
पोखरा, १२ वैशाख ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले औषधि बजारलाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ ९एनएमएसआरए० को २९ औं केन्द्रीय महाधिवेशनको पोखरामा उद्घाटनका अवसरमा उहाँले औषधि विक्रीवितरण मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको निकै संवेदनशील पेशा रहेको बताउनुभयो ।
‘औषधि कम्पनीका उत्पादनबारे चिकित्सक, स्वास्थ्यकर्मीलाई जानकारी गराउने, औषधिको गुणस्तरीयता, फाइदाबारे अवगत गराउने प्रतिनिधिहरू औषधि उत्पादक कम्पनी र स्वास्थ्य सेवा क्षेत्रबीचको सेतु हुन्।’ उहाँले भन्नुभयो ।
प्रदेश प्रमुख भट्टले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएको उल्लेख गर्नुहुँदै निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि रहेको बताउनुभयो ।
‘यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको छ । निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ ।’ उहाँले भन्नुभयो – ‘आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ । सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव छ ।’
लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । महाधिवेशनमा देशभरीका १४ इकाईबाट सात सय भन्दा बढी संख्यामा औषधि विक्री प्रतिनिधिहरू सहभागी रहेको महासचिव निरज पन्तले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
पोखरा, १२ वैशाख ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले ९९ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ ।
फोटो पत्रकारिता दिवसका अवसरमा पोखरा ३ नदिपुरस्थित कोर्टयार्ड (मिनमार्ट) प्रांगणमा वैशाख १३ गते आइतबार ‘फोटोमा ६२,७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्न लागिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए । नेपालमा पछिल्लो ३ दशक यता हरेक १०÷१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गर्न लागिएको उनले बताए । ‘२०६२÷०६३ मा जनआन्दोलन भयो । त्यसको १० वर्षपछि २०७२ मा भूकम्प गयो सोही वर्ष नेपालले नयाँ संविधान पनि पयो,’ उनले भने, ‘त्यसको ठिक १० वर्षपछि गत भदौमा जेननी आन्दोलन भयो । सोही समयमा कास्कीमा कार्यरत फोटो पत्रकारले आफ्ना क्यामेरामा कैद गरेका फोटोलाई एकै कार्यक्रममा प्रदर्शन गर्न लागिएको हो ।’
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३ को कार्यालयले सहकार्य गरेको कार्यक्रम संयोजक संस्थाकी सहसचिव दुर्गा रानामगरले जानकारी दिइन् । ‘हामी फोटो पत्रकारहरुका लागि वैशाख १३ अर्थात फोटो पत्रकारिता दिवस अति नै महत्वपूर्ण छ । हामीले हरेक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएका छौं,’ उनले भनीन्, ‘यो वर्ष पनि दिवसलाई ऐतिहासिक बनाउनका लागि ‘फोटोमा ६२,७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्ने तयारी गरिरहेका छौं ।’
उक्त दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म फोटो प्रदर्शन गरिने संयोजक रानामगरले जानकारी दिइन् । प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरुले कैद गरेका ६० वटा फोटो राखिनेछ । प्रदर्शनीले नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिन सकिने संस्थाले बताएको छ । साथै, विभिन्न समयमा भएका घटना एउटै थलोमा हेर्न पाउनुलाई संस्थाले इतिहासको जीवन्त दस्तावेज रुपमा लिएको छ ।
वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले उक्त दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।
पोखरा, १२ वैशाख ।
पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा वडा कार्यालय परिसरमा साहित्य पर्व भएको हो । उक्त कार्यक्रमको लेखक तथा पत्रकार नारायण वाग्लेले उद्घाटन गरेका हुन् । यस साहित्य पर्वलाई स्थानीयस्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा लेखक तथा पत्रकार वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकाल रहेको बताए । उनले पुस्तका पुग्दा आफ्नै घर पुगे जस्तो अनुभुती हुने सुनाए । ‘लेखक हुन मलाई हुटहुटी बढाएको त्यो पुस्तकालय नै हो, मेरो जन्मस्थान नै पुस्तकालय हो,’ उनले भने, ‘जब पुस्तकहरूको वरिपरि मैले पढ्न थालेँ, तब मेरो युवाकालमै मलाई लेखक भन्ने हुटहुटी भयो । त्यसकारण म जहिले पनि पुस्तकालय भन्ने बित्तिकै म रोमाञ्चित हुनु, आफ्नो घर आएको जस्तो फिलिङ हुनु, त्यो सबैभन्दा ठूलो परिवेश हो ।’
साहित्यमा सिर्जना गर्न स्वतन्त्र रुपमा लाग्नुपर्नेमा उनको जोड थियो । स्वतन्त्र हुनको लागि आफ्नो संघर्ष आफैले गर्नुपर्ने उनले बताए । ‘सिर्जना हुन शब्दै चाहिन्छ भन्ने पनि होइन । सुलेली, सुरेली, लय, भाका सबै सिर्जना हुन्,’ उनले भने, ‘त्यो सिर्जना हुनलाई आफै स्वतन्त्र हुनुप¥यो । सिर्जनाशील हुनलाई म स्वतन्त्र हुनुप¥यो । त्यसकारण म स्वतन्त्र हुनको लागि मेरो आफ्नो संघर्ष मैले आफैँ गर्नुपर्छ ।’
कार्यक्रममा अग्रज कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ ले यस प्रकारका कार्यक्रमले साहित्यमार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने बताए । अलि मियाँ जन्मथलो मियाँपाटनमा भएको साहित्यिक कार्यक्रमले साहित्य, कला र सांस्कृतिक विविधता प्रस्तुत गरेको उनको भनाइ थियो । कार्यक्रमले स्थानीय बासिन्दा मात्र नभई पोखरा तथा आसपासका क्षेत्रका साहित्यप्रेमीहरूका लागि पनि महत्वपूर्ण आकर्षण बनेको उनको भनाइ थियो ।
कार्यक्रमको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटा ः पोखराका युगपुरुषहरुको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग भलाकुसारी गरेका थिए । जहाँ पोखरा १३ लोककवि अलिमियाँ, स्व. जगन्नाथ सिग्देल, स्व. टेकबहादुर ढेवाजुको योगदानको चर्चा भएको थियो । भने, अब आउने युवाले दिनसक्ने योगदानका बारेमा चर्चा गरिएको थियो ।
दोस्रो सेसनमा ‘अक्षरदेखि अल्गोरिदमसम्म ः हाम्रो अबको शिक्षा र बदलिदो समाजको स्वरुप’ विषयमा भौतिकशास्त्री डा. कपिल अधिकारीसँग डा. रामचन्द्र बराल गफिएका थिए । उक्त सेसनमा डा. अधिकारीले सामाजिक सञ्जालको एल्गोरिदमले मानिसको आनीबानीलाई जिन्सी सामान जस्तो बनाइदिएको बताए । उनले सामाजिक सञ्जालले मानिसले गर्ने दैनिकीलाई डाटामा परिवर्तन गरेर त्यसलाई सित्तैमा लिएर एल्गोरिदमले काम गरिरहेको उनले सुनाए ।
अर्को सत्रमा पत्रकार अनिशा श्रेष्ठले व्यावसायी नारायण पौडेल र समेसराज भण्डारीसँग उद्यमी र नवउद्यमीका विषयमा कुराकानी गरिन् । यो सत्रमा नेपालमै रोजगारीको संभावनाको खोजीका विषय उठान भएका थिए । जसका लागि सरकारले सही नीति बनाउनुपर्नेमा जोड दिइएको थियो ।
चौथो सत्रमा मा ‘साहित्यमा नारीको प्रतिनिधित्व’ शीर्षकको सेसनमा सहजकर्ता हसिना बस्नेतसँग साहित्यकार सरस्वती प्रतिक्षाले भलाकुसारी गरेकी थिइन् । साहित्य क्षेत्रमा महिलाको उपस्थितीसँगै चर्चा र चुनौतीका विषयमा छलफल गरिएको थियो ।
साहित्य पर्वको अन्तिम सत्रमा पत्रकार अमृत सुवेदी र गायक विनोद श्रेष्ठले संगिताका विषयमा कुरा गरेका थिए । कन्दरा ब्यान्ड र पोखराको संगीतका बारेमा गफिएपछि कार्यक्रम सकिएको कार्यक्रम संयोजक संयोजक राजेन्द्र भण्डारीले जानकारी दिए । वडाध्यक्ष किरण बरालले विकास निर्माण र वडावासीको गुनासो सम्बोधनबाट थोरै समय बचाएर दोस्रोपटक साहित्य पर्व गरिएको बताए । यसलाई समयानुसार परिमार्जन गर्दै लगिने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै वडा सदस्य रजनी परियारले वडाले भाषा, साहित्य, कलालाई पनि विकासको एउटा माटो मान्दै साहित्यको कार्यक्रम आयोजना गरिएको बताइन् । आगामी दिनमा यो खालको कार्यक्रमलाई अझै व्यवस्थित बनाउँदै लैजाने उनको भनाइ थियो ।
