पोखरा, ०९ चैत ।

विकासानन्द फाउन्डेसन विश्व परिवार गण्डकी प्रदेशको आयोजनामा पोखरादेखि गोरखासम्म एक सय २५ किलोमिटरको मनोक्रान्ती शान्ति पदयात्रा आईतवार देखि सुरु भएको छ । मानव जीवनको वास्तविक सार शान्ति, प्रेम, करुणा र सहअस्तित्वमा लगाएत बढ्दो तनाव, असन्तुलन र विभाजनको बीच मानव हृदयमा पुनः शान्ति, सद्भाव र आध्यात्मिक चेतना जागृत गराउने र विश्व शान्तिको कामना गर्दै मनोक्रान्ती शान्ति पदयात्रा सुरु गरिएको हो ।
पवित्र पदयात्रा पोखरा महानगरपालिका–२३ स्थित बराङ्ग आश्रमबाट चैत्र ८ गते देखि प्रारम्भ भई गोरखा जिल्लाको ऐतिहासिक आस्था केन्द्र गोरखकाली मन्दिरमा चैत्र १३ गते विशेष प्रार्थना ध्यान, ज्ञान ,योग तथा समापन हुने विकासानन्द फाउन्डेसन गण्डकीका सचिव प्रकाश पन्तले जानकारी दिएका छन् । प्रकृतिको काखमा पाइला चाल्दै ध्यान, जप, प्रार्थना, मौन साधना र आत्मचिन्तनको भावनासहित सम्पन्न हुने पद यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई मानव आत्माको जागरण, समाजमा प्रेम, सद्भाव र एकताको सन्देश फैलाउने एक आध्यात्मिक अभियान रहने बताईएको छ ।
विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको पदयात्राको शुभारम्भ गर्दै मनोक्रन्ती प्रणेता डा।योगी विकासानन्दले “मनको क्रान्तिबिना बाहिरी क्रान्ति अधुरो हुन्छ र मनको शान्तिबिना बाह्य शान्ति सम्भव हुँदैन।“ यही सत्य आत्मसात गर्दै यो पदयात्राले व्यक्तिको अन्तरात्मामा शान्तिको ज्योति प्रज्वलित गर्दै समाजमा सकारात्मक ऊर्जा, नैतिकता र मानवीय एकताको भावना प्रवाह गर्ने लक्ष्यका साथ आयोजना गरेको बताए ।
यसैविच एक हप्ते मनोक्रान्ती पदयात्रामा सहभागीहरुलाई आईवार लेखनाथमा स्वागत गर्दै योग तथा ध्यान कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा योगी विकासानन्दले दुःखमा पनि सुख खोज्नु नै पदयात्राको मुख्य लक्ष्य रहेको बताएका थिए भने कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका उप सचिव घनश्याम पौडेलले स्वस्थ जिवन शैली अपनाउनका लागि योग,ध्यान र प्रणाय अहिलेको बदलिलो समयको माग रहेको बताए ।














