महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको “तरकारी मूल्य श्रृङ्खलामा नविनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि परियोजना” ले ग्रामीण महिलाको आयआर्जनमा उल्लेखनीय सुधार ल्याएको छ । सहकारीमार्फत सामूहिक बजारिकरण प्रणाली विकास भएपछि कृषक महिलाहरू व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र महाशिला गाउँपालिकाको साझेदारीमा सञ्चालित उक्त परियोजनाअन्तर्गत कृषक व्यवसाय पाठशाला, बजार व्यवस्थापन तालिम, फसलपछिको व्यवस्थापन, जलवायु स्मार्ट कृषि अभ्यास तथा सामूहिक बजारिकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । परियोजनाको कुल बजेट ३ करोड ६२ लाख ३६ हजार ४ सय ८७ रुपैयाँ रहेको छ ।
परियोजनामार्फत हालसम्म २ लाख १२ हजार २ सय ११ केजीभन्दा बढी तरकारी बजारिकरण भएको छ । जसबाट १ करोड १३ लाख २९ हजार ६ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको परियोजनाले जनाएको छ । परियोजनाले आगामी महिनासम्म कारोबार रकम २ करोडभन्दा माथि पुग्ने अपेक्षा गरेको छ ।

गत जुलाईदेखि मार्चसम्म मात्रै टमाटर, काउली, बन्दा लगायत विभिन्न तरकारीको सामूहिक बिक्री गरिएको थियो । यस अवधिमा सबैभन्दा बढी कारोबार सेप्टेम्बर महिनामा भएको देखिन्छ । कृषकहरूले सहकारीमार्फत प्रत्यक्ष बजार पहुँच पाएपछि बिचौलियामाथिको निर्भरता घटेको बताएका छन् ।
परियोजनाले उत्पादन लागतसमेत घटाएको जनाएको छ । परियोजना सुरु हुनुअघि प्रतिकेजी टमाटर उत्पादन लागत ५१ रुपैयाँ ५६ पैसा रहेकोमा हाल ४१ रुपैयाँ २५ पैसामा झरेको छ । त्यस्तै काउली र बन्दाको उत्पादन लागत पनि उल्लेखनीय रूपमा घटेको तथ्यांकमा उल्लेख छ ।
महाशिला गाउँपालिकाले स्थानीय स्तरमै तरकारी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिसकेको जनाएको छ । साथै बजार सहजकर्ता परिचालन र बिक्री केन्द्र व्यवस्थापनको कामसमेत अगाडि बढाइएको छ ।
परियोजनाअन्तर्गत जलवायु स्मार्ट कृषि अभ्यास, मल्चिङ प्रविधि, नर्सरी स्थापना तथा व्यवसायिक खेती विस्तारले कृषक महिलाको व्यवसायिक क्षमता वृद्धि भएको बताइएको छ । विशेषगरी महिला कृषकहरू सहकारीमार्फत बजारसँग जोडिन थालेपछि ग्रामीण क्षेत्रमा रोजगारी र जीविकोपार्जनमा सकारात्मक प्रभाव परेको सरोकारवालाहरूले बताएका छन् ।
यद्यपि उच्च ढुवानी लागत, कमजोर भण्डारण सुविधा तथा बजार मूल्यसम्बन्धी सीमित जानकारी अझै चुनौतीका रूपमा रहेका छन् । परियोजनाले आगामी दिनमा बजार पूर्वाधार र प्रशोधन प्रणालीलाई थप सुदृढ गर्दै कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य राखेको छ ।














