पोखरा, २५ माघ ।

पोखरामा २५ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप प्रतियोगिता माघ २७ देखि हुने भएको छ । सहारा क्लब पोखराको आयोजनाको यही माघ २७ देखि फागुन ९ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
प्रतियोगितामा ३ विदेशी क्लबसहित १२ टिमको सहभागिता रहने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । विदेशी क्लबमा उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेड छन । पहिलो पटक प्रतियोगिताका सम्पूर्ण खेलहरु सन्ध्याकालीन समयमा फ्लड लाइटको माध्यमबाट खेलाइने भएकाले पोखरेली दर्शकहरुका लागि यो विशेष आकर्षण बन्ने विश्वास लिइएको बताए ।
प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएका छन् । अनुशासित टोलीलाई २५ हजार रुपैयाँ र ट्रफी दिइनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको ’म्यान अफ दि म्याच’ बापत १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । दर्शकहरुलाई समेत प्रोत्साहित गर्न प्रत्येक म्याचको भाग्यशाली दर्शकलाई ५ हजार रुपैयाँ र ‘फ्यान अफ दि म्याच’ लाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
दर्शकलाई टिकटको ब्यवस्था
आयोजकले प्रतियोगिता हेर्न आउने दर्शकका लागि टिकट दर समेत तय गरेको जनाएको छ । सिजनल टिकटको १ हजार २ सय रुपैयाँ तोकिएको छ भने जर्सी सहितको टिकट ३ हजार रुपैयाँ र जर्सी मात्र खरिद गर्दा २ हजार रुपैयाँ लाग्नेछ ।



साधारण प्यारापिट तर्फका खेलहरुका लागि प्रि–क्वार्टर र क्वार्टर फाइनलमा पश्चिम तर्फ २०० र अन्य तर्फ १०० रुपैयाँ शुल्क लाग्नेछ । सेमिफाइनलमा पश्चिम प्यारापिटको ३०० र अन्यको २०० रुपैयाँ तथा फाइनल खेलका लागि ५०० र ३०० रुपैयाँ टिकट दर कायम गरिएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा! रारा तयारी चाउचाउ छ ।
खेल तालिका सार्वजनिक
यसैबीच सहारा क्लबले खेल तालिका सार्वजनिक गरेको छ । जस अनुसार माघ २७ गते उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र हङकङको गार्खा फुटबल क्लबबीच हुनेछ ।
माघ २८ गते जाउलाखेल युवा क्लब र मछिन्द्र फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ । माघ २९ गते नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब खेल्नेछन् भने फागुन १ गते फ्रेण्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड बीच भिडन्त हुनेछ ।
यस्तै फागुन २ गतेदेखि क्वार्टर फाइनलका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल फागुन ६ गते र दोस्रो सेमिफाइनल फागुन ७ गते हुनेछ । फाइनल खेल फागुन ९ गते आयोजना हुने आयोजकले जानाएको ।
५ र ६ नम्बर गेट खुला
आयोजक सहारा क्लब पोखराले फुटवल प्रतियोगिता अवधिभर पोखरा रंगशालाको गेट नम्बर ५ र ६ खुला गरिने जनाएको छ । दर्शकको सहजताको लागि प्रतियोगिता अवधिभर ५ र ६ नम्बर गेट खुला गरिने अध्यक्ष थापाले जानकारी दिए । उनले पैदल ( हिडेरै ) हुदै जाने दर्शकले रंगशालाको मुल गेटलाई प्रयोग गर्न र सवारी साधन प्रयोगकर्ताहरुलाई पछाडिका ५ र ६ नम्नर गेटबाट प्रवेश गर्न आग्रह गरे । यसले पोखरा पृथ्वीचोक स्थित पुल निर्माणको कार्य भैरहेका कारण हुँनसक्ने सम्भावित ट्राफिक जामलाई केही हतसम्म कमि गर्न सकिने उनको भनाई थियो ।











