पोखरा, जेठ २६ — पोखरा महानगरपालिका राजश्व महाशाखाको आयोजना तथा बाराही संचार प्रालिको सहजीकरणमा पोखरा महानगरपालिका वडा नं. २१, कृस्ती दोपहरेस्थित वडा कार्यालयको सभाहलमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सेवाग्राही गरी झण्डै छ दर्जन व्यक्तिको सहभागिता रहेको थियो। वडा अध्यक्ष दीपक प्रसाद सुवेदीको अनुपस्थितिमा कार्यवाहक वडा अध्यक्ष कृष्णबहादुर थापाले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य विमला केसी, वडा सचिव कृष्णप्रसाद शर्मा तथा सूचना अधिकारी मुक्तिनाथ पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा पोखरा महानगरपालिकाका अधिकृत शोभाकान्त पोखरेलले करसम्बन्धी विभिन्न विषय, करको दायरा तथा प्रकारका बारेमा जानकारी दिनुभएको थियो। सहभागीहरूले कर प्रशासन, सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, जग्गा मूल्यांकन तथा अभिलेखीकरणलगायत विषयमा विभिन्न जिज्ञासा राखेका थिए।

प्रश्नोत्तर सत्रमा राम्दी एकाहातेस्थित विद्यालयका शिक्षक विष्णु पौडेलले लामो अवधिका लागि दिइने जग्गा लिजको भाडासम्बन्धी प्रश्न राख्नुभयो। ठुलाचौर टोल विकास समितिका अध्यक्ष अर्जुन खत्रीले जग्गा अभिलेखीकरण प्रक्रियामा भएको ढिलाइबारे जिज्ञासा व्यक्त गर्नुभयो।
त्यसैगरी, कृस्ती भानु टोलका राजेन्द्र आचार्यले सम्पत्ति करबारे प्रश्न गर्दै कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिनुभयो। दोपहरे निवासी रामराज पराजुलीले व्यवसाय कर तथा महानगर र आन्तरिक राजस्व कार्यालयमा बुझाइने करबीचको भिन्नताबारे जानकारी माग्नुभयो।
निर्मलपोखरी निवासी ममता भट्टराईले जग्गा मूल्यांकन, तिरो निर्धारणको आधार तथा लाग्ने शुल्कबारे जिज्ञासा राख्नुभयो भने निर्मलपोखरी शिवालयकी हरिमाया पौडेलले सटर भाडामा लगाउँदा बहाल कर घरधनीले तिर्ने कि बहालमा बस्ने व्यक्तिले तिर्ने भन्ने विषयमा प्रश्न गर्नुभएको थियो।
सहभागीहरूले उठाएका सम्पूर्ण प्रश्न तथा जिज्ञासाको जवाफ पोखरा महानगरपालिकाका कर अधिकृत सूर्य पौडेलले दिनुभएको थियो।



कार्यक्रमको समापन गर्दै कार्यवाहक वडा अध्यक्ष कृष्णबहादुर थापाले यस्ता सचेतनामूलक कार्यक्रमहरू प्रायः शहर केन्द्रित हुने गरेको अवस्थामा आफ्नो वडामा समेत आयोजना गरिएकोमा महानगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कर तथा स्थानीय शासनसम्बन्धी कतिपय नीति–नियमबारे जनप्रतिनिधिहरू स्वयं पनि पूर्ण रूपमा जानकार नहुने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिक दुवैका लागि सिकाइको अवसर प्रदान गर्ने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले करसम्बन्धी जानकारी प्राप्त गर्न पाउँदा आफूहरू लाभान्वित भएको प्रतिक्रिया व्यक्त गरेका थिए।