कार्यक्रमा स्थानीय साहित्यकार, कलाकार तथा चित्रकारहरुको पनि उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा साहित्यकारहरु सरस्वती श्रेष्ठ ‘सरु’ धर्मराज अल्पायु, चन्द्रावती वाग्ले, कुशल गौतमले रचना वाचन गरिएका थिए । गायिका हरिदेवी कोइरालाले अलिमियाले संकलन गरेको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा कलाकार जित गुरुङ र कृपा श्रेष्ठको चित्र प्रदर्शनी गरिएको थियो । यस्तै भद्रकाली माविका विद्यार्थी र नवदुर्गा टोल विकास संस्थाको आमा समूहले नृत्य पनि प्रस्तुत गरेका थिए ।
नार्कको काम ज्ञानलाई पूर्णता दिने हो ः वैज्ञानिक डा. अमात्य
पोखरा, १२ बैशाख ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत मत्स्य अनुसन्धान केन्द्र, वेगनास, पोखराको आयोजनामा सञ्चालित दुई दिने कृषकस्तरीय मोती खेती तालिम सम्पन्न भएको छ कृषकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले स्थानीय स्तरमा नयाँ प्रविधि भित्र्याउने, सीप अभिवृद्धि गर्ने तथा आयआर्जनका वैकल्पिक स्रोत विस्तार गर्ने लक्ष्य लिएको थियो ।
तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि नार्ककी डाइरेक्टर डा. निना अमात्य गोर्खालीले मोती खेतीलाई विज्ञानमा आधारित, सम्भावनायुक्त र दिगो व्यवसायका रूपमा व्याख्या गर्नुभयो । उहाँले प्राकृतिक स्रोतको सदुपयोग गर्दै मोती उत्पादन गर्न सकिने र यसले आर्थिक तथा वातावरणीय दुवै लाभ दिने बताउनुभयो। “मोती खेतीमा समस्या आएमा नार्कले प्राविधिक सहयोग उपलब्ध गराउँछ, हाम्रो काम ज्ञानलाई पूर्णता दिनु हो,” उहाँले भन्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ वैज्ञानिक डा. मोहम्मद इकवाल हुसेनले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सके मात्र यसको वास्तविक उपलब्धि देखिने धारणा राख्नुभयो। उहाँले रूपाताल क्षेत्रलाई मोती उत्पादनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिँदै स्थानीय सिपी (ँचभकजधबतभच ःगककभकि० को संरक्षण, प्रजनन विस्तार तथा दिगो उपयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय स्थानीय सिपीको संख्या घट्दै गइरहेको छ, जसले जैविक विविधतामा समेत असर पारिरहेको छ। त्यसैले मोती खेतीसँगै सिपी संरक्षणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। साथै, कृषकलाई नवीन उद्यमशीलतामा जोड्दै व्यावसायिक रूपमा मोती उत्पादनतर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।
तालिममा सहभागी कृषकहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासमार्फत महत्वपूर्ण सीप हासिल गरेका थिए। प्रशिक्षण अवधिमा ताजा पानीमा पाइने सिपीको पहिचान, पालन–पोषण, न्यूक्लियस प्रत्यारोपण (ल्गअभिगक क्ष्mउबिलतबतष्यल) प्रक्रिया तथा त्यसपछि आवश्यक हेरचाहका विधिहरू सिकाइएको थियो । यी प्रक्रिया अत्यन्तै संवेदनशील हुने भएकाले दक्षता र सावधानी आवश्यक पर्ने प्रशिक्षकहरूले बताएका थिए ।
मोतिपालक कृषक कविराज खनाल, ढकबहादुर थापा, र कृषक सितादेवी डुम्रे लगायतले तालिमबाट आफूहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको अनुभव व्यक्त गर्नुभयो । उनीहरूले मोती खेतीलाई वैकल्पिक आयस्रोतका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा व्यवहारमा उतार्ने बताएका छन् ।
