पोखरा असार ३ गते।

पोखरा महानगरपालिका राजश्व महाशाखाको आयोजना तथा बाराही सञ्चार प्रालिको सहजीकरणमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।
पोखरा–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, टुँडिखेलमा आयोजित कार्यक्रममा विद्यालयका ७० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा तथा विशिष्ट अतिथि सहायक प्राध्यापक शंकर तिवारी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक सापकोटाले विद्यार्थीहरूलाई विषयवस्तु ध्यानपूर्वक सुन्न र मनन गर्न आग्रह गर्नुभयो। उहाँले सच्चा नागरिकको पहिलो परिचय नै देशप्रतिको इमान्दारिता भएको उल्लेख गर्दै नागरिकले तिरेको कर पुनः जनताकै सेवा र सुविधाका लागि राज्यले खर्च गर्ने बताउनुभयो।

कार्यक्रममा पोखरा महानगरपालिका राजश्व महाशाखाका कर अधिकृत सूर्य पौडेल र आविष्कार पौडेलले करसम्बन्धी सहजीकरण गर्नुभएको थियो।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले कर तथा राजश्वसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। विद्यार्थी आलोक मैनालीले डिजिटल प्लेटफर्मबाट हुने कारोबारमा लाग्ने करका विषयमा प्रश्न गर्नुभयो। कक्षा १२ मा अध्ययनरत रेखा पौडेलले व्यक्तिगत प्यान (Personal PAN) र व्यावसायिक प्यान (Business PAN) बीचको भिन्नताबारे जिज्ञासा राख्नुभयो।
त्यसैगरी विद्यार्थी दिलिप पाठकले पोखरामा पार्किङ शुल्क संकलन सम्बन्धी विषयमा प्रश्न उठाउनुभयो भने कक्षा १२ का रोहित केसीले कवाडी संकलन केन्द्रको संख्या, सञ्चालनका मापदण्ड तथा मापदण्डविपरीत सञ्चालन भएका केन्द्रमाथि हुने नियमनबारे प्रश्न गर्नुभयो। कक्षा ११ की मेनुका आचार्यले विदेश अध्ययनका लागि दर्ता गरिएको व्यवसाय नवीकरण नगरे के हुने भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो।



विद्यार्थीहरूले उठाएका सबै प्रश्न तथा जिज्ञासाको जवाफ कर अधिकृत सूर्य पौडेल र आविष्कार पौडेलले दिनुभएको थियो।











