काठमाण्डौँ, ०५ माघ ।

जेन्जी आन्दोलनका अगुवा सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आइतबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर पार्टी प्रवेश गरेका उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँगको सघन छलफलपछि आफू उम्मेदवारी दिने निष्कर्षमा पुगेको गुरुङले बताएका छन् । गुरुङले रास्वपाको टिकटमा गोरखा १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट पार्दै निर्वाचनको तयारी समेत सुरु गरिसकेको जानकारी दिए । उनी गोरखाका स्थानीय बासिन्दा हुन् र युवा पुस्तामाझ उनको राम्रो पकड रहेको मानिन्छ ।
गुरुङ ‘हामी नेपाल’ नामक गैर सरकारी संस्थाका संस्थापक हुन् । उनी विसं २०८२ भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनका प्रमुख पात्रमध्ये एक मानिन्छन् । सो आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठन लगायतका गतिविधिमा समेत उनी सक्रिय रूपमा संलग्न रहँदै आएका थिए ।
गोरखा २ बाट चुनाव लड्ने बाबुराम भट्टराईको निर्णय
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णयमा पुगेका छन् । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधित्व गरेको यस क्षेत्रमा यस पटक प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का भट्टराई र नेकपा एमालेका उम्मेदवार मिलन गुरुङ ‘चक्रे मिलन’ बीच प्रतिस्पर्धा हुने भएको छ । भट्टराईले स्थानीय नेता, कार्यकर्ता र आम मतदाताको आग्रहका आधारमा चुनावी मैदानमा उत्रिने निर्णय लिएको बताएका छन् । भट्टराईले आफूले विश्राम लिन चाहे पनि स्थानीयको दबाबका कारण पुनः उम्मेदवार बन्ने निर्णय गरेको जानकारी दिए ।
गोरखा २ मा यस पटक चुनावी सरगर्मी बढेको छ । उक्त क्षेत्रबाट नेकपाका तर्फबाट लेखनाथ न्यौपाने उठ्ने पक्का भइसकेको छ । त्यसैगरी विप्लव नेतृत्वको नेकपा माओवादीबाट उमा भुजेल र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्ने चर्चा छ । विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरू एउटै क्षेत्रबाट मैदानमा उत्रिने भएपछि गोरखाको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।















