पोखरा, ०७ वैशाख ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भइरहेको पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको तेस्रो दिन रोमाञ्चक खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा विभिन्न उमेर समूहका क्वाटरफाइनल र सेमिफाइनल खेलहरु सम्पन्न भएका हुन् ।
प्रतियोगिताको तेस्रो दिन यू–९ ब्वाइजतर्फ एकमात्र फाइनल खेल भएको प्रतियोगिताका टेक्निकल डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् । यू–९ ब्वाइजतर्फ सर्वज्ञ खत्री विजेता बनेका छन् । उनले फाइनलमा कायान चालिसेलाई ५–३, ५–४, ७–५ ले पराजित गरे ।
यू–१४ गर्ल्स सिंगल्स क्वाटरफाइनलमा स्वरा थापाले आर्या पौडेललाई ६–४, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । यू–१६ ब्वाइज सिंगल्स सेमिफाइनलमा सन्दीप बि।के।ले सुरेन्द्र बि।केलाई कडा प्रतिस्पर्धामा ५–७, ७–५, ६–४ ले हराउँदै फाइनल यात्रा तय गरे ।
यू–१० ब्वाइजतर्फ कायान चालिसेले आयान पन्तलाई ६–०, ६–१ को एकतर्फी जित निकाल्दै फाइनलमा प्रवेश गरे । त्यस्तै, यू–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसेले सभ्यजङ्ग कार्कीलाई २–६, ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
आरित मल्लले यू–१२ ब्वाइजतर्फ उत्कृष्ट प्रदर्शन गर्दै शान्श बस्नेतलाई ६–१, ६–१ ले हराए । यू–१२ गर्ल्सतर्फ सारा पन्ताले थिया श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै अगाडि बढिन् ।
यू–१२ गर्ल्स सेमिफाइनलमा नाइरा घलेले ताभिसी रानालाई ६–०, ६–४ ले हराइन् भने यू–१० ब्वाइज सेमिफाइनलमा सोनाम घलेले जीवाश भट्टराईमाथि ६–१, ६–३ को जित निकाल्दै फाइनलमा स्थान बनाए ।
यू–१६ ब्वाइज सेमिफाइनलमा स्पन्दन उदासले डोजन गुरुङलाई ६–२, ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । यू–१४ गर्ल्स सेमिफाइनलमा सारा पन्ता र शोरा थापा दुवैले सोझो सेटमा जित निकाल्दै फाइनल नजिक पुगे ।



यहि बैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल भोली ९मंगलबार० हुने प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिएका छन् ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा भएको हो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित ९० खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएको प्रतियोगिताका संयोजक गुरूङले जानकारी दिए ।











