
पोखरा, १० चैत ।
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा व्यवसाय सञ्चालनको अवस्थामा रहेको सन्दर्भमा रात्रिकालीन दौडले व्यवसायीलाई प्रवद्र्धन गर्ने बताए । उनले प्रतियोगिता सफल पार्न आफ्नो वडाले विशेष भूमिका निर्वाह गर्ने बताउँदै पोखराको नयाँ ब्राण्ड बन्न सक्ने उदाहरणीय प्रतियोगितालाई सबैले अपनत्वसहितको दायित्वबोध गर्नसमेत सुझाए ।
पोखरा वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता सफल पार्न आवश्यक सहयोगसहित वडाका टोल विकास संस्था, आमा समूह, क्लब र विभिन्न संघसंस्थासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले प्रतियोगिताको आयोजक पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्र भएपनि यो समग्र पोखरेलीको इभेन्टको रूपमा लिएर रात्रिदौड भएकाले लाइट नपुगेका ठाउँमा आवश्यक लाइटको व्यवस्था गर्ने बताए ।
पोखरा वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालले नयाँ सोचले आएको नयाँ इभेन्टका सहभागी धावकहरूलाई उत्साहित बनाउन वडाबाट पूर्ण सहयोग हुने धारणा राखे । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफल पार्न समितिका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे । प्रतियोगिताका प्राविधिक प्रमुख ओम गुरुङले रात्रिकालीन दौडको रोडमा लाइट आवश्यक भएको ठाउँमा व्यवस्थापनका लागि वडालाई जानकारी गराउने बताए ।
सरोकारवालाको छलफलमा ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले कार्यव्यस्तताले भौतिकरूपमा सहभागी हुन नसके पनि प्रतियोगितामा आवश्यक सहयोग रहने टेलिफोन जानकारी गराए । प्रतियोगिताका संयोजक दीननाथ बरालले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न रात्रिदौड आयोजना गरिएको बताए ।
उनले पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटरको दौड सेन्टरप्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा महेन्द्रपुल हुँदै झण्डा पार्क फल्चामा समापन हुने जानकारी दिए ।
पोखरा पर्वद्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले राति आयोजना हुने दौडले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता जस्ता शक्तिशाली सन्देश बोक्ने मात्र नभएर पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षमा प्रर्वद्धनात्मक कार्यक्रम कम भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” अवधारणामा रात्रिदौड आयोजना गर्न लागिएको बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा यही चैत्र २८ गते हुने प्रतियोगिताका लागि पोखरा वडा नं. ९ ले समन्वय गरेको सो अवसरमा जानकारी गराइयो । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरकारूपमा सहयोग गर्ने प्रतियोगिताका लागि केही दिनमै अनलाइन फर्म खुला हुने केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । उक्त प्रतियोगिताको लागि अटोवेज प्रा.लि. सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ लगायतका संघ संस्थाको सहयोग रहेको छ ।
पोखरा, १० चैत्त ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मन्त्रालयले महिला, बालबालिका तथा हिंसा पीडितहरूको संरक्षण, पुनस्र्थापना र सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। गण्डकी प्रदेश सभाको नवौं अधिवेशनमा यसअघि मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरुको जवाफल दिँदै उनले मंगलबार यस्तो बताएका हुन् ।
मन्त्रालयले हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याई हालसम्म ९४ जनालाई आश्रय प्रदान गरेको छ । तीमध्ये ४६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने बाँकीले सुरक्षित आवाससहित मनोवैज्ञानिक सहयोग पाइरहेका छन्। साथै, बागलुङ, पर्वत, म्याग्दी, लमजुङ, गोरखा, स्याङ्जा, तनहुँ र नवलपुर जिल्लामा अल्पकालीन सेवा केन्द्र सञ्चालनमा रही तत्काल उद्धार र संरक्षण सेवा उपलब्ध गराइँदै आएको उनले जानकारी गराए ।
महिलाहरूलाई तुरुन्त सहायता उपलब्ध गराउन टोल–फ्री हेल्पलाइन र अपाङ्गता भएका व्यक्तिका लागि दुभाषेसहितको सहायता कक्ष सञ्चालनमा रहेको मन्त्री थापाले उल्लेख गरे । महिला उद्यमशीलता, नेतृत्व विकास, लोक सेवा तयारी तथा प्रविधि सहयोगमार्फत महिलाको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू समेत प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्।
कानुनी सहयोगका लागि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत सेवा प्रवाह हुँदै आएको छ भने कास्की र पर्वतस्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्रहरूबाट विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेका छन्। इलेक्ट्रिकल, अटो मेकानिक, सिलाइकटाई, ब्युटिसियन, मोबाइल मर्मत लगायतका तालिमले सहभागीलाई स्वरोजगारी र रोजगारीमा जोड्न सहयोग पुगेको मन्त्री थापाको भनाइ छ।
यसैबीच, गत भदौ २३–२४ मा भएको जेन्जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको मर्मत तथा पुनर्निर्माण कार्य जारी रहेको छ । उक्त घटनामा मन्त्रालय र मातहतका कार्यालयहरूमा गरी करिब ११ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। बीमा दाबी प्रक्रिया अगाडि बढाइएको र केही सामग्री लिलामी प्रक्रियामा रहेको उनले जनाए ।
