पोखरा, १९ माघ ।

पोखरामा जारी दक्षिण एशियाली खेलकुद महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिप अन्तरगत आज भएको पहिलो खेलमा भारत बाङ्गलादेशसङ २-० ले पराजित भएको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको खेलमा बङ्गलादेशले भारतलाई २-० ले पराजित गरेको हो ।
बङ्गलादेशको जितमा अर्पिता बिष्ट अर्पिता र अल्पि अक्तरले एक, एक गोल गरे ।
खेलको २९ औं मिनेटमा अर्पिता बिष्ट अर्पिताले पहिलो गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन । त्यस्तै, खेलको ४०औं मिनेटमा बङ्गलादेशको तर्फबाट अल्पि अक्तरले गोल गर्दै भारतबिरुद्द अग्रता दोब्बर पारिन ।
खेलको दोस्रो हाफमा दुबै पक्षबाट गोल हुन सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा केही अवसरलाई दुबै टिमले गोलमा परिणत गर्न चुकेका थिए ।
च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । यसअघि भएको आफ्नो पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो ।
बंगलादेशी प्रशिक्षक पिटरजेम्स बटलरले खेलाडीहरुले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए ।
सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् । माघ २४ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपाल, इण्डिया, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।



प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा च्याम्पियनसिप पहिलाे पटक माघ १७ गतेदेखि पाेखरामा सुरु भएकाे प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।












