
पोखरा, १६ चैत ।
पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो ।
उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय सो अवसरमा उठान गरिएको थियो । विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रुपमा अगाडि बढाउन सकिने बताए । पोखरा पर्यटनको राजधानी भएका कारण मुख्य हवको रुपमा विकास गरी लुम्बिनी र चितवनलाई समेत समेटेर पर्यटन तथा व्यवसायिक आदानप्रदान र पबद्र्धनका गतिविधि संचालन गर्न सकिने सुझाव लामिछानेले राखे ।
होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले १० बर्षे द्वन्द्वकालमा पोखरा आउने पर्यटक संख्यामा उल्लेख्य गिरावट आएपछि आन्तरिक पर्यटक प्रबद्र्धनस्वरुप जाउँ है पोखरा अभियान सुरु गरिएको जानकारी दिए । सो अवसरमा पराजुलीले सिल्भर ट्रयाङ्गलको अवधारणा पर्यटन प्रबद्र्धनका लागि प्रभावकारी हुन सक्ने भनाई राखे । बुटवल र पोखरा जोड्ने मार्गलाई फाष्ट ट्रयाकका रुपमा विकास गर्न सके पोखरा र लुम्बिनीको पर्यटनमा सकारात्मक प्रभाव पर्ने भनाई पनि उनले राखे ।
संघले हालै मात्र पूर्वी नेपालमा पाँच दिने जाउँ है पोखरा अभियान सम्पन्न गरेको र सोही सन्दर्भमा पश्चिम नेपाललाई समेत समेट्ने गरी लुम्बिनी क्षेत्रका संचारकर्मीसँग यो अन्तरक्रिया आयोजना गरको हो । सो अवसरमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले आफूहरुले विगतमा पश्चिम नेपालमा समेत यस्तो अभियान संचालन गरेको स्मरण गराउँदै लुम्बिनी क्षेत्रका संचारकर्मी स्वयं पोखरामा उपस्थित हुनु सुखद पक्ष भएको बताए । यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म पोखरामा संचालन हुने २१ औं फेवा नवबर्ष महोत्सवमा आउने पाहुनालाई संघ अन्तर्गतका होटलले भारि छुट प्रदान गर्ने पनि उनले सो अवसरमा बताए । बुद्ध जन्मस्थलको रुपमा लुम्बिनी विश्वप्रसिद्ध रहेको बताउँदै अध्यक्ष सुवेदीले पोखराका पर्यटकीय सम्पदाका बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी र पोखरा महानगरपालिका व्यवसाय प्रबद्र्धन केन्द्र पोखराका प्रमुख नबराज अधिकारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले गरेका थिए ।
पोखरा, १६ चैत ।
विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानू का महाअभियन्ता प्राज्ञ नगेन सिंह ठकुरीले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रमका लागि कास्कीका प्र।जि।अ। मार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापन पत्र बुझाउनुभएको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयहरू उल्लेख गर्दै उहाँले नेपाललाई विश्वमै ललितकलाको केन्द्र बनाउन सकिने प्रस्ताव गर्नुभएको हो ।
विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले कास्की जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी (प्र।जि।अ।० रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाउनु भएको छ । ज्ञापनपत्र बुझ्दै प्र।जि।अ। शर्माले प्राज्ञ नगेन सिंह ठकुरीले विश्वकै उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानमा काम राम्रो भएको विशेष गरेर कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन, उद्योग र अर्थतन्त्रमा महत्वपूर्ण योगदानहरू पु¥याउनुभएको छ यहाँको यो अभियानप्रति स्वागत गर्दै कलाकार सिँहलाई शुभकामना ब्यक्त गर्नुभयो ।
त्यस्तै उक्त कार्यक्रममा ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले नेपाल आँफै कला संस्कृतिको धनी देश भएको बताउदैं सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पु¥याउने बचन व्यक्त गर्नुभयो ।
ज्ञापन पत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नु पर्ने, विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनु पर्ने, नेपालका कलाकारहरुका कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सविधा उपलब्ध गराउनु पर्ने लगाएत मागहरु रहेका छन् ।
पोखरा, १६ चैत ।
