्फका विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यसैगरी यू–१७ तथा यू–१९ समूहमा प्रथम हुने खेलाडीले जनही मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद ४० हजार रुपैयाँ, द्वितीयले २० हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘बेस्ट स्कूल ट्रफी’ प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जापानी प्रशिक्षक टि–यामामोतोले नेपालको ब्याडमिन्टन खेलमा राम्रो सम्भावना रहेको दाबी गर्दै फिट नेपालले ग्रासरुट तहको खेल विकासमा उल्लेखनीय योगदान दिएको बताउनुभयो । त्यसैगरी फाउण्डेसनका सल्लाहकार जयराज हमालले मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताले पोखरा क्षेत्रको ब्याडमिन्टन खेलको विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो ।

फिट नेपाल र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ । प्रतियोगिताले विद्यालयस्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरतर्फ अघि बढ्न प्रेरणा मिल्ने संयोजक बरदान ताङवे लामाले विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा यू–१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना लगायतका चर्चित खेलाडीहरूको सहभागिता रहने उहाँले जनाउनु भयो । देशका विभिन्न भाग जस्तै काठमाण्डौं, चितवन, भैरहवा, धरान लगायतबाट खेलाडीहरु आउने भएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्याडमिन्टन खेलाडी पुनम गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एममबी आस्था लगायतको सहभागिता रहेको थियो ।

पोखरा, २५ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्। सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् ।

संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरिएको क्षेत्र नम्बर २को सचिवालयले जनाएको छ ।

कार्यक्रममा स्थानीयले भोग्दै आएका समस्या, विकासका आवश्यकता, सेवा प्रवाहका कमजोरी तथा भावी योजनाका विषयमा खुलेर आफ्ना सुझाव र अपेक्षा राखेका थिए। उम्मेदवार पौडेलले स्थानीयका आवाजलाई संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माणमा नागरिकको सहभागिता अनिवार्य हुने बताए।

संवाद यात्रामा निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेल (बहादास), गण्डकी प्रदेश सह–महामन्त्री अनिस अधिकारी, पोखरा–२१ का सभापति पवित्रमणि अधिकारीलगायत केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्र तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

रास्वपाले आगामी दिनहरूमा पनि कास्की–२ का विभिन्न स्थानमा यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। संवाद यात्राले कास्की–२ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।

पोखरा, २५ माघ ।

पोखरामा २५ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप प्रतियोगिता माघ २७ देखि हुने भएको छ । सहारा क्लब पोखराको आयोजनाको यही माघ २७ देखि फागुन ९ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रतियोगितामा ३ विदेशी क्लबसहित १२ टिमको सहभागिता रहने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । विदेशी क्लबमा उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेड छन । पहिलो पटक प्रतियोगिताका सम्पूर्ण खेलहरु सन्ध्याकालीन समयमा फ्लड लाइटको माध्यमबाट खेलाइने भएकाले पोखरेली दर्शकहरुका लागि यो विशेष आकर्षण बन्ने विश्वास लिइएको बताए  ।

प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएका छन् । अनुशासित टोलीलाई २५ हजार रुपैयाँ र ट्रफी दिइनेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको ’म्यान अफ दि म्याच’ बापत १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । दर्शकहरुलाई समेत प्रोत्साहित गर्न प्रत्येक म्याचको भाग्यशाली दर्शकलाई ५ हजार रुपैयाँ र ‘फ्यान अफ दि म्याच’ लाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

दर्शकलाई टिकटको ब्यवस्था

आयोजकले प्रतियोगिता हेर्न आउने दर्शकका लागि टिकट दर समेत तय गरेको जनाएको छ । सिजनल टिकटको १ हजार २ सय रुपैयाँ तोकिएको छ भने जर्सी सहितको टिकट ३ हजार रुपैयाँ र जर्सी मात्र खरिद गर्दा २ हजार रुपैयाँ लाग्नेछ ।

साधारण प्यारापिट तर्फका खेलहरुका लागि प्रि–क्वार्टर र क्वार्टर फाइनलमा पश्चिम तर्फ २०० र अन्य तर्फ १०० रुपैयाँ शुल्क लाग्नेछ । सेमिफाइनलमा पश्चिम प्यारापिटको ३०० र अन्यको २०० रुपैयाँ तथा फाइनल खेलका लागि ५०० र ३०० रुपैयाँ टिकट दर कायम गरिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा! रारा तयारी चाउचाउ छ ।

खेल तालिका सार्वजनिक

यसैबीच सहारा क्लबले खेल तालिका सार्वजनिक गरेको छ । जस अनुसार माघ २७ गते उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र हङकङको गार्खा फुटबल क्लबबीच हुनेछ ।

माघ २८ गते जाउलाखेल युवा क्लब र मछिन्द्र फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ । माघ २९ गते नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब खेल्नेछन् भने फागुन १ गते फ्रेण्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड बीच भिडन्त हुनेछ ।

यस्तै फागुन २ गतेदेखि क्वार्टर फाइनलका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल फागुन ६ गते र दोस्रो सेमिफाइनल फागुन ७ गते हुनेछ । फाइनल खेल फागुन ९ गते आयोजना हुने आयोजकले जानाएको ।

५ र ६ नम्बर गेट खुला

आयोजक सहारा क्लब पोखराले फुटवल प्रतियोगिता अवधिभर पोखरा रंगशालाको गेट नम्बर ५ र ६ खुला गरिने जनाएको छ । दर्शकको सहजताको लागि प्रतियोगिता अवधिभर ५ र ६ नम्बर गेट खुला गरिने अध्यक्ष थापाले जानकारी दिए । उनले पैदल ( हिडेरै ) हुदै जाने दर्शकले रंगशालाको मुल गेटलाई प्रयोग गर्न र सवारी साधन प्रयोगकर्ताहरुलाई पछाडिका ५ र ६ नम्नर गेटबाट प्रवेश गर्न आग्रह गरे । यसले पोखरा पृथ्वीचोक स्थित पुल निर्माणको कार्य भैरहेका कारण हुँनसक्ने सम्भावित ट्राफिक जामलाई केही हतसम्म कमि गर्न सकिने उनको भनाई थियो ।

काठमाण्डौँ, २५ माघ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

प्रहरीले प्रसाईंलाई शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनलाई नियन्त्रणमा लिइएको हो।

पछिल्लो समय प्रसाईं ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यही विषयमा गत १९ माघमा चितवन पुगेका उनले राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन नहुने दाबी गरेका थिए।

काठमाण्डौँ, २५ माघ ।

आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ ।

मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो ।

राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए । आसिफ सेख ७ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरिले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ र आरिफसेखले १० रन बनाए । लोकेश बम ३९ र करन केसी १ रनमा अविजित रहे । जित नजिक रहेको नेपालले अन्तिम ओभरमा गुलसन झा को विकेट गुमाउँदा खेल हार्न पुग्यो ।

नपाललाई जित नजिकसम्म पुर्याउन लोकेशले २० बलमा ३९ रन बनाए । उनले ४ चौंका र २ छक्का प्रहर गरे । यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डका ह्यारी ब्रोकले ५३ र ज्याकब ब्यानथनले ५५ रन बनाए । नेपालका दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।