२०८३ श्रावण ३ आईतवार
२०८३ श्रावण ३ आईतवार

पोखरा महानगरपालिका–२१ को सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाहदेखि विकास निर्माणसम्म नागरिकका जिज्ञासा

पोखरा। पोखरा महानगरपालिका वडा नं. २१ द्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकार र नागरिकबीच दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकको रचनात्मक सहभागिता, जवाफदेहिता तथा पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब १५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दैनिक सेवा प्रवाह, विकास निर्माण, स्वास्थ्य सेवा तथा त्यसको सुधार, साङ्गठनिक सुशासन, पारदर्शिता र जवाफदेहिता, सडक, ढल, नाला तथा पानी निकास व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग, पर्यटकीय स्थलको स्तरवृद्धिलगायत समुन्नत वडा निर्माणसँग सम्बन्धित विषयमा प्रश्न, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए।

सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै सम्बन्धित कर्मचारी तथा वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले आर्थिक वर्षका लागि विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको प्राथमिकता र आगामी कार्ययोजनाबारे जानकारी गराउनु भएको थियो ।

सो अवसरमा वडा अध्यक्ष सुवेदीले आफ्नो वडाले महानगरले दिएको लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएको भए पनि महानगरबाट आवश्यक रकम प्राप्त हुन नसक्दा अझै ४ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो। सीमित बजेटमा असीमित आवश्यकता पूरा गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले समृद्ध वडा निर्माणका लागि वडा कार्यालय निरन्तर प्रयासरत रहेको बताउनुभयो।

यस्तै, पोखरा महानगरपालिका वडा नं. २१ का वडा सदस्य तथा सार्वजनिक लेखा समिती संयोजक झपट बहादुर रानाभाटले आफूहरुको कार्यकालको समीक्षा गर्दै निर्वाचित भएदेखि नै मुस्कानसहितको सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।

वडाले आयोजना गरेको आर्थिक वर्ष २०८२-०८३ को सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्वोधन गर्दै रानाभाटले सेवाग्राही, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, उत्पीडित तथा लक्षित समुदायलाई केन्द्रमा राखेर वडा कार्यालयका सेवा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो। वडावासीले जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गरिरहेको भन्दै आफूहरू पनि त्रुटिरहित नभएको स्वीकार गर्दै भएका कमी–कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रानाभाटले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार निर्माण, शिक्षा क्षेत्रमा सुधार, कृषिको आधुनिकीकरण, लक्षित समुदायको सशक्तीकरण तथा खानेपानी व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय काम गरिएको दाबी गर्नुभयो। यी उपलब्धि सबै राजनीतिक दल र स्थानीय समुदायको सहयोगका कारण सम्भव भएको उहाँको भनाइ थियो।

उहाँका अनुसार वडा नं. २१ ले घर अभिलेखीकरण बाहेक पनि एक करोड तीन लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताउनुभयो। संकलित राजस्व जनताकै सहयोग र सहभागिताबाट सम्भव भएको भन्दै उनले त्यसका लागि वडावासीप्रति आभार व्यक्त गर्नुभयो।

कार्यकालको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै रानाभाटले नागरिकबाट प्राप्त सुझाव, सल्लाह र आलोचनालाई मार्गनिर्देशनका रूपमा ग्रहण गर्दै आगामी दिनमा अझ जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा सचिव कृष्ण प्रसाद शर्माले चालु आर्थिक वर्षमा सेवा प्रवाहलाई नियमित, चुस्त र दुरुस्त रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालयले हालसम्म अनलाइनबाहेक ७८ वटा पत्र दर्ता गरेको छ भने विभिन्न प्रकृतिका ४ हजार ९३४ वटा पत्र चलानी गरेको छ।

वडा कार्यालयले नियमित रूपमा वडा समितिको बैठक सञ्चालन गर्दै आएको र हालसम्म ३५ वटा बैठक सम्पन्न भई ११३ वटा विभिन्न विषयमा निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो।

सेवा प्रवाहतर्फ नागरिकता, नाता प्रमाणित, घरबाटो, चार किल्ला, योजना सम्बन्धी, छात्रवृत्ति सम्बन्धी, नामसारी, अविवाहितलगायत विभिन्न प्रकृतिका गरी कुल ४ हजार ९३४ वटा सिफारिस प्रदान गरिएको वडा सचिव शर्माले जानकारी दिनुभयो।

वाराही सञ्चार प्रा.लि.ले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन माधव पराजुलीले गर्नुभएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।