पोखरा, असार ५

पोखरा महानगरपालिका राजश्व विभागको आयोजनामा पोखरा–२७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कलेजको म्यानेजमेन्ट संकायका दोस्रो तथा तेस्रो वर्षमा अध्ययनरत करिब ५० जना विद्यार्थी तथा प्राध्यापकहरूको सहभागितामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका राजश्व विभागका कर अधिकृत दिपेन्द्र पण्डितले कर सम्बन्धी सचेतनामूलक प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा कलेज प्रमुख डिल्लिराम पौडेल प्रमुख अतिथि तथा उपप्रमुख विमल न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सम्बन्धित विषयका विद्यार्थीहरूको सहभागिता रहेकाले कार्यक्रम निकै अन्तरक्रियात्मक र उपलब्धिमूलक बनेको थियो। कार्यक्रममा सुरुदेखि नै विद्यार्थीहरूले कर प्रणाली, राजस्व प्रशासन तथा हालका कर सम्बन्धी नीतिहरूका विषयमा विभिन्न जिज्ञासा राखेका थिए।

विद्यार्थी सागर तिवारीले व्यक्तिगत आयकरको सीमा तथा सरकारले हालै घोषणा गरेका नयाँ व्यवस्थाबारे प्रश्न गर्नुभयो भने गणेश देवकोटाले सम्पत्ति करको मापदण्ड र मूल्यांकन प्रक्रियाबारे जिज्ञासा राख्नुभयो। त्यसैगरी अमृत रानाभाटले हालैको बजेटमार्फत निष्क्रिय तथा कारोबार नदेखाइएका फर्मलाई पछिल्लो एक वर्षको मात्र हिसाब चुक्ता गरे पुग्ने व्यवस्था सम्बन्धी प्रश्न गर्नुभयो।
विद्यार्थी सुशिला तिवारीले विज्ञापन करका विषयमा प्रश्न गर्दै बजारमा राखिएका होर्डिङ बोर्ड तथा सवारीसाधनमा टाँसिएका विज्ञापन सामग्रीमा पनि कर लाग्ने वा नलाग्ने, साथै कर नतिर्नेहरूलाई कसले अनुगमन तथा कारबाही गर्छ भन्ने विषयमा जिज्ञासा व्यक्त गर्नुभयो।




यस्तै, दिपिका पौडेलले घरबहाल कर घरधनीले तिर्ने कि भाडावालाले भन्ने प्रश्न राख्नुभयो भने विवेक केसीले धितो मूल्यांकनको मापदण्ड देशभर एउटै हुने वा फरक हुने तथा महानगरपालिकामा तिर्नुपर्ने कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने वा नसकिने विषयमा प्रश्न गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले पाठ्यपुस्तकबाट प्राप्त ज्ञानभन्दा बाहिरका व्यावहारिक विषयमा समेत जानकारी प्राप्त भएको र आफ्ना धेरै जिज्ञासाको समाधान भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा करप्रति सकारात्मक सोच तथा जिम्मेवार नागरिकको भावना विकास गर्न महत्वपूर्ण योगदान पुगेको सहभागीहरूको भनाइ रहेको थियो।











