काठमाडौं ।
चिनियाँ दूतावासले नेपालका जेनजी युवाहरुलाई लक्षित गरी युवा अग्रणी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम सीएनवाईपी भनिने यस कार्यक्रमको उद्देश्य नेतृत्व विकास, सामाजिक तथा आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीच आपसी समझदारी तथा सहकार्य सुदृढ गर्नु हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार यस कार्यक्रममार्फत सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला तथा अध्ययन भ्रमणमा सहभागी गराइनेछ । साथै छनोट भएका युवालाई चीन भ्रमणको अवसर पनि प्रदान गरिने छ ।
दूतावासले यो कार्यक्रमले नेपालमा ‘रूपान्तरणकारी सोच’ भएका युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ । सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।
कार्यक्रममा सहभागी हुन २२ देखि ३४ वर्ष उमेर समूहको हुनुपर्ने दूतावासले जनाएको छ । इच्छुक नेपाली युवा पेशाकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन फारम अंग्रेजीमा भरेर इमेल ठेगाना cnypnepal@163.com मा पठाउन दूतावासले भनेको छ । आवेदन बुझाउने अन्तिम मिति सन् २०२६ को मे १७ तारिक ९२०८३ जेठ ३ गतेसम्म तोकिएको छ ।
दूतावासका अनुसार आवेदनहरू कार्यक्रमको उद्देश्यसँगको सान्दर्भिकता आधारमा मूल्यांकन गरिनेछ र अन्तिममा १० देखि २० जना उम्मेदवार छनोट गरिनेछ ।
छनोट भएकाहरू एक वर्षसम्म कार्यक्रमका विभिन्न तालिम, गतिविधि र नेटवर्किङ कार्यक्रमहरूमा संलग्न हुनेछन् । कार्यक्रम सम्पन्न भएपछि उनीहरू पूर्व–सदस्य सञ्जाल अल्मुनाइमा आवद्ध हुनेछन्, जसले निरन्तर अवसर र सहकार्यका माध्यम उपलब्ध गराउने बताइएको छ ।
कार्यक्रमले समुदायमा आधारित परियोजना सञ्चालनमा समेत सहभागीलाई प्रोत्साहन गर्ने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ ।



दूतावासले यो पहलले नेपालका युवामा नेतृत्व क्षमता विकाससँगै दिगो सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।