कानुनी तथा नीतिगत सुधारअन्तर्गत दलित अधिकार, अपाङ्गता अधिकार तथा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन कार्यान्वयनका लागि नियमावली निर्माण प्रक्रिया अगाडि बढाइएको छ भने बालबालिका अधिकारसम्बन्धी नियमावली अन्तिम चरणमा पुगेको उनले बताए ।
गोरखाको छेपेटारमा निर्माण सम्पन्न ज्येष्ठ नागरिक आश्रम सञ्चालनको तयारीमा रहेको छ भने पोखरा–८ मा सरकारी कर्मचारीका शिशुहरूको दिवा हेरचाह केन्द्र सञ्चालनमा आइसकेको छ, जहाँ हाल १७ जना बालबालिकालाई सेवा दिइँदैछ।
शैक्षिक परामर्श तथा भाषा शिक्षण सेवा सञ्चालनका लागि ४८ संस्थालाई अनुमति प्रदान गरिएको छ भने अन्य संस्थाहरू प्रक्रिया मै छन्। यसबाट प्रदेश सरकारको राजस्वमा समेत योगदान पुग्ने अपेक्षा गरिएको मन्त्री थापाको भनाई छ । सीप विकासतर्फ कास्की र पर्वतमा सयौं युवालाई तालिम प्रदान गरिएको छ। कास्कीमा २८७ र पर्वतमा २४० जनाले तालिम सम्पन्न गरिसकेका छन् भने थप सयौं प्रशिक्षार्थी तालिममा संलग्न छन्।
दक्ष जनशक्ति उत्पादनका लागि स्याङ्जाको फेदिखोलामा दक्षिण कोरियाको सहयोगमा प्राविधिक शिक्षालय निर्माण कार्य अघि बढिरहेको छ। त्यस्तै, प्रदेश संग्रहालय पोखरामा कोसेलीघर निर्माण कार्य जारी रहेको छ। वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन १३ आप्रवासी स्रोत केन्द्रमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ भने २८ स्थानीय तहसँग सहकार्यमा योग तथा ध्यान कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।
मन्त्रालयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, भाषा, संस्कृति, श्रम तथा रोजगार लगायतका क्षेत्रमा समग्र सामाजिक विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।
वीरगंज, १० चैत ।
नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको जाउँ है पोखरा अभियान सुरु भएको छ । होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो ।
आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुने छ । आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ बर्षअघि यो अभियान सुरु गरिएको थियो । अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई पनि छनोट गरिएको छ ।
वीरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अभियानको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताए । सिमा नाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरे । पुलिसले पैसा खान यस्तो गरेको हो( उनले दाबी गरे । भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव राखे ।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले माओवादी द्वन्द्व, भुकम्प, नाकाबन्दी, कोभिड र बैंकको चर्को ब्याजदेखि मध्यपूर्व तनावसम्म आइपुग्दा नेपाली पर्यटनले धेरै मार खेप्नु परेको बताए । सो अवसरमा उनले विगतमा संचालन भएर विचमा रोकिन पुगेको पोखरा(सिमरा हवाई उडान सेवा पुनस् संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।
मधेश प्रदेशका पूर्ब मन्त्री ओमप्रकाश शर्माले पोखरा(सिमरा उडान रोकिनु दुस्खद विषय भएको बताउँदै उडान सुरु गर्ने कार्यमा आफ्नो पनि भूमिका रहेको स्मरण गराए । यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र नीजी क्षेत्र मिलेर उक्त रुटमा उडान सुचारु गरिनुपर्ने सुझाव उनले राखे ।
संघका अध्यक्ष सुबेदीले पोखराको होटल क्षेत्रमा मात्र ६ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिंदै पोखरा पुग्ने पर्यटक मध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहने गरेको जानकारी दिए ।
कार्यक्रममा उनले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पुर्वका बासिन्दालाई निम्ता प्रदान गरे । महोत्सवका सहभागी पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि उनले गरे ।
सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट र पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउन बोर्डले ब्यबसायीसँग सहकार्य गरेर अगाडि बढीरहेको बताए ।
कार्यक्रममा ब्यबसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गारिएको, सिमा नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्यक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारीलाई निर्वाध संचालनमा अबरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाए । भारतीय सवारीलाई सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत् दिन पनि ब्यबसायीले माग गरे । २५ हजार भारु भन्दा बढी रकम बोकी नेपाल आउने भारतीयलाई सिमानामा अझै पनि दुस्ख दिने गरिएको विषय पनि सो अवसरमा चर्चा गरियो । पोखरामा फोहोर बढेको, कंकृटका घर बढ्दै गएको र फेवाको उचित संरक्षण नभएको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गरेका थिए । पूर्ब र पोखराले एक अर्काको हितको लागि पर्यटक र व्यापार आदानप्रदान गर्न सक्ने पनि उनले चर्चा गरे । सो अवसरमा वीरगंज उद्धोग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, समाजसेवी एबं उद्धोगपती अशोककुमार बैद्य, पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जरा र आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेस्ठले भनाई राखेका थिए ।





