पोखरा, ०६ चैत ।

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित देश दौडाहामा जान “विश्वको उत्कृष्ट गन्तव्य नेपाल” अंकित विशेष सवारीको भव्य अनावरण गरिएको छ ।
उक्त सवारीको अनावरण मनोक्रान्तिका प्रणेता डा। योगी विकाशानन्दले गर्नुभएको हो । कास्कीको मनोक्रान्ति स्थलमा आयोजित एक औपचारिक समारोहबीच यस महत्वाकांक्षी अभियानको सुरुवात गरिएको हो ।
विगत १५ वर्षदेखि देशका विभिन्न भू(भागमा पुगेर स्थलगत रूपमा उपस्थित भएर त्यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेका प्रज्ञा नगेन सिंह ठकुरीले यसपटकको यात्रालाई अझ व्यापक र उद्देश्यपूर्ण बनाउँदै ७७ जिल्लामा नै कला यात्रालाई नयाँ उचाइ दिने लक्ष्य राखेको जानकारी दिनुभयो ।
यस अभियानअन्तर्गत देशका सबै जिल्लाबाट सिर्जित कलाकृतिहरूलाई समेटेर तयार पारिएको ‘नेपाल कला यात्रा’ नामक पुस्तकलाई समेत ७७ वटै जिल्लामा लैजाने ठकुरीले बताउनुभयो ।
अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको अभियानलाई गिनीज वल्र्ड रेकड्र्समा दर्ता गराउने तयारी समेत भइरहेको छ । त्यसका लागि ५ लाख नेपालीबाट जनही एक सय रुपैयाँ संकलन गरी ‘जनप्रकाशक’ बनाउने योजना अघि सारिएको समेत आयोजकले जनाएको छ । जसले नेपाली कला र पर्यटन प्रर्वद्धनमा जनसहभागिताको नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
यस कार्यक्रमकै अवसरमा ३५ जना नेपालीले तत्कालै सहयोग गर्दै ‘प्रकाशक’का रूपमा आफ्नो नाम दर्ता गराएका थिए । यससँगै सातवटा पुस्तक बिक्रीसमेत गरिएको छ ।
पुस्तक बिक्रीबाट संकलित रकमलाई विश्वका १९६ देशका भाषामा प्रकाशन विस्तार गर्ने लक्ष्य रहेको ७७ जिल्ला प्रत्यक्ष कला भ्रमण तथा नेपाल कला यात्रा पुस्तक वितरण समितक संयोजक तथा नगेन न्यूजका भिडियो जर्नालिस्ट नकुल सिंह ठकुरीले जानकारी दिनुभयो ।



त्यस्तै यस अभियानले कला, पर्यटन र राष्ट्रिय पहिचानलाई एउटै सूत्रमा बाँध्दै नेपाललाई विश्वमञ्चमा नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।











