पोखरा, ०४ माघ ।

साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य वामपन्थी घटकहरू मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्कीका ३ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ करण, क्षेत्र नम्बर २ मा किरण थापा ‘आमोद’ र क्षेत्र नम्बर ३ मा प्रेम पौडेल नेकपाको उम्मेदवार हुने भएका छन् ।
माओवादी ‘जनयुद्ध’ देखि नै कास्कीमा संगठन विस्तारको नेतृत्व गरेका करण २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय राजनीतिको अनुभव सँगालिसकेका व्यक्ति हुन्।
भूमिगत जनयुद्ध कालमा जनमुक्ति सेनाको कमाण्डरसमेत भएका किरण थापा आमोद विद्यार्थी राजनीतिबाट उदाएका हुन् । डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टी र पछि जनता समाजवादी पार्टी (जसपा) मा रहेर केन्द्रीय भूमिका निर्वाह गरेका थापाको मातृ पार्टीमा (हालको एकीकृत नेकपामा) पुनरागमन भएको हाे ।
साविकको एकीकृत समाजवादीका नेता प्रेम पौडेल व्यवसायी समेत हुन् । पुराना कम्युनिस्ट नेता पौडेलको पुर्ख्यौली घर कास्कीको सल्यान हो । उनको बसाइ र व्यवसाय पोखराको जिरोकिलोमिटरमा छ ।














