पोखरा, ०२ माघ ।

आउदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज शुक्रबार पोखराको मालेपाटन स्थित प्रदेश कृषि मन्त्रालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत हेमलाल बेलबासेले कार्यालय स्थापना गरिएको जानकारी दिए । उनले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताउदै निर्वाचनमा राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिइन । उनले नेपाली सेना परिचालन गर्ने गरि रणनीति बनाइएको बताउदै कास्कीमा करिव २ हजारको हाराहारीमा सुरक्षा निकाय खटाइने जानकारी दिइन ।
कास्कीमा १५३ मतदानस्थल र ३६३ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराका निर्वाचन अधिकारी नारायण ढकालले बताए । उनका अनुसार जिल्लामा ३ लाख मतदाता रहेका छन् ।
आज नै जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचन अधिकारी खटाइएको छ । कास्की क्षेत्र न १ मा सीता रेग्मी र क्षेत्र न २ मा निर्मला कुमारी खडकालाइ निर्वाचन अधिकारीको रुपमा खटाइएको छ ।
कास्की क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान तथा तालिम केन्द्र रामघाट, क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय सङ्घीय जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय, ड्यामसाइट र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय मालेपाटनस्थित प्रदेश कृषि मन्त्रालयको भवनमा स्थापना गरिएको छ । कास्कीमा तीन लाख ११ हजार सात सय ५६ मतदाता सङ्ख्या रहेको छ ।















