२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

पोखरा, २६ माघ ।

भारतको विहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवद्र्धन अभियन्तासँग पोखरा सहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ ।

विहारबाट पोखरा सहित हिमाल पारीको जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्य घुमेर फर्किएको टुरिज्म एशोसिएसन अफ विहारका प्रेजिडेन्ड सोनुुकुमार सिंह, ट्राभल इन्फ्लुन्सर एवम् अनडिस्कोभर्ड भेन्चर्स प्रा.लि.का डाइरेक्टर आशिष कौशिक, सोही संस्थाका डाइरेक्टर एण्ड को फाउन्डर अभिनाश कौशिक, सोही संस्थामा आवद्ध फोटाग्राफर सुनिल शर्मा लगायतको टोलीसँग पोखरा पर्यटन परिषद् सहित पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिले छलफल गरेका हुन्् ।

उक्त अवसरमा भारतीय टोलीका तर्फबाट मुस्ताङसम्मका पर्यटकीय गन्तव्य पुग्ने क्रममा तयार गरिएको भिडियो प्रस्तुत गरिएको थियो भने पोखरा भ्रमण वर्ष २०२५ ले तयार गरेको गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

छलफलमा कार्यक्रमका अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पोखरा सहित समग्र गण्डकी प्रदेश भारतीय पर्यटकको आकर्षक गन्तव्य भएको बताउँदै यहाँको प्रवद्र्धनमा सहयोग गर्न भारतीय टोलीसँग आग्रह गर्नुुभयो । प्राकृतिक सौन्दर्यतासँगै आतिथ्यतामा पोखरा अग्रणी स्थानमा रहेको उहाँले बताउनुुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा सहित यस क्षेत्रको गन्तव्य प्रवद्र्धनमा सहयोग गर्न भारतीय टोलीसँग आग्रह गर्नुुभयो । विहारबाट हतार गरेर सिधै हिमाली गन्तव्यहरूमा पुग्दा त्यसले पर्यटक स्वयम्को स्वास्थ्य जोखिमी हुने बताउँदै उहाँले पोखरामा आएर आराम गर्दै यहाँका पर्यटकीय गन्तव्यको अवलोकन सहित उक्त क्षेत्रमा पुग्नुुपर्ने धारणा राख्नुुभयो । कतिपय भारतीय सवारीसाधन कानुनले दिएको प्रयोजन विपरित यहाँ व्यवसाय गर्न खोजेको ध्यानाकर्षण गराउँदै उहाँले त्यस्ता गतिविधि नियन्त्रण हुनुु आवश्यक भएको बताउनुुभयो । परिषद्का पूर्व अध्यक्ष सोम थापाले ट्राभल्स इन्फ्लुन्सरको कुनै पनि पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा ठूलो भूमिका हुने बताउँदै यहाँका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि प्रचार गरिदिन आग्रह गर्नुुभयो ।

पोखरा सहित गण्डकी प्रदेशमा धेरै पर्यटकीय गन्तव्य रहेको बताउँदै उहाँले समय लिएर यहाँका पर्यटकीय स्थल घुम्ने वातावरणका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

टुरिज्म एशोसिएसन अफ विहारका अध्यक्ष सोनुुकुुमार सिंहले धेरै सुन्दर गन्तव्यहरू यस क्षेत्रमा रहेको बताउँदै यी स्थलहरूको प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो । ठूलो जनसंख्या भएको विहारबाट पर्यटकको आकर्षण बढाउन सकेमा त्यसले पोखरा सहित यो क्षेत्र लाभान्वित हुने उहाँको भनाइ छ । उहाँले भारतको पटना, बिहारबाट पोखरामा यातायातमा सिधै पहुँच भएमा त्यसले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुुभयो ।

ट्राभल्स इन्फ्लुन्सर अभिषेक कौशिक लगायतले यस प्रदेशको मार्फा लगायतका स्थानहरू उत्कृष्ट गन्तव्यका रुपमा पाएको अनुभव सुनाउँदै आँफूहरूले भिजुुवल रुपमा यी स्थानको प्रचारप्रसार गर्ने जानकारी गराउनुुभयो ।

छलफलमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले भारतीय पर्यटकको बसाई लम्ब्याउन वातावरण बनाउनुपर्नेमा जोड दिनुुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षहरू टिकाराम सापकोटा, चिरञ्जीवि पोखरेल, पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई लगायत पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

 

पोखरा, २६ माघ ।

नेपाली काँग्रेस कास्कीले क्षेत्र नं. २ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव बास्तोला ‘मधु’ को पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सोमबार एक प्रेश विज्ञप्ति प्रकाशित गरी निर्वाचन अभियानका क्रममा सिँढीबाट लडेर बायाँ हातमा चोटलागि हाल मनिपाल शिक्षण अस्पतालमा उपचारार्थ रहेका बास्तोलाको स्वास्थ्य लाभाको कामना गरेका हुन् ।

