काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन्। उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए। उनले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्याउँछ भन्ने पनि सोच्न आग्रह गरे। उनले पार्टीहरूले पनि कन्फ्युजन सिर्जना नगरी जेनजीको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए।अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन्।बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी थिए।















