२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, १३ चैत ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ । स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले स्वरेक कोट आफ्नो माइती गाउँसँग जोडिएको स्थान भएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। प्रदेशको सीमित बजेटका हुने भन्दै केन्द्र सरकारसँग पहल गर्न तयार रहेको पनि बताइन्। भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायराम खनाल ले स्थानीयवासीको सक्रियतामा उल्लेखनीय आर्थिक संकलन भई भौतिक संरचना निर्माण सम्भव भएको बताए। उनले स्वरेक कोटमा नियमित पूजा सञ्चालनको आवश्यकता औंल्याउँदै त्यसका लागि सवै लाग्नुपर्ने धारणा राखे।

भीरकोट वडा नं. ५ का अध्यक्ष कृष्ण बहादुर थापा ले आगामी बजेटमार्फत क्षेत्रको विकासमा सहयोग गर्ने जनाउँदै स्वरेकलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, समाजसेवी यामलाल शर्मा पंगेनी, इश्वर सेन ठकुरी लगायतले स्वरेक कोटको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनका अनुसार सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानबाट २३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको थियो। सोही रकममध्ये करिब १३ लाख रुपैयाँको लागतमा दुई घण्टी ( १२६ किलो र ३० किलो) तथा त्रिशुत स्तम्भ , सहयोगीहरुको शिलालेखमा नाम सहित अन्य भौतिक संरचना निर्माण गरिएको हो।
अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्थानीय कमल सेनलाई विशेष सम्मान गरिएको छ भने आर्थिक सहयोग गर्ने २५६ जना दातालाई पनि सम्मानपत्र प्रदान गरिएको समितिका कोषाध्यक्ष कमला सेनले जानकारी दिइन्।

कार्यक्रममा पत्रकार घनश्याम पाण्डेले स्वरेक धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि पूर्वाधार विकासमा अझै पछि परेको टिप्पणी गरे। नेपालमै पहिलो प्याराग्लाइडिङ विश्वकप आयोजना भएको स्वरेक मैदानसम्म पुग्ने सडक कालोपत्र नहुनु र कोटसम्मको पहुँचमार्ग स्तरोन्नति नहुनु विकासका प्रमुख चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे। स्थानीय समुदायको सक्रियतासँगै स्वरेक कोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

पोखरा, १३ चैत ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो ।

शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएकोमा सम्मान छनौट समितिको सिफारिसमा वर्ष २०८१ बाट बरिष्ठ पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट सहारा क्लबलाई सम्मान गर्ने भएको हो । विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् । सम्मान राशि नगद रु.५० हजार ५ सय ५५ , दोषल्ला र सम्मानपत्र रहेको छ । सम्मान छनौट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका छन् ।

यस्तै स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ बाट एकराज गिरीलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सहित पत्रकार रुद्र श्रीस मगर र भिम थापाको पुरस्कार छनौट समितिको सिफारिसमा उक्त पुरस्कार अधिकारी र गिरीलाई दिने निर्णय गरिएको हो । पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया र सम्मान पत्र रहेको छ । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी हाल गोरखा पत्र दैनिक र गिरी सफल न्यूजमा आवद्ध छन् ।

पोखरा, १३ चैत ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले आजै बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु उपस्थित थिए ।

बालेनले गरे शपथमा नयाँ प्रयोग

जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट दुई तिहाइ नजिक बहुमत पाएसँगै प्रधानमन्त्री नियुक्त भएका बालेन शाह (बालेन्द्र)ले आफ्नो शपथका क्रममा नयाँ प्रयोग गरेका छन् । नयाँ प्रयोग यसअर्थमा कि उनले शपथअघि वैदिक परम्परालाई पनि स्मरण गराए ।

उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो । 

योग र अध्यात्मका अनुसार मानव शरीरमा सातवटा मुख्य ऊर्जाहरू (चक्र) हुन्छन्। शंखको ध्वनिले उत्पन्न गर्ने कम्पनले ती सात च्रकहरू मूलाधारदेखि सहस्रारसम्मलाई जागृत र सन्तुलित बनाउन मद्दत गर्छ भन्ने जनविश्वास गरिन्छ। त्यस्तै, ७ वटा शंख बजाउनुलाई सप्तऋषिको उपस्थिति र आशीर्वाद प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ।

शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी छन् ।

पोखरा, १३ चैत्र ।

पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भइसकेको छ ।

पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

पोखरा महानगरपालिका गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूची बमोजिम २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिने छ ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार ५ जनासम्म सदस्य भएको प्रति परिवार रु।३५००।– र ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु।७००।– बिमा बापतको रकम पोखरा महानगरपालिकाले बिमा बोर्डलाई उपलब्ध गराउनेछ । महानगरपालिकाको निःशुल्क बिमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घर परिवार पहिचानको सिफारिस र दर्ता सहयोगी मार्फत भरिएको दर्ता फारम समेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ । यसरी पेस हुन आएका विवरण सहितका फारमहरू आवश्यक प्रक्रिया पुरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिनेछ ।

पोखरा महानगरपालिका क्षेत्रमा रहेका गरिबिको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । नगर प्रमुख धनराज आचार्यले आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठुलो राहत मिल्ने बताउनुभयो । महानगरपालिका सम्पूर्ण नगरवासीहरूको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिनेछ भने, लक्षित वर्गलाई यस कार्यक्रम मार्फत लाभ लिन महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

पोखरा, १३ चैत्र ।

श्री राम नवमीको अवसर पारेर पोखरामा विश्व शान्तिको कामना सहित प्रवचन समारोह आयोजना गरिएको छ । शुक्रबार पोखरा रानीपौवास्थित मनमन्दिरमा आयोजित विश्वमा हिंसा र युद्धको तत्काल अन्त्य भै शान्तिको कामना सहित सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमूख अतिथि उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले दीप प्रज्वलन गरी सो कार्यक्रममको उद्घाटन गरेका थिए । सो समारोहमा बोल्दै प्रमूख अतिथि कोइरालाले निस्वार्थ भावनाका साथ गरिने कार्यबाट समाजको सेवामा योगदान पुग्ने बताए । कार्यक्रम स्थल मनमन्दिरले पोखरामा महत्वपूर्ण योगदान दिएको बताउँदै उनले यस ठाँउको बारेमा पर्याप्त चर्चा परिचर्चा हुनु पर्नेमा जोड दिए ।

मनमन्दिरका संस्थापक विष्णु बिक्रम जि। एस।ले स्वर्गीय श्रीमती चन्द्रकला जि।एस।को सम्झनामा सेवाको भावनाले समर्पित गरेको परोपकारी संस्था हो । यो मन्दिरमा विशेषगरी वृद्धहरुका लागि निशुल्क शारीरिक स्वास्थ्य उपचार, फिजियोथेरापी, मसाज, आँखा, कानको परिक्षण हुन्छ । संस्थाका संस्थापक जि। एस।का अनुसार मन्दिरमा ध्यान तथा साधनाका साथै विभिन्न सिपमुलक सिर्जनात्मक कला कौशलका विषयमा पनि पठन पाठनको व्यवस्था गरिएको हो ।

त्यसैगरी सोही समारोहमा प्रमूख वक्ताका रुपमा डा। नारायण प्रसाद अधिकारीले प्रवचन दिनु भएको थियो । प्रमूख वक्ता डा। अधिकारीले भगवान रामको महिमा बताउँदै उनलाई पूजा गर्ने तर सोही अनुसार अनुसरण भने नर्गर्ने गरेको बताए । रामको जीवनीबाट हामीले धेरै प्रेरणा पाउन सकिने व्याख्या गर्दै रामायणले नेपालीलाई एकआपसमा जोड्न सहयोग गरेको उनको भनाइ थियो ।

सो अवसरमा भक्ति संगीत प्रतिष्ठान पोखराका अध्यक्ष तथा संगीतकार नवराज बरालको नेतृत्वको समूहले भजन प्रस्तुत गरेको थियो । पोखरा चिसाखोला वेदविद्याश्रमको आयोजनामा सो कार्यक्रम भएको थियो ।

वेदविद्याश्रमका प्राचार्य मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्कृतिकर्मी तथा साहित्यककार रविन्द्र माकाजूले गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।