पोखरा, ०७ माघ ।

एनसेल छैटौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिता माघ ९ गतेदेखि सुरु हुने भएको छ। पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार खेल तालिका प्रकाशित गरेको हो । प्रतियोगिताको उद्घाटन खेल पर्सी (शुक्रबार) पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स बीच बिहान ११ बजे हुने आयोजकले जनाएको छ। महिलातर्फका खेलहरू पनि सोही दिनदेखि सुरु हुनेछन्।
प्रतियोगितामा महिला र पुरुष दुवै तर्फका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहनेछ। खेलहरू राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन गरिनेछ भने लिग चरणपछि शीर्ष स्थान हासिल गर्ने टोलीहरूबीच प्लेअफ खेलमार्फत अन्तिम स्थान निर्धारण गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा महिला तर्फ नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ नेपाल एपीएफ क्लब टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब,त्रिभुवन आर्मी क्लब,थाइल्याण्ड क्वीन्स रहेका छन । भने पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघ,पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स रहेका छन ।
च्याम्पियन टोलीले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। सो पुरस्कार राशि महिला तथा पुरुष दुवै तर्फ समान प्रदान गरिनेछ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट खेलाडीहरूले नगद ११ हजार ६६६ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताका प्राविधिक संयोजक याम बहादुर गुरुङ रहेका छन्। CAVA रेफ्री कमिसन सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री कुन्दी अहमद सलीम र रेफ्री डेलिगेट तथा अन्तर्राष्ट्रिय रेफ्री तहल सिंह थापा निर्णायक भूमिकामा रहनेछन्।
गत वर्ष सम्पन्न पाँचौँ टाइगर कप पुरुषतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो भने महिलातर्फ एपीएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो।














