काठमाण्डौँ, ०४ माघ ।

फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय सार्ने तयारी गरिएको छ । दलहरूले समेत आग्रह गरेपछि निर्वाचन आयोग पनि समय पछि सार्नका लागि सकारात्मक देखिएको स्रोत बताउँछ ।
निर्वाचन आयोग स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न माग गरेका छन् । दलहरूले माघ १५ देखि मसान्तसम्म समय सार्न आग्रह गरेको बताइएको छ ।
तर अहिलेसम्म आयोगले भने मिति सार्ने निर्णय गरिसकेको छैन । भने आयोगले दलहरूबाट आग्रह आएपछि यस विषयमा आन्तरिक छलफल गरिरहेको छ ।
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा कांग्रेस देउवा समूहको निवेदन : नेपाली कांग्रेस देउवा समूहले माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्येक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेलगत्तै निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै निवेदन दर्ता गराएको हो।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको निवेदन दर्ता गराएका हुन्।
रिट निवेदनमा देउवा समूहले सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ। निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका साथै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपीसमेत पेश गरिएको छ।















