पोखरा ।
स्थानीय उत्पादनसँगै आन्तरिक पर्यटन प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा -२१ मा सुन्तला महोत्सव हुने भएको छ।

वडा स्तरीय कृषि सञ्जालको समन्वय तथा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा आगामी बिहीबार १० गते पोखरा -२१ कृस्ती हर्राबोट खेल मैदानमा सुन्तला महोत्सवको आयोजना गरिएको हो।
पोखरा २१ का वडा अध्यक्ष दीपक सुवेदीले महोत्सवमा सहभागी भई आफ्ना उत्पादन बिक्री वितरण गर्न सम्पूर्ण वडावासी कृषकलाई आग्रह गर्नुभयो। उहाँले कृषकहरूलाई प्रोत्साहन गर्न र किसानले उत्पादन गरेका ताजा सुन्तलाको स्वाद लिन समग्र पोखरावासीलाई आग्रह गर्नुभयो।
यस्तै, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले भूमिका खेल्ने बताउनुभयो। उहाँले महोत्सवमा सुन्तला उत्पादनका विविध पक्ष, यसका समस्या र उपायबारे छलफल हुने भन्दै महोत्सवमा सुन्तला ग्रेडिङ गर्ने, सुन्तला खाने प्रतियोगिता, बढी सुन्तला उत्पादन गर्ने कृषकलाई सम्मान गरिनुका साथै मेलाको अवसरमा ए ग्रेडको सुन्तला रू १०० मै खुद्रा बिक्री गरिने कडरियाले जानकारी दिनुभयो।
पोखराको पहिचान बोकेको सुन्तलालाई हामी सबैले प्रवर्द्धन गर्नुपर्ने भन्दै महोत्सवमा धेरै भन्दा धेरैको उपस्थिति रहने विश्वास व्यक्त गर्नुभयो।















