पर्वत जिल्लाको महाशिला गाउँपालिका सुन्दर प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र कृषि सम्भावनाले सम्पन्न भए पनि यहाँका कृषकहरूले लामो समयसम्म उत्पादनको उचित मूल्य नपाउने, बजार पहुँचको अभाव, उच्च ढुवानी लागत, कमजोर भण्डारण सुविधा र बिचौलियाको भर पर्नुपर्ने जस्ता चुनौतीहरू भोग्दै आएका थिए। मेहनत धेरै, आम्दानी कम। यसले कृषि पेशालाई निराशाजनक बनाइरहेको थियो।
यही अवस्थालाई परिवर्तन गर्न हेफर इन्टरनेशनल नेपाल, महाशिला गाउँपालिका र इन्प्रेड नेपालको साझेदारीमा “तरकारी मूल्य श्रृङ्खलामा नविनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि परियोजना” सञ्चालनमा आयो ।

यो परियोजनाले केवल तरकारी उत्पादन बढाउने लक्ष्य मात्र राखेको छैन, यसले ग्रामीण महिलालाई व्यवसायिक कृषि उद्यमीका रूपमा स्थापित गर्ने, उत्पादनदेखि बजारसम्मको सम्पूर्ण मूल्य श्रृङ्खलामा उनीहरूको पहुँच विस्तार गर्ने, र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन उद्देश्य बोकेको छ।

परियोजना सुरु भएसँगै महाशिलाका विभिन्न वडामा कृषक व्यवसाय पाठशाला सञ्चालन गरियो। कृषकहरूलाई आधुनिक खेती प्रविधि, जलवायु स्मार्ट कृषि अभ्यास, व्यवसाय योजना निर्माण, फसलपछिको व्यवस्थापन तथा बजार व्यवस्थापनसम्बन्धी व्यवहारिक तालिम प्रदान गरियो। खेतमै सिकाइ, समूहगत अभ्यास र सहकारीमार्फत सामूहिक छलफलले कृषकहरूमा नयाँ आत्मविश्वास पैदा गर्यो।
विशेषगरी ग्रामीण महिलाहरूको जीवनमा यस परियोजनाले उल्लेखनीय परिवर्तन ल्याएको छ। जो महिलाहरू पहिले घरायसी काममा मात्र सीमित थिए, उनीहरू आज व्यवसायिक तरकारी खेती, सहकारी नेतृत्व, उत्पादन व्यवस्थापन र बजार कारोबारमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूको आर्थिक आत्मनिर्भरता बढेको छ, निर्णय प्रक्रियामा सहभागिता बलियो बनेको छ, र परिवारको जीवनस्तरमा सकारात्मक सुधार आएको छ।
परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि भनेको सामूहिक बजारिकरण प्रणालीको स्थापना हो। सहकारीमार्फत कृषकहरूले आफ्ना उत्पादन व्यवस्थित रूपमा संकलन गरी बजारसम्म पुर्याउन थालेका छन्। यसले बिचौलियामाथिको निर्भरता घटाएको छ र किसानले आफ्नै उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गरेको छ।
हालसम्म दुई लाख १२ हजार दुई सय ११ केजीभन्दा बढी तरकारी बजारिकरण भइसकेको छ भने एक करोड तेह्र लाख रुपैयाँभन्दा बढीको कारोबार सम्पन्न भएको छ। यो उपलब्धि केवल तथ्यांक होइनस यो ग्रामीण महिलाको परिश्रम, सहकार्य र आत्मविश्वासको प्रतिफल हो।

परियोजनाले उत्पादन लागत घटाउन पनि महत्त्वपूर्ण योगदान दिएको छ। मल्चिङ, गुणस्तरीय नर्सरी, उन्नत प्रविधि र व्यवस्थापन सुधारका कारण टमाटर, काउली र बन्दाजस्ता तरकारीको उत्पादन लागत घटेको छ भने उत्पादकत्व बढेको छ। यसले कृषकको नाफा वृद्धि गरेको छ।



स्थानीय सरकारले पनि यस अभियानलाई थप टेवा पुर्याएको छ। तरकारी संकलन तथा प्रशोधन केन्द्र निर्माण, बजार सहजकर्ता परिचालन तथा बजार पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ। यसले परियोजनाको दीगो प्रभाव सुनिश्चित गर्ने विश्वास बढाएको छ।
यद्यपि चुनौतीहरू अझै बाँकी छन्। उच्च ढुवानी लागत, पर्याप्त भण्डारण सुविधाको अभाव र बजार मूल्यसम्बन्धी सूचना प्रणालीको सीमितता समाधान गर्नुपर्ने विषय हुन्। तर, महाशिलाले परिवर्तनको बाटो समातेको छ।
आज महाशिलाका महिलाहरू केवल किसान मात्र होइनन्, सफल उद्यमी बन्ने यात्रामा छन्। उनीहरूको मेहनत, सहकार्य र सही अवसरले देखाएको छ—यदि ज्ञान, प्रविधि र बजारसँग जोड्न सकियो भने ग्रामीण महिलाहरूले स्थानीय अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सक्छन्।
महाशिलाको यो हरियो रूपान्तरण एउटा परियोजनाको सफलता मात्र होइनस यो सम्भावनाको कथा हो, आत्मनिर्भरताको कथा हो, र समृद्ध भविष्यतर्फको साझा यात्रा हो।