नव वर्ष–२०८३ अवसरमा पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन सम्बन्धी हुन लागेका दुई इभेन्टबीच आपसी सहकार्य हुने भएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन दौड) हुँदैछ भने होटल संघ पोखरा नेपालले चैत २९ देखि वैशाख १ सम्म २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव गर्दैछ ।
सो सम्बन्धमा दुवै आयोजक बीच आपसी सहकार्य र आवश्यक प्रचारप्रचार सँगसँगै गर्नेबारे महोत्सव आयोजक होटल संघ पोखरा नेपाल र दौड प्रतियोगिता आयोजकबीच सम्झौता भएको हो । होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले यो सहकार्यले दुबै कार्यक्रम सफल पार्न सघाउ पुग्ने बताए । उनले पोखरा क्षेत्रको खेलसहितको पर्यटन प्रबद्र्धन गर्नु रहेकाले सहकार्य गरिएको जनाए ।
दौड प्रतियोगिता संयोजक दीननाथ बरालले लामो इतिहास बनाएको संस्था होटल संघसँगको सहकार्यले खेलकुदसहित रात्रिकालीन व्यवसाय एवं पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले रात्रिकालीन दौडले रातिको समय पनि पोखरा शान्त र सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्ने बताए । सो अवसरमा संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारी, पोखरा प्रबद्र्धन केन्द्रका सचिव सागर सुनारलगायतको सहभागिता थियो ।
नयाँ वर्ष पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” उद्घोष साथ हुने नाइट रनमा भाग लिन अनलाइन फर्म खुला गरिएको छ । त्यसका लागि पोखराक्लिक अनलाइन पोर्टलमा गई फर्म भर्न सकिने प्रतियोगिता केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । प्रतियोगितामा भाग लिन १२ वर्षभन्दा माथिको उमेर हुनुपर्छ । फर्म भर्न कठिनाइ भए पोखरा महानगरपालिका वडा नं. ९ सँग पनि सहकार्य गर्न सकिने व्यवस्था मिलाइएको छ ।
आयोजकले सहभागी खेलाडीको बिमा गर्नुका साथै रिफ्लेक्टिभ (चम्किने) टिसर्ट उपलब्ध गराउनेछ । साथै, धावक स्वयम्ले हेडल्याम्प प्रयोग गर्न सक्नेछन् । दौडमा विजयीलाईलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्था सहयोगमा हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर रहेका छन् । प्रतियोगिताका लागि अटोवेज प्रा.लि., सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायत संघसंस्थाको सहयोग गरेका छन् ।
फेवाताल किनार वाराही घाटबाट सुरु हुने ५ किमी दौड सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा र महेन्द्रपुलस्थित झण्डा पार्क फल्चामा पुगेर टुंगिनेछ ।
यसैगरी, २१ औं फेवा नववर्ष महोत्सवमा नेपाली कला, संस्कृति र खानालाई प्राथमिकतामा राखिने आयोजक संस्था होटल संघले जनाएको छ । उक्त अवसरमा होटल आवासमा विशेष छुटसमेत व्यवस्था गरिएको छ । महोत्सवमा देशभरबाट पर्यटक आकर्षित गर्ने लक्ष्य छ ।
पोखरा, १६ चैत ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाख १८ गते आयोजना गर्ने १० औं पोखरा स्पोर्टस् अवार्डको तयारी गरेको छ । सोमबार मञ्चको आयोजनामा अवार्ड तयारीका लागि सदस्यहरु तथा पत्रकार सम्बद्ध संघसस्थाहरुका प्रतिनिधिबीच भेला सम्पन्न भयो ।
मञ्च अध्यक्ष एमबि आस्थाको अध्यक्षतामा बसेको भेलाले विभिन्न १० उपसमिति गठन गरेको महासचिव परशुराम शर्माले जानकारी दिए । अवार्डको मूल आयोजक समिति संयोजकमा अध्यक्ष एमबि आस्था तथा सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले छन् । आर्थिक उपसमिति संयोजक जिम्मेवारी कोषाध्यक्ष विमलप्रसाद तिवारीलाई दिइएको छ ।
यसैगरी, प्रचारप्रसार संयोजकमा महासचिव परशुराम शर्मा र सहसंयोजक पूर्व महासचिव विजय नेपाल छन् । स्वागत तथा अतिथि सत्कारमा निवर्तमान अध्यक्ष दीननाथ बराल, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजकमा पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मञ्च व्यवस्थापन तथा सांस्कृतिक उपसमिति संयोजकमा सहसचिव राजु गिरी चयन भए ।
फोटो तथा भिडियो व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य गीता रानाले पाए । अनुगमन तथा मूल्यांकन उपसमिति संयोजकमा पूर्व कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ र संघसंस्था समन्वय संयोजक राजाराम पौडेल र क्वीक रेस्पोन्स संयोजक उमा आले छन् ।
