२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

मगर जातिको इतिहास र भर्तीको फन्दा बजारमा

पोखरा, २४ चैत ।

लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।

इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ पुस्तक १७६ पृष्ठको छ । पुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामाकरण रु मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उपथर , मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।

यसैगरि २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो ।

‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरिः मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भनिन्,‘तत्कालिन समयमा राज्यले नै केही निश्चित जातिलाई छानिछानि भर्ती पठाइएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’

पुुस्तकले “लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।

अध्यक्ष रोकामगरका अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास समेत गरेको छ । यसले राज्य, समाज र व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दै, विगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको फन्दा” ले पाठक, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त बनाउनेछ ।

लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरि किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रुपमा उपलब्ध होस् भन्ने हेतुले विमोचन अगावै पुस्तक बजारमा पठाइएको सुनाए । नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दैछन् ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।