पोखरा, ०५ वैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले लागू गरेको शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदाको समयमा पनि अस्पतालका आकस्मिक र अन्तरंग सेवाहरुलाई २४ सै घण्टा सुचारु राख्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबारका दिन अस्पतालमा हुने पूर्व(निर्धारित शल्यक्रिया लगायतका सेवाहरुलाई बिरामीको सहजता हेरेर फेरि समय मिलाउन समेत अस्पतालहरुलाई भनेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार २०७८ चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा मन्त्रालयले यस्तो स्पष्ट पारेको हो। स्वास्थ्यकर्मीहरुको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न सरकारको दुई दिने बिदाको नीति अनुरुप आइतबारका पूर्व(निर्धारित शल्यक्रिया ‘ओटी’ लगायतलाई रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरु सधैँझैँ २४ सै घण्टा सुचारु रहने जानकारी मन्त्रालयले गराएको छ।
बिदाका दिनहरुमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्मका सेवा प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ। मन्त्रालयले स्वास्थ्य मन्त्रालयको ‘अस्पताल सुधार कार्यविधि, २०७८’ को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन ‘ओ एन्ड एम’ सर्भे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ। यो व्यवस्थाले बिदाको दिनमा पनि नागरिकहरुले स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने र अस्पतालको सेवा प्रवाहमा प्रभावकारिता आउने विश्वास मन्त्रालयले लिएको छ।














