कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पोखरा महानगरपालिका– १९ चुरुङ्गामा आयोजित दोस्रो संस्करणको दाइँ महोत्सव धुमधामका साथ सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सवको आयोजना गरेको हो।

कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा स्थानीय तथा विदेशी पर्यटकको समेत उपस्थिति रहेको थियो भने, उत्कृष्ट गोरुपालक किसानलाई सम्मान, उत्कृष्ट धान उत्पादान गर्ने किसानलाई सम्मानका साथै, महोत्सवमा धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगिताको आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटनको राजधानी शहर भएको र यहाँ भित्र विभिन्न सिजनमा विभिन्न महोत्सव तथा मेलाको आयोजना गरिएको बताउँदै हाम्रो भाषा, हाम्रो साहित्य र संस्कृतिलाई समेत सँगसँगै लैजाने र हाम्रो जीवन शैली र जीवन पद्दतीलाई सबैका बीचमा पस्किने गरी कामहरू गर्दै आएको बताउनुभयो। उहाँले शहर भित्रका बाबु नानीहरूले धान कसरी फल्छ भनेर थाहा नपाएको अवस्थामा र संसार प्रविधिमा धेरै अगाडि पुगिसकेको अवस्थामा हामीले परम्परागत रुपमा धान कसरी थन्क्याउछौ यसको विधि के हो भनेर विदेशी पाहुनाहरूलाई समेत पस्कने गरी दाइँ महोत्सवको परिकल्पना गरिएको बताउनुभयो।

यस्तै पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले आजको दाइँ महोत्सवले विभिन्न क्षेत्रलाई एकै ठाउँमा जोडेको बताउनुभयो। उहाँले उत्पादनको चक्रमा धेरैको भूमिका रहने भन्दै यस महोत्सवले आन्तरिक र बाह्य पर्यटनदेखि पोखरा महानगरका ३३ वटै वडाका किसानलाई समेटेको बताउनुभयो। उहाँले धेरै धान खेति गर्ने ३ जना किसानहरुलाई पुरस्कृत गरिएको जानकारी दिँदै यसले स्थानीय कृषकलाई सम्मानका साथै ग्रामीण तथा शहरी अर्थतन्त्रलाई जोड्ने बताउनुभयो।
यस्तै पोखरा -१९ का वडाअध्यक्ष पुस्पेन्द्र पाण्डेले महोत्सवले हाम्रो जस्तो कृषि प्रधान देशमा किसानलाई प्रोत्साहन गर्न र कृषिलाई पर्यटनसँग जोड्न यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्दन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले दाइँ महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्दन गर्ने, बजारीकरण गर्ने र स्थानीय उत्पादन र पर्यटनलाई एकै ठाउँबाट विकास गर्नका लागि कोशेढुङ्गा सावित हुने बताउँदै स्थानीय संस्कृतीको जगेर्ना र पुराना लोप हुन लागेका बस्तु तथा संकृति जगेर्ना गर्नको लागि यस महोत्सवले भूमिका खेल्ने बताउनुभयो।




स्थानीय किसान टिकाराम गौतमले दोस्रो दाइँ महोत्सव आफ्नो ठाउँमा आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै यस किसिमको कार्यक्रमले आउँदो पिंढीलाइ हिजोका दिनमा के कसरी दाइँ गरिन्थ्यो, हामीले खाने चामल कसरी उत्पादन हुन्छ भन्ने कुराको जानकारी दिने बताउनुभयो।
यस्तै, गुन्द्री बुन्ने प्रतियोगितामा सहभागी हुन आउनुभएकी स्थानीय गंगा केसीले अहिले नयाँ नयाँ प्रविधिका सामानहरू आइरहेको समयमा यस कार्यक्रमले संस्कृति जोगाउने बताउनुभयो।
महोत्सवमा धेरै धान उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कार, लगायत विभिन्न प्रतियोगिताका बिजेता, उपविजेतालाई पुरस्कृत गरिएको थियो। स्थानीयको उलेख्य उपस्थिति रहेको महोत्सवमा ५ हल गोरूले दाइँ गरिएको थियो भने स्थानीय पन्चे बाजा र भजन चुड्कामा नाचेर अवलोकन कर्ताले मनोरंजन लिएका थिए।











