पोखरा, ०२ माघ ।

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी पोखरामा पनि मनाइएको छ । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
पोखरामा भुकम्पीय जोखिम न्यूनिकरणसम्बन्धी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कृत्रिम घटना अभ्यास समेत गरेका छन् । भुकम्पको समयमा अपनाउनुपर्ने साबधानीदेखि भुकम्प पछिको उद्दार र भुकम्पपछि हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरणबारे कृत्रिम अभ्यास गरिएको थियो । जसमा नेपाली सेनाका १५ , नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका १५ गरी ४५ जना सुरक्षाकर्मीहरु सहभागी थिए । अभ्यासमा भुकम्पपछि मानविय साथै भौतिक क्षतिको न्यूनिकरण र उद्धार कसरी गर्ने भन्ने विषयमा डेमो प्रस्तुत गरिएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको आयोजना, सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेक्वा कालिका कास्कीको प्राविधिक संयोजन तथा सञ्चालनमा भएको सो कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायहरुको संयुक्त समन्वय एवम् पोखरा महानगरपालिकाको समन्वय रहेको थियो ।
सो अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका गणपति शसस्त्र प्रहरी उपरिक्षक सुर्य प्रसाद तिमिल्सीना, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, जिल्ला विपद् व्यवस्थापनमा संलग्न निकाय तथा स्थानिय समुदायको उपस्थिति रहेको थियो ।
यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।