कार्यक्रममा तालिममा सहभागी कृषकहरूलाई प्रमुख अतिथिद्वारा प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो। कार्यक्रमको संयोजन वेगनास मत्स्य अनुसन्धान केन्द्रकी भगवती थापाले गर्नुभएको थियो ।
समापन समारोहमा वक्ताहरूले मोती खेतीले विज्ञान, सीप र दिगो जीविकोपार्जनलाई एकैसाथ जोड्ने उल्लेख गर्दै यसले ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर े। तालिमलाई केवल सैद्धान्तिक सीमामा नराखी व्यवहारिक अभ्यासमा केन्द्रित गरिएको र सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
आयोजक संस्थाले आगामी दिनमा पनि प्राविधिक सहयोग, अनुगमन तथा परामर्श उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूलाई सिकेका सीप आफ्ना समुदायमा विस्तार गर्न आग्रह गरेको छ। साथै, मोती खेतीलाई नयाँ सम्भावनायुक्त व्यवसायका रूपमा स्थापित गर्दै लेखनाथ तथा आसपासका क्षेत्रलाई मोती उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
वक्ताहरूले तालिमको सफलता सहभागीहरूको व्यवहारिक उपलब्धि, उत्पादन वृद्धि र समाजमा पार्ने सकारात्मक प्रभावबाट मापन हुने उल्लेख गर्दै यसलाई मोती खेतीतर्फको नयाँ यात्राको सुरुवातका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
पोखरा, १२ वैशाख ।
“जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते आयोजना पोखरा रात्रिकालीन सडक दौड ९पोखरा नाइट स्ट्रिट रेस० प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा आयोजित समीक्षा तथा शुभकामना एवं मैत्रिपूर्ण फुटबल कार्यक्रममा सहभागी वक्ताले प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाव दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं। ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकारहरूलाई नयाँ र सिर्जनशील कार्यक्रम ल्याउन आग्रह गर्दै आफ्नो वडाको पहिचान झल्किने कुनै पनि कार्यक्रमलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पोखरा रात्रिकालीन सडक दौड नयाँ इभेन्ट भएकाले यसको निरन्तरताका लागि आगामी आर्थिक वर्षको बजेटमा पाँचलाख रुपैयाँ विनियोजन गरिने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सञ्चार गृहद्वारा इभेन्ट आयोजना गर्नु प्रशंसनीय कार्य भएको भन्दै यसको निरन्तरतामा जोड दिए । जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष तिलक क्षत्रीले प्रतियोगिता पोखराका लागि नयाँ सम्भावनाको ढोका खोल्ने इभेन्ट भएको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नयाँ इभेन्टलाई वार्षिक क्यालेन्डरमा समावेश गरी समयमै व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव राखे । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । उनले सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक रहेको र सूर्यबहादुर केसी स्मृतिमा वार्षिक १५ लाख रुपैयाँ केसी परिवारबाट सहयोग प्राप्त भइरहेको उल्लेख गरे ।
सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले यस्तो महत्वपूर्ण इभेन्टबारे आफूहरूलाई जानकारी नहुनु दुःखद भएको बताउँदै यसलाई पोखराको “ड्रिम प्रोजेक्ट” का रूपमा अघि बढाउन आग्रह गरे । प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले नेपालसहित पाँच देशका १४५ धावकको सहभागिता रहेको जानकारी दिँदै सुरुआती चरणमा केही कमजोरी देखिए पनि आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, पत्रकार शिवराज बस्ताकोटी र रोजी श्रेष्ठ लगायतले समापन कार्यक्रम छरितो र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले प्राप्त सुझावलाई मनन गर्दै आगामी संस्करणलाई अझ परिस्कृत र उत्कृष्ट बनाउने बताए ।
