सभ्य र अनुशासित भएर पर्व मनाऊँ ‘ -प्रजिअ शर्मा

पोखरा -६ गते शुक्रवार
पोखरा महानगरपालिका वडा नं १५ ले आयोजनामा वडा स्तरीय ‘तिज गीत प्रतियोगिता तथा तीज विशेष कार्यक्रम’ सम्पन्न भएको छ। श्री सिद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रवार आयोजित प्रतियोगिता धूमधामका साथ सम्पन्न भएको हो।

कूल १४ समूहको सहभागिता रहेको प्रतियोगितामा चेतना आमा समूह प्रथम भएको छ। प्रथम चेतना आमा समूहले १५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ । ढुंगेसाँघु दिदी बहिनी समूह दोस्रो हुँदै १० हजार ५० रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेको छ । विश्वकर्मा आमा समूह तेस्रो हुँदै ७ हजार ५० रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेको छ।
यस्तै श्री सिद्ध मा.विको विद्यार्थी समूह ‘क’ र लक्ष्मी टोल आमा समूह सान्त्वना हुँदै ३-३ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् । भने, उत्कृष्ट नृत्य गर्दै अस्मिता क्षेत्रीले ३ हजार रुपैयाँ हात पारेकी छन्।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा कास्कीका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले तीज पर्वको धार्मिक,सामाजिक र सांस्कृतिक महत्त्व रहेको भन्दै यस पर्वले टाढा रहेका परिवार, आफन्त र साथी भाइलाई नजिक ल्याउने बताइन्। तीज पर्वको मौलिक संस्कृतिलाई संरक्षण गर्दै पछिल्लो समय देखिँदै आएको कमी कमजोरीलाई सुधार्दै सभ्य र अनुशासित भएर पर्व मनाउन उनले सुझाव दिइन्। प्रजिअ शर्माले समुदायमा कोही व्यक्ति समस्यामा छन् र, उनीहरूले ती समस्या वा घटना बाहिर ल्याउन सकिरहेका छैनन् भने त्यस्ता समस्या लिएर आफ्नो कार्यालयमा आउन आग्रह गरिन्। अहिले भित्र दबाएर राखिएका साना घटनाले भोली अपराध निम्त्याउने हुँदा त्यस्ता समस्यालाई गुम्स्याएर नराखी बेलैमा समाधान खोज्न र त्यसका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताइन्।




पोखरा १५ का वडा अध्यक्ष तोरण बानियाँले महिला दिदीबहिनीहरूको विशेष पर्व तीज पर्वको कार्यक्रम गरिरहँदा गत वर्ष गण्डकी प्रदेशको नेतृत्व सम्हाल्न आउनुभएकी डिआइजी दुर्गा सिंहलाई प्रमुख अतिथिका रूपमा पाएको र यस वर्ष कास्की जिल्ला प्रमुख रुद्रादेवी शर्मा अर्थात् महिला नेतृत्वलाई प्रमुख अतिथिका रूपमा पाएको भन्दै आगामी वर्ष पनि कास्कीको कुनै निकाय सम्हाल्न आउने महिला नेतृत्वलाई पाउने विश्वास व्यक्त गरे। अध्यक्ष बानियाँले पूर्वाधारसँगै मानवीय विकास गर्ने लक्ष अनुरूप यहाँका हरेक जाति सम्प्रदायले मनाउने चाड पर्व र रीतिरिवाजलाई वडाले उत्सवका रूपमा मनाउने र ती पर्वको वडाले अपनत्व लिँदै नागरिकसँगै पर्व मनाउने बताए।

कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य मन्दिरा परियारले शुभकामना मन्तव्य राख्दै १५ नं वडाले खादा मालालाई गत वर्षदेखि नै बन्द गरेकाले अतिथिहरूलाई घर वरपर फुल्ने फूलले स्वागत गरिएको बताइन्।
कार्यक्रममा विशेष अतिथिको रूपमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसी, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, वडा सदस्यहरू बलराम पौडेल, आशिष भण्डारी, सेतीमाया गुरुङ, पूर्व वडा अध्यक्ष, पूर्व वडा सदस्य लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडामा रहेर एसइईमा ४ जिपिए ल्याउने दुई जना विद्यार्थी र श्री सिद्ध माध्यमिक विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो।
वडा सचिव युवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगिताको निर्णायकको रूपमा लोकदोहोरी गायिका सिता केसी, कृष्ण सुवेदी र माया थापा थिए।












