पोखरा , साउन २९ गते।

सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड रुपैयाँ ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो निर्णयबारे जानकारी दिएका हुन् ।
यो निर्णयसँगै स्याङ्जाको फेदीखोला गाउँपालिका – १, गुर्धुममा प्रतिष्ठानको प्रशासनिक र आवासीय भवन निर्माणको काम अघि बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार उक्त भवनको शिलान्यास गरे । शुक्रबार बिहानै गण्डकी प्रदेशका सामाजिक विकास सचिव राजेन्द्रदेव पाण्डे र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका नेपालका प्रतिनिधिबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो ।