केन्द्रका उपाध्यक्ष असफल गौतमले रातिको समयमा पनि खेल गतिविधि सम्भव छ भन्ने सन्देश दिन र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे । यसै अवसरमा पोखरा क्लिकद्वारा प्रकाशित नयाँ वर्षको भित्तेपात्रो समेत सार्वजनिक गरिएको छ । कार्यक्रमसँगै सहारा एकेडेमीको फुटबल मैदानमा शनिबार सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सहारा क्लबले पोखरा क्लिकको टोलीलाई ४–६ गोल अन्तरले पराजित गर्दै जित हासिल गर्यो ।
पोखरा महानगरपालिका वडा नं। ९ को समन्वय र प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा सम्पन्न उक्त प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका थिए । प्रतियोगिताका प्रबद्र्धकका पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ तथा विभिन्न संघसंस्था र सरोकारवालाको सहकार्य रहेको ५ किलोमिटरको दौड बाराहीघाटबाट शुरु भएर महेन्द्रपुल अन्तराष्ट्रिय झण्डा पार्कको फल्चामा समापन भएको थियो ।
कार्यक्रममा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, हरिराम गुरुङ ९सुरज० मानार्थ सदस्यहरु जयलाल पुन, खेम बहादुर गुरुङ, मुछेत्र गुरुङ, सल्लाहकार डा।रविन्द्र श्रेष्ठ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कुमारी मुना बाँस्तोला, एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जित, संगम क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङ, ड्याम साइड क्लबका पूर्व अध्यक्ष पदम बहादुर ढकाल लगायतको उपस्थिति रहेको थियो ।
पोखरा, १२ वैशाख ।
राष्ट्रिय भूमि अधिकार मञ्च कास्की, अखिल नेपाल सुकुम्बासी संघ कास्की र भुमिअधिकार तथा श्रमिक संगठन नेपाल कास्कीको सम्युक्त भेलाले भुमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको बैकल्पिक व्यवस्थापन विना हटाउन नदिई घरधुरी बचाउन शनिबार बोलाईएको सम्यूक्त भेलाले राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङको संयोजकत्वमा ३५ सदस्यीय सरोकार समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा रमेश बलकोटी, सचिवमा राजन कुमार गुरुङ, सहसचिवमा कमल खड्का, कोषाध्यक्षमा बेलमाया गुरुङ रहेको ३० सदस्य रहेका छन् भने सल्लाहकारमा ओम बहादुर पौडेल, राम लामिछाने, अर्जुन मल्ल र डिल बहादुर गुरुङ रहेका संयोजक गुरुङले वताए । साथै यस समितिमा आवश्यकता अनुसार भेग मिलाएर सदस्य थप गर्दै जाने पनि वताइएको छ ।
सरोकार समितिले भुमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्बन्धि निकायहरुमा समन्वय गर्ने, भूमिको समस्या समाधान गर्न सम्बन्धित निकायहरुमा माग राख्ने, वाँझिएका भूमि ऐनहरु संसोधन गर्नका लागि सम्बन्धित निकायहरुमा माग राख्ने । यदि माग राख्दा पनि सम्बोधन नभएमा आन्दोलनका कार्यक्रमहरु गर्ने वताईएको छ ।
पोखरा, १२ बैशाख ।
नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन बैशाख अन्तिम साता पोखरामा हुने भएको छ ।अधिवेशन वैशाख २६ गते पोखरामा आयोजना हुने भएको हो । अधिवेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न गठित मुल आयोजक समितिका संयोजक एंव दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीको अध्यक्षतामा आज पोखरामा सम्पन्न बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले आर्थिक संकलन उपसमिति संयोजकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, सहसंयोजकमा प्रदेश महिला समितिका अध्यक्ष मिना गिरी र सदस्यमा शुशिला गिरीलाइ चयन गरेको छ ।
