पोखरा, ०६ चैत ।

होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । संघको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने निर्णय गरेको हो ।
पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए ।
महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन् । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ । महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा जाउँ है पोखरा कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने छ ।














