२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

पोखरा १३ मा साहित्य पर्व तयारी

पोखरा, ०५ वैशाख ।

पोखरा महानगरपालिका वडा नम्बर १३ ले ‘साहित्य पर्व’ को तयारी तीव्र पारेको छ। शब्दसँगको आत्मीयता र पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले वडाले यो कार्यक्रम आयोजना गर्न लागेको हो। वैशाख १२ गते वडा कार्यालय परिसरमै हुने यस महोत्सवका लागि आशीर्वाद क्लब र अरण्यज्योति पुस्तकालयले समन्वय गरेका छन्।

धार्मिक, ऐतिहासिक र साहित्यिक हिसाबले सम्पन्न यो वडाले आफ्नो पहिचानलाई थप उचाइमा पुर्‍याउन दोस्रो चरणको साहित्यिक कार्यक्रम गर्न लागेको हो।
कार्यक्रममा मुख्य वक्ताका रुपमा साहित्यकार तथा पत्रकार नारायण वाग्ले सहभागी हुनेछन्। वाग्लेले ‘मसीको सुगन्धदेखि एल्गोरिदमको गहिराइसम्म स् साहित्यको एक शताब्दी यात्रा’ विषयमा आफ्नो प्रस्तुति राख्ने तयारी रहेको आयोजकले जनाए। साहित्यलाई समाजको आत्मा र विकासको आधार मान्दै आयोजना हुन लागेको यस पर्वले स्थानीय र राष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

वडाध्यक्ष किरण बरालले वडाको समग्र विकासमा भौतिक पूर्वाधार मात्र नभई बौद्धिक र सांस्कृतिक चेतना पनि अपरिहार्य रहेको बताए। उनले भने, ‘हामीले साहित्यमार्फत वडाको ऐतिहासिक र जातीय विविधतालाई जोड्न खोजेका छौं, यसले नयाँ पुस्तालाई आफ्नो माटो र पहिचानसँग साक्षात्कार गराउनेछ।’ वडाले लोककवि अलि मियाँको जन्मभूमि हुनुको गौरवसँगै भद्रकाली मन्दिर, जामे मस्जिद अक्सा र कमलपोखरी जस्ता ऐतिहासिक स्थलहरुको महत्वलाई पनि साहित्यमार्फत उजागर गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमको स्वरूप र व्यवस्थापनका विषयमा संयोजक राजेन्द्र भण्डारीले सिर्जनात्मक प्रतिभा प्रस्फुटनका लागि यो पर्व एउटा बलियो मञ्च बन्ने उल्लेख गरे। उनका अनुसार कार्यक्रममा विभिन्न ६ वटा सत्रहरु सञ्चालन हुनेछन्। पहिलो सत्रमा कलाकार दुर्गा बरालले ‘बितेका पाइला र आउने बाटो स् पोखराका युगपुरुषहरुको पदचापमा’ विषयमा लोककवि अलि मियाँ, जगन्नाथ सिग्देल र टेकबहादुर ढेवाजुको योगदानका बारेमा अन्तर्संवाद गर्नेछन्। भण्डारीले भने, ‘साहित्यिक सिर्जनशीलताको संवर्द्धन र सांस्कृतिक आदानप्रदान नै हाम्रो मुख्य ध्येय हो।’

पर्वमा समाजशास्त्री डा कपिल अधिकारीले ‘अक्षरदेखि एल्गोरिदमसम्म स् हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरूप’ बारे चर्चा गर्नेछन्। यस्तै उद्यमीहरु नारायण पौडेल र सुमेजराज भण्डारीसँग प्रविधि र औद्योगिक यात्राका विषयमा वार्ता गर्ने कार्यक्रम तय भएको छ। नारी अस्तित्वका स्वरहरु अन्तर्गत साहित्यमा नारीको प्रतिनिधित्वका विषयमा सरस्वती प्रतीक्षासँग हसिना बस्नेतले संवाद गर्नेछिन्। कार्यक्रमको आकर्षणका रुपमा कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठसँग पोखराको सांगीतिक जीवनको यात्राका बारेमा भलाकुसारी गरिने र उनका उत्कृष्ट गीतहरु समेत प्रस्तुत गरिने आयोजकले जनाए।

साहित्यिक पर्वमा स्थानीय प्रतिभाहरुलाई पनि प्राथमिकता दिइएको छ। जसमा धर्मराज अल्पायु, नुमराज बराल, अमर धिताल, सरस्वती परियार र सरस्वती श्रेष्ठ सरुले आफ्ना सिर्जना र गायन प्रस्तुत गर्नेछन्। अरण्यज्योति पुस्तकालय र भद्रकाली माध्यमिक विद्यालय जस्ता प्राज्ञिक संस्थाहरु रहेको यस वडाले शब्दको विन्यासबाट नवनिर्माण गर्ने अभियानमा सबै वडावासीको साथ र सहयोगको अपेक्षा गरेको छ। पहिलो साहित्य पर्वको सफलताले थप उत्साह जगाएको उल्लेख गर्दै आयोजकले यस पटकको कार्यक्रमलाई अझै भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पुर्‍याएको बताए।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।