‘उहाँको स्वास्थ्यको खबर सुनेर नेपाली काँग्रेस दुःखी बनेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईं चाँडै स्वस्थ हुनुहुनेछ र पुनः सक्रिय भूमिकामा फर्कनुहुनेछ।’ बास्तोलाको संघर्ष र समर्पण सधैं पार्टीलाई प्रेरणा बनेको बताउँदै यस कठिन घडीमा पार्टी सधै साथमा रहेको विज्ञप्तिमा जनाईएको छ । बास्तोलाको बायाँ हातको सोमबार नै सफल शल्यक्रिया गरिएको छ ।

 

पोखरा, २६ माघ ।
 
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको जानकी माध्यमिक विद्यालयमा स्थानीय जागरण आमा समुहले अक्षयकोष स्थापना गरेको छ । विद्यालयको ४८ औ बार्षिकोत्सवको अवसरमा आमा समुहले ५१ हजारको अक्षयकोष स्थापना गरेको हो ।
 
नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारमा खेलिएको भैलो तथा टोलछिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलन गरेको रकमबाट समुहले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका विद्यार्थीको पढाईमा सहयोग पु¥याउने लक्ष्यका साथ अक्षयकोष स्थापना गरिएको समुहका निवर्तमान अध्यक्ष शोभा भण्डारीले जानकारी दिनुभयो । 
 
बार्षिकोत्सव समारोहमा आमा समुहका पदाधिकारी तथा सदस्यहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई उक्त रकम बरावरको चेक सामुहिकरुपमा हस्तान्तरण गर्नुभयो । सो समुहले सिताघाट बाटो निर्माण समितिलाई २० हजार ५५ रुपैया सहयोग गरेको उहाँको भनाई छ ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बास्तोलाले अक्षयकोषको चेक ग्रहण गर्दै सामुदायिक विद्यँलयको सुधार केवल सरकारको जिम्मा होइन, समुदायको पनि साझा जिम्मेवारी भएको बताउँदै आमा समुहको यो योगदान हामी सवैका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभयो ।
 
सामुदायिक विद्यँलयमा पढ्ने धेरै विद्यार्थीहरु दैनिकी जीवनका संघर्षसंग लड्दै अध्ययन गर्न वाध्ये छन् उहाँले भन्नुभयो, कसैका लागि किताव किन्न पनि कठिन छ, कसैका लागि विद्यालय पुग्नै चुनौती बन्ने गरेको वर्तमान अवस्थामा छात्रवृत्तिकोष स्थापनाले उनीहरुका लागि केवल आर्थिक सहयोग होइन, पढाईलाई निरन्तरता दिने साहस र आत्मविश्वास थपेको छ ।
 
सो विद्यालयमा आमा समुहको सहित विभिन्न संघसंस्था र सामाजिक व्यक्तिहरुबाट हालसम्म १५ लाख ३८ हजार ९३५ रुपैया बरावरको अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार यस अघि पोखरा १७ का वडा सदस्य शिवराम भण्डारीले आफुले प्राप्त गरेको एक बर्षको सेवासुविधामा केही रकम थप गरेर दिवंगत वुवा धर्मदत्त  र आमा जमुनादेवी भण्डारीको स्मृतिमा  पाँच लाख, दुर्गा नरहरी अक्षयकोष एक लाख ११ हजार १११, कोमलनारायण लक्ष्मी एक लाख ११ हजार १११,चुडामणी पार्वती एक लाख १५ हजार ५५५,चुडामणी धर्मकुमारी चालिसे एक लाख २५ हजार ५५५, धनञ्जय नारायणी एक लाखको अक्षयकोष स्थापना गर्नुभएकोछ ।
 
त्यसैगरि शिविन्द्र सीता,५५ हजार ५५५, गुप्तेश्वर गुफा दुई लाख, ढुङ्केसाँघु सितापाईला आमा समुह,५१ हजार १०५, बिक्रम भण्डारी(छोराको नाममा) २१ हजार, नगेन्द्र लक्ष्मी शर्मा ५५ हजार ५५५, गोमा पराजुली ५० हजार र बाटुली अक्षयकोष ५० हजार पाँच रुपैया एवम् सामुहिक अक्षयकोषमा विभिन्न छ जनाले ३० हजार रुपैया जम्मा गर्नुभएको उहाँको भनाई छ ।
 
बैकमा व्याजको दर दिनप्रतिदिन कमी आएको कारण अक्षयकोषदाताले राखेको रकमबाट सामान्य व्याज प्राप्त हुने हुँदा सम्पूर्ण कोषको रकम एकै ठाउँमा संकलन गरेर आवश्यकता अनुसार विद्यार्थीको शिक्षा क्षेत्रमा लगानी गर्ने विद्यालयले सोच बनाएको छ ।
 
 
 

पोखरा, २६ माघ ।

लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत व्यवसायीहरुले जिवनभर आफुलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने र व्यवसायीक जिवनमा सफलता हासिल गर्न सकिने वताएका थिए ।

