२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा, ११ चैत

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताउनुभएको छ ।

प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन ।’ उहाँभले भन्नुभयो – ‘वर्तमान समयमा सरकारी सेवाप्रति युवाहरुको बढ्दो आकर्षण, सूचना प्रविधिको तीब्र विकास तथा बढ्दो प्रतिश्पर्धाजस्ता विषयलाई सम्बोधन गर्दै आयोगले आफूलाई थप सबल तथा अद्यावधिक गर्नु आजको टड्कारो आवश्यकता हो ।’

चुस्त व्यवस्थापकीय क्षमतायुक्त‚ इमान्दार‚ कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनौट प्रणालीमा समय सापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने पनि उहाँले अपेक्षा गर्नुभयो ।

आगामी दिनमा आफूप्रतिको विश्वसनीयतालाई कायम राख्दै प्रदेश सरकार र नागरिक तह दुवैसँग सुमधुर सम्बन्ध र समन्वय कायम गरी आफ्नो निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा आयोग लागिपर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मन्त्रकासाथ लोकसेवा आयोगले प्रदेश कानुन बमोजिम प्रदेशका र प्रदेश भित्रको स्थानीय तहका कर्मचारीको भर्ना, छनोट र सिफारिसको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।  

‘सरकारी सेवामा प्रवेश गर्न चाहने आमनागरिकको आशा एवं भरोसाको केन्द्रका रुपमा लोकसेवा आयोग स्थापित भइसकेको छ ।’ उहाँले भन्नुभयो – ‘निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरीकन स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण्ण राख्नु चुनौतीपूर्ण काम हुँदाहुँदैपनि लोकसेवा आयोगले आफूलाई अब्बल सावित गर्दै अगाडि बढेको पाएको छु ।’

मुलुकको स्थायी सरकारको रूपमा चिनिने निजामती प्रशासन र अन्य सार्वजनिक सेवाको क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य जनशक्ति प्रवेश गराउने मुख्य जिम्मेवारी बोकेको यस आयोगले राष्ट्रसेवामा सर्वसाधारणलाई आकर्षित गर्न र आमजनताको मन जित्न आयोग सफल भएको उहाँको भनाई छ । 

 
 
 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।