पोखरा, १३ पुस ।

पर्यटकीय सहर पोखरामा आज पुस १३देखि २७औँ पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले वर्षेनी आयोजना गर्दै आएको पोखरा सडक महोत्सवका लागि लेकसाइड दुलही जस्तै सजाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उद्घाटन समारोहमा बोल्दै पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । यस्ता महोत्सवले पर्यटनसँगै स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । पर्यटन प्रवर्द्धनका निम्ति पूर्वाधार, ऊर्जा र सेवाको निरन्तर सुधार आवश्यक रहेको उनले औँल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका पर्यटनमन्त्री, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पोखराबाट अन्र्तराष्ट्रिय उडान संचानल हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै पहल गर्न आग्रह गरेका थिए । रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले महोत्सवको सुरक्षाका लागि आयोजक चनाखो रहेको बताउँदै यसका लागि सबै तहका सुरक्षाकर्मीहरुसंग समन्वय गरिएको बताए ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित लेकसाइडको करिब तीन किलोमिटर सडकखण्डमा सञ्चालित महोत्सवमा स्वदेशी तथा विदेशी खानाका परिकार, सांस्कृतिक प्रस्तुति, लाइभ संगीत, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश छन् । साथै, अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरिने विभिन्न विशेष कार्यक्रम महोत्सवका आकर्षणका रूपमा रहेको रेवानका अध्यक्ष विश्वराज पौडेलले बताए । पछिल्ला संस्करणले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै पोखराबाट अंग्रेजी नयाँ वर्षको उत्सव मनाउने परम्परा स्थापना गरेको उनको भनाई छ ।
महोत्सव अवधिभर आन्तरिक तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । यसले होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटनसँग सम्बन्धित अरू व्यवसायमा सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ । महोत्सवमा नेपाली तथा विदेशी परिकारका खानाका स्टल, स्थानीय सांस्कृतिक प्रस्तुति, लाइभ संगीत कार्यक्रम, बोट रेस, डोरी तान्ने प्रतियोगिता, वेटर रेस तथा फोटो/भिडियो प्रदर्शनीलगायत विविध कार्यक्रम समावेश गरिएको रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले बताए । महोत्सवले पोखराको सांस्कृतिक विविधता, पर्यटन सम्भावना र स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको छ ।
रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सवमा यस वर्ष न्यू ईयर ईभको दिन पुस १६ गते एक्स नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली व्याण्डको लाईभ प्रस्तुती रहने सांगीतिक उत्सव कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।