उनले व्यवसायीक जिवनमा कसैले खोट लगाउन नसक्ने स्वभिमानी जिवन बाँच्नको लागि विभिन्न किसिमका करहरुसम्बन्धी जानकारी हुनुपर्ने र कर तिर्नु हरेक नागरिकको कर्तव्य समेत भएकाले नियतवश कर छल्ने कार्य गर्दा भोलीका दिनमा कसैले पनि सहयोग गर्न नसक्ने अवस्था आउनेतर्फ सजग गराए ।
कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीक जिवनमा अझै सफल बनाउने उद्धेश्यले र कर गणना, कर विवरण भर्ने, कर चुक्ता लिने, आय विवरण बुझाउने, करसम्बद्ध झन्झटहरु मिसम्याचमा पर्ने, ननफाइलर रहने जस्ता विषयमा व्यवसायीले भोगेका समस्याहरु निराकरणका लागि तालिमको आयोजना गरिएको बताईन । उनले राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको करप्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन ।

उक्त अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले भोगेका समस्याहरु निराकरणका तालिमको आयोजना गरिएको बताउँदै कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने विषय भएकाले उद्यमीरव्यवसायीहरुलाई सचेत बनाउन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गराउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायीहरुमा करलाई प्राथमिकता र महत्व नदिइएका कारण विभिन्न समस्या भोगिरहनुपरेको र राज्यको ऐन कानुन एवं कर नितिको बारेमा ज्ञान भएन भनेर उन्मुक्ति नपाईने भएकाले यस विषयमा सचेत गराउन तालिम प्रभावकारी हुने वताएका थिए । उनले प्रत्येक आर्थिक वर्षको शुरुवातसँगै परिवर्तन भईरहने कर नितिको विषयमा पनि व्यवसायिहरुले आफुलाई अद्यावधिक राख्नुपर्ने वताएका थिए ।

७० भन्दा वढि उद्योगिरव्यवसायीहरुको सहभागिता रहेको तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।

पोखरा, २६ माघ ।  

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दोस्रो चरणका सम्पूर्ण खेल सकिएको खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा डेभिजफल्सले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै डेझिजफल्स प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।

डेभिजफल्सको जीतमा रविन्द्र केसीले निर्णायक गोल गरे ।

यसैगरी दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले हरायो । लभ्ली ब्वाइजको जीतमा सविन थापा र रोहित नेपालीले समान १/१ गोल गरे ।

तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।

लामागाउँको जीतमा सरोज तामाङले निर्णायक गोल गरे ।

चौंथो खेलमा स्याङ्जा युथ क्लबले सुजन डल्ला एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्याे । स्याङ्जाको जीतमा राजेश राजपाल र समिर पुरीले समान १/१ गोल गरे । भने, डल्ला एफसीको तर्फबाट प्रसन्न श्रेष्ठले सान्त्वना १ गोल फर्काए ।

एनएसवाइसी पुरुन्चौर र एन्जो ग्रुपबीच भएको पाँचौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा पुरुन्चौरले २–१ गोल अनतरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।

‘सिक्स भर्सेस सेभेन’

यस्तै आज भएको अन्तिम खेल निकै रोचक बन्यो । मिक्की एफसी र रामघाट ह्वाइटबीच भएको खेलमा १४ औं मिनेटमा रामघाटका सुदेश गुरुङले पहिलो गोल गरे ।

त्यसपछि खेलको दोस्रो हाफको २१ औं मिनेटमा मिक्की एफसीका अमिर गुरुङले १ गोल फर्काउदै खेल बराबरीमा ल्याए । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रामघाटका डिफेण्डर निशान श्रेष्ठ रातो कार्डको शिकार बने । 

रामघाट ६ जना खेलाडीमा सिमित बन्यो । तर, त्यसको फाइदा भने मिक्की एफसीले उठान सकेन ।  

रामघाटमाथि हाबी भएपनि खेलको २९ औं मिनेटमा रामघाटका लागि सुदेश गुरुङले अर्काे गोल गर्दै दोब्बर बनाए । अन्त्यमा त्यही गोल निर्णायक बन्याे । र, रामघाट ह्वाइट प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

उनका अनुसार अब मंगलबार प्रिक्वाटरफाइनलका ८ खेल हुनेछ ।

प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

काठमाण्डौँ, २६ माघ ।

सरकारले जेनजी आन्दोलनको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । 

सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ ।

सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘नेपाल सरकार मन्त्रीपरिषदको २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो ।’

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो ।

३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रीपरिषद बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो ।

आयोगले आफनो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रीपरिषद बैठकले पुन २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रो पटक थपिएको समयावधि भित्र पनि आयोगले आफनो प्रतिवेदन बुझाउन नसकेपछि पुन तेस्रो पटक २५ दिन सरकारले म्याद थप गरेको हो ।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।