२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

गण्डकी र कोशी प्रदेशबीच पर्यटनमा सहकार्य : ९ बुँदे समझदारी

पोखरा, २९ पुस ।

गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटनमा सहकार्य गर्नेगरी ९ बुँदे समझदारी भएको छ । पर्यटनको राजधानी पोखरामा दुई प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ कै सन्दर्वमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीको नेतृत्वमा पोखरा आएको टोलीलाई गण्डकी प्रदेश सरकारले पोखरामा स्वागत गर्दै सोमबार स‌द्भावना भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.ईन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरे । समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ ।

सम्झौतापत्रमा समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन प्रवद्र्दनका लागि पोखरा–विराटनगर सिधा हवाई सेवा र पर्यटकीय स्तरका बस सेवा सञ्चालनका लागि संघीय सरकारसमक्ष संयुक्त पहल गरिनेछ । दुबै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर–प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्न सरकारी तहमा ईन्सेन्टिभ प्याकेज र नीजि तथा व्यवसायीक तहमा सुलभ प्याकेजका लागि पहल गर्ने उल्लेख छ । पर्यटन विकास र प्रवद्र्दनका लागि भएका असल अभ्यास आदानप्रदान गर्नेलगायतमा पनि समझदारी भएको छ ।

त्यस्तै, पर्यटन प्रवद्र्दनका लागि समन्वय र सहकार्य गर्ने, हवाई भाडा सम्बन्धी विषयमा पनि आपसी सहकार्य र पहल गर्ने, संयुक्त पर्यटन दूत बनाउने पनि दुई प्रदेशबीच समझदारी भएको छ । दुबै प्रदेशले धार्मिक पर्यटन सर्किट विकास तथा प्रवद्र्दन गर्न आपसी समन्वय र सहकार्य गर्ने प्रतिबद्दता जनाएका छन् ।

जस अनुसार प्रथम चरणमा गण्डकी प्रदेशका मनकामना, मुक्तिनाथ र दामोदर कुण्ड तथा कोशी प्रदेशका पाथीभरा, बराहक्षेत्र र हलेसी लगायतका धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न पहलकदमी लिने सम्झौता पत्रमा उल्लेख छ । गण्डकी र कोशी प्रदेशबीच अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्दनका लागि सहकार्य गर्ने, दुवै प्रदेशका होमस्टेहरुबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने पनि सम्झौता भएको छ । समझदारी कार्यान्वयनका लागि ‘गण्डकी–कोशी पर्यटन प्रवद्र्धन समन्वय समिति’ गठन गरिनेछ, जसको संयोजक दुवै प्रदेशका पर्यटन मन्त्री पालैपालो रहनेछन् ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न दीर्घकालीन नीति र प्रदेशबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। कोशी प्रदेशका मन्त्री पराजुलीले भारतसँग नाका जोडिएको कोशी प्रदेशमा भारतीय पर्यटकको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले अन्तरप्रदेश सहकार्यबाट पर्यटन विस्तार हुने विश्वास व्यक्त गरे। 

गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराम ढकाल, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, कोशी प्रदेशको पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कृष्ण प्रसाद न्यौपान, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्डका पूर्व केन्द्रीय सदस्य वासुदेव त्रिपाठी, होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मणप्रसाद सुवेदी, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरिराम अधिकारी, चिया व्यवसायी तथा मुद्रा सटही व्यवसायी सङ्घका अध्यक्ष रूपकराज मिश्रलगायतले अन्तरप्रदेश पर्यटन प्रवद्र्धनको को लागि कनेक्टिभिटीमा जाेड दिनुपर्ने बताए । विगतमा पोखरा–भद्रपुर, पोखरा–विराटनगर तथा पोखरा–भरतपुर हवाई सेवा सञ्चालनमा रहे पनि हाल ती सेवा बन्द हुँदा एक प्रदेशबाट अर्को प्रदेश पुग्न पर्यटकलाई कठिनाइ भइरहेको भन्दै गुनासाे गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।