पोखरा, १५ माघ ।

पोखरा महानगरपालिका–२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि एक अभिमुखीकरण कार्यक्रमका साथै स्वागत सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रवेशी विद्यार्र्थीहरूलाई आत्मविश्वासको उज्यालो, लक्ष्यप्रतिको दृढता र विवेकपूर्ण मार्गनिर्देशन प्रदान गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व तथा ग्रीन डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत सिइओ हरिबहादुर बुढाथोकीले ज्ञानको औपचारिक ढोका मात्र होइन जीवन बुझ्ने, दृष्टि विस्तार गर्ने र बौद्धिक यात्राको आरम्भका रूपमा उक्त कार्यक्रमले गहिरो सन्देश प्रवाह गरेको वताए ।
सल्लाहकार बाबुराम गिरीले उप–प्राध्यापकहरुका प्रेरणादायी विचार, अनुभवजन्य सन्देश र जीवनमुखी सुझावहरूले विद्यार्र्थीहरूमा आफ्नो शैक्षिक यात्रालाई केवल डिग्रीसम्म सीमित नगरी सोच, दृष्टि र चरित्रको रूपान्तरणसँग जोड्नुपर्ने चेतना जागृत गराएको अनुभूति भएको धारणा राखेका थिए । क्याम्पस प्रमुख डिल्लीराम पौडेलले सम्पूर्ण नव प्रवेशी विद्यार्थीहरुको समुज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै स्वागत गरेका थिए । उपप्राध्यापक सुनिलदत्त बरालले सञ्चालन गरेको कार्यक्रममा ३७ नवागन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रमका साथै स्वागत गरिएको थियो ।















