पोखरा, १७ माघ ।

पोखरामा आजदेखी दक्षिण एशियाली खेलकुद महासंघ(साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु भएकाे छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा च्याम्पियनसिप पहिलाे पटक पाेखरामा सुरु भएकाे हाे ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । घरेलु मैदानमा भएकाे खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो ।
भारतकी पर्ल फर्नान्डेजले खेलको ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भारत खेलमा केही राम्रा अवसरलाई गोलमा परिणत गर्न चुक्यो । नेपालको खेल भने रक्षात्मक देखिएको थियो ।
नेपालले अब दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । सोमबार नै बंगलादेश र भारतबिच खेल हुने छ ।
नेपाली टोलीका प्रशिक्षक सुमन श्रेष्ठले प्रशिक्षणको समयमा खेलिएको बल र शनिबार प्रतिष्पर्धामा प्रयोग भएको बल फरक पर्दा खेलमा असर परेको बताउँदै स्कोर गर्न नसके पनि बलियो टोलीसँग खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । भारतका प्रशिक्षक पामेला कोन्टीले खेल मैदान राम्रो नहुँदा खेलाडीले सोचे जस्तो खेल्न नसकेको बताइन ।
यसअघि आजै भएको पहिलो खेलमा बङ्गलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो । पहिलो हाफमा ४ गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ८ गोल गर्यो।
बङ्गलादेशका लागि मोस्ट मुन्की अख्तरले ह्याट्रिकसहित ४ गोल गर्दा अल्पी अख्तर र श्री मोति तृष्णा रानीले पनि ह्याट्रिक पूरा गरे । अर्पिता विश्वास अर्पिता र मामोनि चक्माले एकएक गोल गरेका थिए । खेलमा बङ्गलादेशका खेलाडीसँग भुटान निरीह देखियो।



बङ्गलादेशकी प्रशिक्षक पिटरजेम्स बटलरले पोखराको मैदान फुटबलको लागि उपयुक्त नभएको प्रतिक्रिया दिए । उनले फुटबलको लागि पीच राम्रो नभएको बताए । भुटानकी प्रशिक्षक टंका माया घल्लीले राम्रो तयारी गरेर आएपनि राोचे अनुरुप खेल प्रदर्शन गर्न नसकिएको बताइन ।
सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् । माघ २४ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपाल, इण्डिया, बङ्गलादेश र भुटानको सहभागिता रहेको छ ।
प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।