त्यस्तै अतिथि सत्कार तथा सम्मान सयोजकमा दशनामी महिला समाज कास्कीका अध्यक्ष सपना गिरी, सदस्यहरुमा सुनिता गिरी र पारु गिरी पार्वतीलाइ चयन गरेको छ । यता मञ्च ब्यवस्थापन तथा खानाखाजा ब्यवस्थापन समितिको संयोजकमा बेबराज गिरी र सहसंयोजकमा बोधराज गिरी र युवा स्वंयमसेवक व्यवस्थापन समितिको संयोजकमा सूर्य गिरी, सहसंयोजकमा कविता गिरी र सदस्यमा सरस्वती पुरी रहेकी छन् । यस्तै आवास ब्यवस्थापन समििितको संयोजकमा दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीलाई चयन गरिएको छ भने सदस्य पछि थप्ने निर्णय गरेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन उपसमिति संयोजकमा अधिवक्ता गोविन्द गिरीलाई चयन गरेको छ भने प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा भुपेन्द्र गिरी र सदस्यमा कविता गिरीलाई चयन गरेको छ । बैठकले अधिवेशनको प्रचार प्रसार समितिको संयोजकमा पत्रकार एकराज गिरीलार्ई चयन गरेको छ ।
बैठकमा नेपाल दशनामी समाजक केन्द्रीय बरिष्ठ उपाध्यक्ष तारा गिरीेले महाधिवेशनलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।बैठकमा केन्द्रीय सचिव जगतमोहन गिरी, केन्द्रीय सदस्य शारदा गिरी, दशनामी गण्डकी प्रदेश सचिव बेबराज गिरी, प्रदेश महिला समिति अध्यक्ष मिना गिरी, प्रदेश सचिव शुशिला गिरी,कास्की जिल्ला सचिव बोधराज गिरी, महिला जिल्ला समिति अध्यक्ष सपना गिरी, दशनामी जिल्ला महिला समिति सदस्य कविता गिरी, पारु गिरी पार्वती गिरी लगायतले महाधिवेशन सफल बनाउन आफनो तर्फबाट सहयोग गर्ने प्रद्धिबद्धता ब्यक्त गरे ।
महाविधेशन पोेखराको सृजनाचोक स्थित त्रिशक्ति पार्टी प्यालेसमा सञ्चालन गरिने महाधिवेशन मुलआयोजक समितिका संयोजक एवं दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीले जानकारी दिइन । अधिवेशनमा दशनामी समुदाय अन्तर्गतका गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य तथा तिर्थ समूहका महिला दिदीबहिनीहरूको सहभागिता रहने उनले बताइन ।
नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको उक्त अधिवेशनमा समाजका विभिन्न गतिविधि, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिने जनाइएको छ । नेपाल दशनामी समाज २०५४ सालमा स्थापना भएको हो । नेपालका ६७ जिल्लामा समिति गठन भएका छन् । देशभरबाट प्रतिनिधि र परिवेक्षक गरेर करिब ३ सय जना सहभागी हुने अपेक्षा गरिएको संयोजक सरस्वती गिरीले जानकारी दिइन् ।
पोखरा, १२ वैशाख
। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा कफी नर्सरी स्थापना, गुणस्तरीय बिरुवा उत्पादन तथा व्यवस्थापन र कफी रोपणसम्बन्धी दुईदिने प्राविधिक तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा कृषि व्यवसाय प्रवद्र्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, गण्डकी प्रदेश, पोखराका प्रमुख बासुदेव काफ्लेले नेपालमा कफी खेतीको उच्च सम्भावना रहेको उल्लेख गर्दै युवा पुस्तालाई यस क्षेत्रतर्फ आकर्षित भई स्वदेशमै रोजगारी सिर्जना गर्दै उद्यमशीलतामा अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले कफी खेतीलाई व्यावसायिक बनाउने, गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिने तथा किसानहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिमलाई कृषि प्राविधिकहरू नगेन्द्र सुवेदी र सुविना आचार्यले सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई व्यवसायिक कफी खेती योजना, कफीका जात, लगाउने स्थान, स्थान अनुसारको जातको शिफारिस, नर्सरी स्थापना र व्यवस्थापन, कफी रोपण, व्यवस्थापन, काँटछाँट लगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट यशोदा अधिकारी ९नुवाकोट० र पितम बहादुर सेन ९स्याङ्जा०ले तालिमबाट प्राप्त ज्ञानले व्यवसायिक कफी खेतीमा थप आत्मविश्वास बढाएको बताएका थिए ।
सो तालिममा गण्डकी, वागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना युवाको सहभागिता रहेको थियो ।