मञ्चका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार एवं कानूनी सल्लाहकारलाई अवार्डको सल्लाहकारमा चयन गरिएको छ । अन्य उपसमिति आवश्यकता बमोजिम थप गरिने जनाइएको छ ।
भेलामा सहभागी नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले स्पोर्टस् अवार्डलाई सबै पत्रकारले अपनत्व लिनुपर्ने र यो अवार्ड सिंगो गण्डकी प्रदेशकै गौरवको इभेन्ट भएको उल्लेख गरे ।
यसैगरी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल फोटो पत्रकार संघ कास्की अध्यक्ष राम गुरुङ, मञ्चका पूर्व अध्यक्षहरु विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, एकराज गिरी, दीननाथ बराल, सल्लाहकार सुरज श्रेष्ठ, पूर्व कावा अध्यक्ष सन्देश श्रेष्ठलगायतले विभिन्न सल्लाह सुझाव दिए ।
मञ्चले यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डसहित ८ विधामा अवार्ड प्रदान गर्दैछ । जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल संघसंस्था र पपुलर प्लेयर हुन् । ठिक एक महिनापछि हुने उक्त अवार्र्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।
पोखरा, १६ चैत ।
प्रतिनिधि सभामा कास्की–२ बाट नवनिर्वाचित सांसद उत्तमप्रसाद पौडेलले पोखराको खेलकुद, पत्रकारिता विकास र पत्रकारको हकहितमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औं पोखरा स्पोर्टस् अवार्ड सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै रास्वपातर्फबाट नवनिर्वाचित सांसद पौडेलले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘खेलकुद पत्रकार मञ्चको छुट्टै गरिमा रहेको छ । कला, साहित्य, संगीत, खेलकुदको पनि राजधानी पोखरा ९कास्की० लाई चिनाउँदै गर्दा यसमा गर्नुपर्ने काम धेरै बाँकी छन्,’ उनले भने, ‘पत्रकारको तर्फबाट तपाईंहरुले गरिरहनुभएको छ, सांसदको हिसाबले पोखराको खेलकुदको उत्थानका लागि मैले गर्नुपर्ने आर्थिक, भौतिक, नैतिक जुनसुकै पहल गर्न तयार छु ।’
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको समेत सम्पूर्णमा शुभकामना दिँदै आफूले २२ वर्षसम्म पत्रकारिता गरेको उनले स्मरण गरे । उनले अब पत्रकार आफ्नो हकहितका लागि कम्तीमा सडकमा जानु नपरोस्, कलमकै माध्यमबाट सरकार तथा सरोकारवाला निकायले पत्रकारलाई संरक्षण गर्ने वातावरण बनोस् भनी शुभकामना दिए ।
सो अवसरमा मञ्चले नवनिर्वाचित सांसद पौडेललाई बधाई तथा सम्मान गरेको थियो । उनलाई मञ्च गण्डकी अध्यक्ष एमबि आस्थाले खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए । पत्रकारको अवस्था तथा हकहित बुझ्ने भएकाले कास्कीबाट एक जना पत्रकारलाई सांसदको रुपमा पाउनु खुसीको विषय भएको उल्लेख गरे ।
मञ्चले आगामी वैशाख १८ गते १० औं पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दैछ । सो अवसरमा विभिन्न ८ विधामा अवार्ड दिइने तयारी रहेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।
छलफलमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल फोटो पत्रकार संघ कास्की अध्यक्ष राम गुरुङ, मञ्चका पूर्व अध्यक्षहरु विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, एकराज गिरी, दीननाथ बरालसहित सदस्यहरुको उपस्थिति थियो ।
कास्की ।
मुग्लिन–नागढुंगा सडक खण्डमा भोलिदेखि तीन दिन राति सवारी आवागमन बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सडक स्तरोन्नति कार्यका लागि आगामी भोलिदेखि ३ दिन राती १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मुग्लिन–नागढुङ्गा सडक योजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को घोप्टेभिर लगायतका स्थानहरूमा काम भइरहेको छ। दिउँसोको समयमा सवारी चापका कारण काम गर्न असहज भएपछि रात्रिकालीन समय रोजिएको हो।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो ।सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् ।
उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।
आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्रीको छ ।
काठमाडौँ ।
पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।
अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।





